अपांगता भएका ब्यक्तिको सहभागितामा प्रविधिको विकास गरौंः विज्ञ




काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयोग्य र समावेशी सूचना, सञ्चार तथा प्रविधि शीर्षकमा २ दिने उच्चस्तरीय कार्यशाला गोष्ठी काठमाडौंमा सम्पन्न भएको छ ।

चैत्र २ र ३ गते सम्पन्न भएको सो कार्यशालामा श्रीलंका, भारत, म्यानमार तथा नेपालका सूचना प्रविधि तथा अपांगता सम्बन्धी विज्ञहरुका साथमा अपांगता क्षेत्रका ४० भन्दा बढी नेतृत्वकर्ता सहभागीको उपस्थिति थियो ।

लर्न एसियाका संस्थापक अध्यक्ष रोहन समरजिवाले कार्यक्रमको आवश्यकताबारे बोल्दै सूचना प्रविधिमा पहुँच र समावेशिताको लागि सम्बन्धित सरोकारवालाको सहभागितामा विकास गरिएको प्रविधिले मात्र समस्याको समाधानमा सहयोग पुग्ने बताए ।

उनले सूचनाप्रविधिको जमानामा कुनै पनि अपांगतालाई समस्या मान्न नपर्ने अवस्था भएको भन्दै प्रख्यात बैज्ञानिक स्टीफन हकिंसको उदाहरण दिँदै उनको योगदान सवैले प्रयोग गर्न सकेको बताए ।

अपाङ्गताका लागि महिला समुहकी कार्यकारी निर्देशक सुस्मिरा अर्यालले अपांगता भएका व्यक्तिको लागि सूचना प्रविधिको महत्व सपांग व्यक्तिको लागिभन्दा अझ बढि भएको भन्दै आफू स्वयं मनोसामाजिक अपांगता रहेकोले त्यसको प्रत्यक्ष अनुभूत भएको बताइन् ।

सवै खालको अपांगता भएका व्यक्तिहरुलाई समावेश गर्दै नेपाली स्थानीय प्रविधिलाई विकास गर्दै पहुच अभिवृद्धि गर्न आयोजक संस्थाहरुको सहकार्य रहेको उनको भनाइ छ ।

राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष डा. विरेन्द्रराज पोखरेलले समावेशी र पहुँचयोग्य सूचना प्रविधिमा नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता र कार्यान्वयनको अवस्थाबारे प्रष्ट पारे ।

अन्तर्राष्टिय टेलिकम्युनिकेशन युनियनको विज्ञ समेत रहनु भएकी निर्मिता नरसिंहाले सूचना प्रविधिमा पहुँच भनेको के हो, किन र कसरी हुन सक्छ भन्ने बिषयमा प्रकाश पारेकी थिइन् ।

जलसा सापकोटाले अपाङ्गता भएका व्यक्तिले कसरी सूचना प्रविधिको प्रयोग गर्ने बारे जनकारी दिदै आइफोन र स्मार्टफोनमा कसरी अक्षरहरु पढ्ने, गुगल सर्च कसरी गर्ने, सामाजिक सञ्जालको प्रयोग कसरी गर्ने, मिडिया र सफ्टवयेरको प्रयोग कसरी गर्ने लगायतका कुराहरुको डेमो प्रस्तुत गरेकी थिइन् ।

नेपाल दुररञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सूचना तथा प्रविधिको विकाससँगै अपाङ्गता भएका ब्यक्तिको प्रयोगलाई पनि ध्यान दिनुुपर्ने बताए । प्राधिकरणका नीति कार्यक्रमको संक्षिप्त जानकारी दिदै यस कुरामा आगामी दिनमा अझ विशेष महत्व दिई अगाडी बढ्ने उनले बताए ।

भारतको संस्था पब्लिसिस विज्ञ दिनेश कौशलले समावेशी र पहुँचयोग्य प्रविधिहरुको विकास गर्दा डिजाइनमा सोच्नुपर्ने उल्लेख गरे भने म्यान्मारकी अपांगता अधिकारमा समर्पित ताई ताईले यससम्बन्धी म्यानमारको अनुभव सुनाइन् ।

कार्यक्रममा सहभागीलाई बेग्लाबेग्लै समूहमा छुट्टाई हरेको समूहबाट समस्याहरु पहिचान गरी त्यसलाई प्रस्तुत गर्न लगाइएको थियो । सहभागीहरुले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सूचना प्रविधिमा न्युनतम मात्र पहुँच भएको, यसका लागि सरकारको नीति नियमका साथै सबै पक्षको समन्वयमा काम गर्नु पर्ने आवश्यकता महसुस गर्दै यससम्बन्धी कार्यक्रमहरुको निरन्तरता दिने, ठोस नीतिका लागि सरकार समक्ष आवश्यक कदमपहली गर्ने तथा विशेषतः पहुँचयोग्य र समावेशी सूचना, प्रविधि र सञ्चारको विकास गर्नुपर्ने सुझाव व्यक्त गरेका थिए ।

श्रीलङ्कास्थित एसिया तथा प्रशान्त तथा सञ्चार क्षेत्रमा कार्यरत संस्था लर्न एसियाको आयोजना तथा अपाङ्गताका लागि महिला समूह, सेन्टर फर ल एण्ड टेक्नोलोजी र इन्टरनेट सोसाइटी नेपालको सहकार्यमा सम्पन्न भएको थियो ।


क्लिकमान्डु