डुबायो क्रिप्टोकरेन्सीलेः बिटक्वाइनको भविष्य सकिएकै हो त ?



सन् २०१७ को सुरुवातदेखि लगानीकर्ताहरुमा एउटा छुट्टै किसिमको तरंग पैदा भयो । सोच्दै नसोचेको अभौतिक मुद्रा (जसलाई क्रिप्टोकरेन्सी पनि भनिन्छ) को मुल्यले दिन दुई गुणा रात चार गुणाले नयाँ उचाई लिन थालेपछि धेरैको ध्यान यतातिर आकर्षित भयो ।

लामो समयसम्म अस्तित्वमा रहे पनि त्यति धेरै चर्चामा नआएको यो क्षेत्र २०१७ मा लगानीको नयाँ क्षेत्रको रुपमा पैदा भयो । ईन्टरनेटमा र मोबाईल कम्प्यूटरमा मात्र संचित हुने यस्ता मुद्राले विश्वमा तहल्कै मच्चाउन थालेपछि साना ठूला सबै लगानीकर्ता यतातिर लगानी गर्न आतुर हुन पुगे ।

नेपालमा पनि संगठित रुपमै कारोबार हुन थालेको यस्ता मुद्राको विषयमा नेपाल राष्ट्र बैकले बेलैमा नेपालमा कारोबार निषेध गरिदियो । तर नेपाल बाहिर रहेका नेपाली र नेपालमै भएका केहीले पनि बाहिर बस्नेहरुको ठेगानामा यस्ता मुद्रामा लगानी रोकेनन् । दक्षिण कोरिया र अमेरिकामा हुने धेरै नेपालीले त व्यक्तिगत र संगठित रुपमै पनि यस्ता करेन्सीमा लगानीको प्रतिष्पर्धा नै भयो ।

आजभन्दा ठिक ३ महिनाअघि २१ लाखको हाराहारीमा पुगेको सबै अभौतिक मुद्राको प्रमुख मानिने बिटक्वाईनको मुल्य यो आलेख तयार पार्दासम्म ८ लाखमा झरेको छ । जसरी दिन दुई गुणा र रात चार गुणाको दरले सन् २०१७ मा यसको मुल्य बढेको थियो अहिले त्यहि अनुपातमा घट्न थालेपछि अब यसमा लगानी गरेर होल्ड गरिरहेकाहरुमा एक चिन्ता जाग्न थालेको छ, अब के होला क्रिप्टोको भविष्य भन्नेमा ।

लेखक खतिवडा

इन्टरनेटको दुनियाँमा हजारौं यस्ता मुद्रा भएपनि सबैलाई यही बिटक्वाईनले नेतृत्व गरिरहेको छ त्यसैले बिटक्वाईनकै मुल्यले सबै अरु अभौतिक मुद्रालाई नियन्त्रण गर्ने क्षमता राख्दछ ।

भविष्य सकिएकै हो ?

हामीले यही विषयमा जान्नको लागि केही प्रख्यात घटनाक्रमलाई हेरेका थियौं, जसले क्रिप्टोलाई घटाउन उच्च भूमिका खेलिरहेको छ । करिब नेपाली रुपैयाँ १ लाखको हाराहारीमा २०१७ सालमा कारोबार सुरु भएको विटक्वाईन अन्त्यमा पुग्दा २१ लाख नाघेको थियो । तर २०१८ सुरु भएदेखि क्रिप्टोको लागि खराब वर्ष भईरहेको छ ।

क्रिप्टोले नयाँ–नयाँ किर्तिमान तय गरिरहकैबेला जनवरीमा यसमा लगानी गर्नेहरुलाई एउटा दुखद समाचार आयो त्यो थियो दक्षिण कोरिया । करिब १० प्रतिशत भन्दा बढी कारोबार हुने दक्षिण कोरियालाई क्रिप्टोले निकै टाउको दुख्यो ।

देशको अर्थतन्त्र नै खतरामा पर्नेगरी क्रिप्टोको कारोबार भएको देखेपछि दक्षिण कोरियाले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाउने योजना अगाडि सार्यो । जसले दक्षिण कोरियाको लगानीकर्ताहरुमा त्रास पैदा हुँदा उनीहरुले आफूसँग भएको करेन्सी बेच्न थाले । यसले क्रिप्टो करेन्सीको मुल्यमा गिरावट आउन ठूलो भुमिका खेल्यो ।

दक्षिण कोरियापछि रसिया हँुदै अर्को ठूलो कारोबार राष्ट्र भारतले बजेट मार्फतनै यस्ता कारोबारमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि यस्तो मुद्रामा अरु धक्का लाग्यो । पछिल्लो समय मात्रै अमेरिकामा क्रेडिट कार्ड सेवा प्रदायकहरुले क्रिप्टोमा आफ्नो कार्ड प्रयोग गर्न बन्द गरेका छन् भने कतिले धेरै शुल्क लगाउने गरेका छन् ।

