काठमाडौं महानगरमा जथाभावी फोहोर फाल्ने ८४ जना कारबाहीमा




काठमाडौं । काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षमा तोकिएको स्थानभन्दा अन्यत्र फोहर फाल्ने ८४ जनालाई कारबाही गरी २ लाख ३७ हजार ३ सय ५० रुपैयाँ असुल गरेको छ ।

महानगरको गाडी फोहर लिन आउँदा फोहर नफ्याक्ने अन्य समयमा जथाभावी र महानगरले तोकिएको स्थानमा फोहर नथुपार्ने ८४ जनालाई कारबाही गरिएको महानगरका वातावरण व्यवस्थापन विभाग, कार्यसञ्चालन शाखाका प्रमुख तथा नगर प्रहरी निरीक्षक मीनबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार विशेष गरी पुतलीसडक, बागबजार, न्यूरोड, जमल क्षेत्रमा रातिको समयमा बढी मात्रामा फोहर फाल्ने ८४ जनाबाट कारबाही स्वरुप २ लाख ३७ हजार ३ सय ५० रुपैयाँ असुल गरिएको हो ।

विभागले जथाभावी फोहर फाल्नेबाट न्यूनतम ५ सय रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गर्दै आएको छ । त्यसरी फोहर फाल्नेमा संस्थाभन्दा बढी व्यक्ति रहेका छन् । हरेक दिन महानगरले काठमाडौँ उपत्यकाको ८०० मेट्रिक टन फोहर व्यवस्थापन गर्दै आएको छ ।


क्लिकमान्डु