भक्तपुर र ललिपुरको नयाँ शहरको स्थलगत निरीक्षण प्रतिवेदन बुझाइयो




काठमाडौं । भक्तपुर र ललितपुर जिल्लामा बन्ने नयाँ शहरको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्ने कम्पनीले सरकारलाई स्थलगत निरीक्षण प्रतिवेदन बुझाएको छ ।

भक्तपुर र ललितपुर जिल्लाको १०/१० हजार रोपनी जग्गामा बन्ने नयाँ शहरको डीपीआर बनाउने जिम्मा पाएको इआरएमसी-एइएसटी-एडीए जेभीले फागुन २७ गते स्थलगत निरीक्षण प्रतिवेदन उपत्यका विकास प्राधिकरणमा बुझाएका हुन् ।

भक्ततपुर र ललितपुरको नयाँ शहरको डीपीआर बनाउने जिम्मा पाएको कम्पनीले स्थलगत निरिक्षण प्रतिवेदन बुझाएको प्राधिकारणका शहरी योजना विज्ञ भागवतभक्त खोखालीले जानकारी दिए ।

प्राधिकारण र इआरएमसी-एइएसटी-एडीए जेभीबीच गत माघ ५ गते १२ महिना भित्रमा भक्तपुर र ललितपुर जिल्ला बन्ने नयाँ शहरको डीपीआर निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो ।

‘इआरएमसी-एइएसटी-एडीए जेभीले स्थलगत निरीक्षण प्रतिवेदन बुझाएका छन्, उनीहरुले पेस गरेको प्रतिवेदन अध्ययन गरेर प्राधिकरणबाट प्रतिक्रिया सहितको सुझाव पठाइने छ,’ खोखालीले क्लिकमाण्डूसँग भने ।

इआरएमसी-एइएसटी-एडीए जेभीले प्राधिकरणलाई पठाएको स्थलगत निरीक्षण प्रतिवेदनमा जनशक्ति व्यवस्थापन, काम गर्ने तरिका, नयाँ शहर बन्ने स्थानको स्याटलाईट फोटो, सिमाना, मठ-मन्दिर, विजुलीको हाइस्टेशन लाइन, पुरातात्विक संरचना लगायतको विषय समेटिएको छ ।

प्राधिकरणले ठेकेदार कम्पनीले बुझाएको स्थलगत निरीक्षण प्रतिवेदनको अध्ययन गर्नेछ । प्रतिवेदनको अध्ययन पछि प्राधिकरणको योजना अनुसार कार्यप्रगति भए नभएको निक्र्योल गर्नेछ । सोसँगै प्राधिकारणले उनीहरुले गर्नु पर्ने वा गर्न नहुने कामको विवरण सहित ठेकेदार कम्पनीलाई प्रक्रिया पठाउने खोखाली बताउँछन् ।

डीपीआरको काम भईरहेको स्थान

काठमाडौं आग्नेय (पुर्व-दक्षिण)

काठमाडौं आग्नेय भक्तपुरको भुभागलाई समेटेर बन्न लागेको नयाँ शहर हो । यो काठमाडौको पुर्व–दक्षिण दिशामा अवस्थित छ । पूर्वमा अरनिको राजमार्गको सुर्यविनायक चोकदेखि मन्दिरसम्म, सुर्यविनायक बनलाई बाहिर पार्दै शहर निर्माण हुनेछ ।

पश्चिममा खहरेखोला, बाल्कोट विरुवा सडक, पानी टंयाकी अमरनगर, ठिमीहुदै अरनिको राजमार्ग सिमानालाई छुनेछ । शहर उत्तरमा अरनिको राजमार्गको सिमानासम्म पुग्नेछ । दक्षिणमा भक्तपुर जिल्लाको सिलामगाल, रानीकोट, जंगलछेउ, अनन्त लङगेश्वर, फेदी, तर्खगाल, पात्लेश्वर, विरुवाहुँदै खहरेसम्म पुग्नेछ । यसले भक्तपुर जिल्लाको १० हजार रोपनी क्षेत्रफलमा ओगट्ने छ ।

काठमाडौ नैऋत्य (दक्षिण-पश्चिम)

काठमाडौं नैऋत्य ललितपुर जिल्लाको भूभागलाई समेटेर बन्न लागेको शहर हो ।

पुर्वमा छ्यासिकोटदेखि साविकको संबु गाविसको सिमानाहुँदै फर्सिडोल बागमती नदिको झोलुङगे पुलसम्म पुग्नेछ । त्यस्तै पश्चिममा बागमती नदीको सिमानासम्म तथा उत्तरमा सैबु गाविसको सीमाना नै छुनेछ । दक्षिणतर्फ भने बागमतीसम्म फैलने छ । यो शहरले ललितपुरको १० हजार रोपनी क्षेत्रफल ओगट्ने छ ।


क्लिकमान्डु