केही समयअघि मात्रै फेसकबुकले यस्ता करेन्सीको विज्ञापन फेसबुकमार्फत गर्न नदिने घोषणा गरेको थियो भने आईतबार मात्रै अर्को सामाजिक सञ्जाल ट्वीटरले क्रिप्टो करेन्सीको विज्ञापनमा रोक लगाउने घोषणा गरेको छ । यसरी एकपछि अर्को घटनाक्रमले अब क्रिप्टोकरेन्सीको भविष्य संकटमा रहेको देखाईरहेको छ ।

अमेरिकामा वार्षिक आय-व्ययको विवरण पेस गर्ने (ट्याक्स फाईल गर्ने) समयमा धेरैले यस्ता लगानी उल्लेख नगरेको भन्दै यहाँको राजश्व विभाग(आईआरएस)ले अनुगमन तिब्र पारेको समाचारहरु आएका छन् । सामान्यतया सम्पत्ति सुद्धिकरण र पैसा लुकाउन यस्ता मुद्राको प्रयोग हुनसक्ने भन्दै धेरै राष्ट्र चिन्तित छन् ।

जि ट्वान्टीले देखायो आशा

सोमबार क्रिप्टोकरेन्सीको वित्तिय क्षेत्रमा पार्ने असरको विषयमा जि २० राष्ट्रका पदाधिकारीहरुबीच बन्द बैठक हुँदै छ । तर बैठक अगाडि नै सार्वजनिक भएको एक विज्ञप्तीमा देखाईएको सकारात्मक टिप्पणीले क्रिप्टोकरेन्सीको कारोबारमा केही सुधार आएको छ ।

विभिन्न शक्तिशाली २० राष्ट्रका केन्द्रीय बैंकका पदाधिकारी र सरकारी प्रतिनिधि सम्मिलित बैठकमा क्रिप्टो करेन्सीले विश्व अर्थतन्त्रलाई पार्ने असरको विषयमा छलफल हुँदैछ । तर शनिबार जारी विज्ञप्तीमा भने जि २० राष्ट्रका वित्तिय व्यवस्थापन बोर्डको धारणा राखिएको छ । बन्द बैठकको निर्णय भने आईसकेको छैन ।

‘विश्व अर्थतन्त्रको कुल ग्राहस्थ उत्पादनमा क्रिप्टोको हिस्सा १ प्रतिशत भन्दा कम छ‘ जि २० वित्तीय व्यवस्थापन बोर्डका अध्यक्ष मार्क केनीले विज्ञिप्तीमा भनेका छन् । यद्यपी सोमबार सुरु हुने बन्द बैठकको निर्णय भने मंगलबार मात्रै आउने जनाईएको छ । जि २० मा भारत, अमेरिका, चीन जापानलगायतका शक्तिशाली राष्ट्रहरु सहभागि छन् ।

के हो क्रिप्टोकरेन्सी ?

क्रिप्टो एक किसिमको ईन्टरनेट मुद्रा (भर्चुअल करेन्सी) हो जसलाई कुनै पनि देशको कागजी नोटको विकल्पमा प्रयोग गरिन्छ । क्रिप्टोकरेन्सी भन्ने यस्तो मुद्रा पूर्णतया अभौतिक मुद्रा हो । अहिले ईन्टरनेटमा हजारौं यस्तो मुद्राहरु छन् जो तोकिएको स्थानमा पैसाको विकल्पमा प्रयोग गर्न सकिन्छ ।

विटक्वाईन, लाईटक्वाइन, ईजीक्यासलगायतका हजारौं यस्ता मुद्राहरुको कारोबार अहिले इन्टरनेटमा भइरहेको छ । त्यसमध्ये विटक्वाइनको स्थापना २००९ स्थापना भएको मानिन्छ । जसले सबै अरु क्रिप्टोको नेतृत्व गरिरहेको छ । विटक्वाइनको सिको गर्दै अहिले धेरै अभौतिक मुद्राहरु आएका छन् । जस्तो लाईटक्वाइन, ईथेरियम, जिक्यास, विटक्वाइन क्यास सबै एकै प्रकारका खुल्ला सफ्टवेयरमा आधारित मुद्राहरु हुन् ।

कुनै सामानको खरिदमा कागजी मुद्राको विकल्पमा प्रयोग गर्न सकिने भएपनि पछिल्लो समयमा यस्ता मुद्रामा लगानी गर्नेहरु बढेका छन् । यो एक किसिमको खुल्ला मुद्रा हो र कुनै पनि देशमा नियामक निकायका बिना नियन्त्रण सफ्टवेयरमा आधारित कारोबार भइरहेको छ ।

यसअघि पनि धेरै यस्ता मुद्राहरु बजारमा आएपनि टिक्न नसकेका धेरै उदाहरणहरु छन् । यस्ता मुद्रामा लगानी गर्नु भनेको जुवा खेल्नु बराबरको रुपमा लिने गरिएको छ । अर्थात् नाफा घाटाको कुनै ज्ञारेन्टी नहुने लगानीको रुपमा यस्ता मुद्राहरुलाई हेर्ने गरिएको छ । तर, पछिल्लो घटनाक्रमले गर्दा विज्ञहरुले यस्ता मुद्राहरुबाट टाढै बस्न सुझाएका छन् ।

लेखक खतिवडा अमेरिकाको मेरिल्याण्डमा बस्छन् ।


पुष्प दुलाल