एनसीसी बैंकमा कसैलाई जोखिम छैन, अबका दिनमा झन् बुलन्द हुन्छ



एपेक्स डेभलपमेन्ट बैंक नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा मर्ज हुनभन्दा अगाडिको केस सिआइबीले अनुसन्धान गरेको हो । त्यही अनुसन्धानको आधारमा अहिलेका एनसीसी बैंकका केही पदाधिकारीलाई सिआइबीले पक्राउ गरेको हो ।

सिआइबीले तत्कालिन एपेक्स डेभलपमेन्ट बैंक एनसीसीमा मर्ज हुनुभन्दा पहिला भएका घटनाको आधारमा पक्राउ गरिएको आधिकारिक रुपमा बताएको छ । मर्जर अगाडिको एनसीसी बैंक वा मर्जर पछाडिको गतिविधिलाई लिएर यो घटना घटेको होइन ।

यो घटनाले एनसीसी बैंकलाई झन सकारात्मक असर पार्नेछ । किनभने अहिले जुन किसिमले कुराहरु आइरहेका छन्, भोलिका दिनमा अझ बढी कुराहरु प्रष्ट हुनेछन्, त्यसले एनसीसीलाई झन राम्रो गर्छ । बैंक सुधार हुन्छ । उठ्न नसक्ने ऋणहरु अझै उठ्छन् । यस्तो कर्जाको हामीले पहिला नै प्रोभिजनिङ गरिसकेका छौं । त्यसकारण अबका दिनमा बैंकको वित्तीय अबस्था अझ राम्रो हुन्छ ।

यो घटनालाई लिएर निक्षेपकर्ता वा सेयरधनी आत्तिनु पर्दैन । मैले अगाडि पनि भनेँ कि बैंकले यस्तो कर्जाको प्रोभिजनिङ गरिसकेको छ । त्यसकारण निक्षेपकर्तालाई कुनै पनि प्रकारको जोखिम छैन । यो केस हामी मर्ज हुनुभन्दा अगाडिकै हो । त्यसबाट हामीले केही रकम उठाइ पनि सकेका छौं । यो घटनाले निक्षेपकर्ता अझ ढुक्क हुनुपर्ने अबस्था छ ।

बैंकको सेयरधनीको हकमा पनि राम्रो हुन्छ । किनभने कर्जा उठेपछि बैंकको आम्दानी बढ्छ । बैंकको आम्दानी बढेपछि प्रतिफल बढ्छ । सेयरधनीहरुबाट पनि यही कुराको माग भएको थियो । यो घटनाले बैंकका निक्षेपकर्ता, सेयरधनी, कर्मचारी, बैंकिङ प्रणाली लगायत सबै पक्षलाई राम्रो गर्छ ।

एनसीसी बैंकले ४ वटा बैंकसँग मर्ज गर्नुपूर्व भएको गतिविधिका आधारमा यो घटना घटेको हो । अहिलेको गतिविधिका आधारमा यस्तो भएको होइन । एनसीसी बैंक सिस्टम र प्रसेसमा राम्रोसँग चलेको छ । निक्षेपकर्ता, सेयरधनी वा अरु कसैलाई पनि कुनै पनि प्रकारको जोखिम छैन । एनसीसी बैंक अबका दिनमा झन बुलन्द हुन्छ ।
(एनसीसी बैंकका कामु प्रमुख कार्यकारी अधिकृत पाठकसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु