सरकारले ३६ अर्ब घाटा ब्यहोरिदिए मात्रै विद्युत प्राधिकरणले २२ अर्बको आइपीओ जारी गर्ने



काठमाडौं । सरकारले ३६ अर्ब रुपैयाँ बरारबरको घाटा व्योहोरे नेपाल विद्युत् प्राधिकरणले २२ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ ।
प्राधिकरणको कूल सञ्चित नोक्सानी २९ अर्ब रुपैयाँ रहेको छ । पछिल्लो एक वर्षदेखि मात्रै नाफामा जान थालेको प्राधिकरणले अन्तर्राष्ट्रिय दातृृ निकायबाट १ खर्ब बराबरको ऋण लिएको छ ।

प्राधिकरणले लिएको उक्त ऋणको व्याज हाल ८ प्रतिशतको हाराहारीमा रहेको छ । व्याजको प्रतिशत ३ प्रतिशतले घटाएर ५ प्रतिशत कामयम गर्न माग गरेको छ । त्यसो हुँदा वार्षिक ३ अर्ब बराबरको व्याज कम हुन जान्छ ।

यस्तै प्राधिकरणले भारतबाट आयात गरेको विद्युत्मा लागेको घाटा ४ अर्ब बराबर रहेको छ । यी सबैको एकमुष्ठ हिसाब गर्दा कूल ३६ अर्ब हुन जान्छ ।

यस्तै प्राधिकरणले वार्षिक रुपमा विद्युत् महसुल वृद्धि गर्न समेत सरकारलाई आग्रह गरेको छ । त्यसो भए सहज रुपमा आइपिओ जारी गर्न सकिने प्राधिकरणको विश्वास छ । प्राधिकरणको हाल शेयर पूँजी ८२ अर्ब ५१ करोड रहेको छ ।

प्राधिकरणको ऐन, अनुसार २५ प्रतिशत सर्वसाधारणलाई शेयर दिनुपर्ने व्यवस्था रहेको भन्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तत्काल सरकारले ३६ अर्बको व्यवस्था गरिदिए आफूले आइपिओ जारी गर्न सक्ने बताए ।


पुष्प दुलाल