विज्ञ भन्छन्ः तरकारीमा विषादीको मात्रा यसरी कम गर्नुहोस्




तपाईले दिनहू सुनुभएको होला कि दैनिक रुपमा प्रयोग गर्ने तरकारीमा विषादीको मात्रा अधिकतम प्रयोग भइरहेको छ । तरकारी खेति गर्दा कृषकले छिटो उत्पादन गर्दै बढीभन्दा बढी आम्दानी लिन मानव स्वास्थ्यमा असर गर्ने विषादी प्रयोग गरिरहेका छन् ।

कृषकले तरकारीका प्रयोग गरेको विषादी उपभोक्ता सचेत भएको अवस्थामा पनि न्यून गर्न सकिन्छ । उपभोक्ताले सामान्य उपाय उपनाउँदा पनि तरकारीमा प्रयोग भएका विषादी कम गर्न सक्छन् । जसको फाइदा आफ्नै लागि हो ।

उपभोक्ताले खरिद गर्ने सबैजसो तरकारीमा केही मात्रमा भएपनि विषादी प्रयोग भएकै हुन्छ । तर, विषादी प्रयोग भएका तरकारी प्रयोगमा ध्यान दिन जरुरी छ ।

उपभोक्ताले सबैभन्दा पहिले आफूले खरिद गरेको तरकारी तत्काल प्रयोग नगरी केही दिन राखेर प्रयोग गर्दा पनि विषादीको मात्रा कम हुन्छ । तर, लामो समय राख्दा विग्रने तरकारी र खरिद गर्ने बितिकै प्रयोग गर्नु पर्ने अवस्थामा यी उपाय अपनाउन नसकिने हुन सक्छ ।

तत्काल प्रयोग गर्नुपर्ने तरकारीमा भएको बिषादी कम गर्न यस्ता उपाय अपनाउन सकिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पूर्णचन्द्र वस्ती बताउँछन् ।

बजारबाट तरकारी खरिद गरेर ल्याएपछि सबैभन्दा पहिले बगेको पानीमा अथवा धाराको पानीमा पखाल्नु पर्छ । तरकारीलाई राम्रोसँग पखालेपछि भेनेगर पानीमा सकेसम्म रातभरी डुबाएर राख्नु पर्छ । यस्तो गर्न सकिएन भने पनि ४ घन्टा भएपनि डुबाएर मात्रै प्रयोग गर्नुपर्छ । भेनेगर पनि नभएको अवस्थाका कागती पानीमा डुबाउँदा पनि बिषादी कम गर्न सकिन्छ ।

यस्ता प्रक्रिया पूरा गरी फेरि राम्रोसँग पानीले पखाल्नु पर्छ । पखालेको तरकारीलाई ताछ्न मिल्ने छ भने ताछेर मात्रै प्रयोग गर्दा पनि विषादीको मात्र कम गर्न सकिने उनको भनाइ छ ।


क्लिकमान्डु