युवालाई सरकारको ‘स्कीम’, भौचर भरेर निःशुल्क तालिम लिनुस्, जागिर पक्का



काठमाडौं । सरकारले बेरोजगार युवाहरुलाई सीप सिकाउन भौचर वितरण तथा संस्था छनोट मेला २०७४ सञ्चालनमा ल्याएको छ । भृकृटीमण्डपमा चैत ५ र ६ गनेसम्म चल्ने मेलामा भौचर भराउने र त्यसपछि ३ महिने तालिम दिन लागिएको हो ।

शिक्षा मन्त्रालय अन्तरगतको ब्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाले यस्तो कार्यक्रम संचालन गरेको हो । परियोजनाले यसअघि पनि यस्तै कार्यक्रम संचालन गरेको थियो ।

सीपयुक्त दक्ष जनशक्ति उत्पादन गर्न परियोजनाले केही समय अघि अनलाइन फर्म भर्न आव्हान गरेको थियो । सो आव्हान अनुसार ७ हजार ९ सय ५५ जनाले सीप सिक्न आवेदन दिएका थिए ।

यसरी अनलाइन फर्म भरेकामध्ये ४ हजार ७ सय ३२ जनालाई अन्तरवार्ता मार्फत निशुल्क प्रशिक्षण दिन लागिएको मन्त्रालयका उपसचिव सुजन खनालले बताए ।

नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम पद्धतिलाई सुदृढ बढाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको खनालको भनाइ छ ।

तालिमका लागि छनोट भएका युवाहरु चैत ५ गते बिहानदेखि लाइन लागेर परामर्स लिइरहेका छन् । परामर्सका लागि भौचर लिन ४ हजार बढीको भिड लागेको छ ।

दिउँसो ३ बजेसम्म करिब १ हजार ५ सयभन्दा बढीले भौचर लिएको खनालले जानकारी दिए ।

परियोजना अन्तर्गत काठमाडौं उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र काठमाडौं उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिम सञ्चालन गरिदैछ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा गरी ४ हजारभन्दा बढीलाई भौचरमा आधारित छोटो अवधिको सिपमूलक तालिम प्रदान गरिने लक्ष्य रहेको खनालले जानकारी दिए ।

मेलामा ६३ कम्पनीहरुले स्टल राखेका छन् । २ दिने मेलामा युवाहरुलाई तालिमको विषय छनोटका लागि छुट्टै प्रशिक्षण दिइने छ । प्रशिक्षण पछि उनीहरुले चाहेको विषय छनोट गरी परियोजनाबाट भौचर लिएर इछाअनुसारको जुनसुकै संस्थाबाट पनि तालिम लिन सक्नेछन् ।

मेलामा व्यूटी पार्लर, टेलरिङ, मोबाइल रिपेयरिङ, कुक, मोटरसाइकल सर्भिसिङ मेकानिकल, टेक्निसिएन र सेक्यूरेटी गार्ड लगायतका बिषयमा सहभागीले तालिम लिन सक्नेछन् । १६ देखि ४० वर्षसम्मका युवाहरुलाई करिब ३५ बिषयमा सिपमुलक तालिम दिन लागिएको हो ।

तालिम दिने एउटा संस्थाले ३ सय जना युवाहरुलाई तालिम दिनुपर्नेछ । यस्ता संस्थाहरुले यो मेलाबाट भौचर लिएकामध्ये कम्तिमा ५० प्रतिशतलाई पूरै तालिम दिनुपर्नेछ ।

यसरी युवालाई तालिम दिने संस्थाहरुले तालिम दिएवापत प्रतिब्यक्ति १८ हजार २ सय रुपैयाँदेखि २२ हजार २ सय रुपैयाँसम्म पाउने छन् ।

सो तालिम लिने युवाहरलाई सिटिभिईटीले सीप परीक्षण गरी प्रमाणपत्र दिनेछ । तालिम पछि हरेक तालिम प्राप्त युवाहरुले नेपालै भए ९ हजार ७ सय, भारतमा भए १५ हजार ५ सय र अन्य मुलुकमा भए २५ हजार रुपैयाँ अनिवार्य रुपमा कमाएको हुनुपर्ने छ ।

तालिम दिने संस्थाको तालिमकै अबधिमा ३ पटक परियोजनाले निरीक्षण गर्नेछ भने तालिम लिएका युवालाई रोजगारीको ब्यवस्था भए नभएको पनि अध्ययन हुनेछ । यस्तो तालिम एसएलसीसम्म वा सोभन्दा कम पढेका युवालाई लक्षित गरेर संचालन गर्न लागिएको हो ।


क्लिकमान्डु