जलविद्युतका शेयर निरन्तर ओरालो लाग्दै, बुटवल पावरको एफपिओमा लगानी गर्नेसमेत डुबे



काठमाडौं । धितोपत्र बजार लगातार ओरालो लागिरेहेको छ । त्यसको मारमा सबै समूह र उपसमूह समेत परेका छन् । धितोपत्र बजार जानी जानी घटाइएको छ कि अवस्था नै त्यस्तै हो भन्ने बारेमा कोही कसैले पनि इमान्दार भएर जानकारी दिएका छैनन् । जसका कारण लगानीकर्ता नराम्ररी मारमा परेका छन् ।

नवनियुक्त ऊर्जामन्त्री वर्षमान पुनले त हाइड्रो पावरको सेयर हुनेलाई खोजी खोजी छोरी दिन मिल्ने बनाउने भाषण नै गरेका थिए । तर शेयर बजारको अवस्था हेर्दा मन्त्री पुनको भनाइसँग तालमेल मिल्ने खालको अवस्था रहेको छैन ।

सामाजिक संजाल तथा सेयर बजारका विभिन्न तवरले शेयर बजारको बारेमा आ– आफ्ना धारणा समेत सार्वजनिक भएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा अहिले १७ वटा जलविद्युत् कम्पनीको सेयर सूचिकृत रहेको छ । सेयर बजार पछिल्लो समय ओरालो लाग्ने क्रम रोकिएकोक छैन, बरु यो लगातार घटीरहेको छ । जलविद्युत् कम्पनीको सेयर मुल्य पछिल्लो समयमा औसतमा २५ प्रतिशतले घटेको छ । मंगलबार मात्रै २० प्रतिशतले जलविद्युत् क्षेत्र ओरालो लाग्यो ।

जलविद्युत् कम्पनीको तीन महिना अगाडिको सेयर मुल्यलाई विश्लेषण गर्दा औसतमा कम्पनीको सेयर मुल्य २५ प्रतिशतले घटेको बजारलाई नजिकबाट नियालीरहेका जानकारहरुले बताएका छन् । उनीहरुले शेयर बजारमा आएको गिरावटलाई राजनीतिक कारण पनि देखिरहेका छन् । अवस्था र कारण जे जस्तो भएपनि लगानीकर्ता नराम्ररी मारमा परेका छन् । यसको समाधानको उपाय देखिएको छैन । केही कम्पनीले बोनस सेयर दिएपनि त्यसले धान्ने अवस्था रहेको छैन ।

सूचिकृत कम्पनीमध्ये सबैभन्दा बढी घाटा नेशनल हाइड्रो पावरको सेयरमा लगानी गर्नेलाई भएको छ । सार्वजनिक निष्कासन गरेपछि अहिलेसम्म लगानीकर्तालाई केहीपनि नदिएको कम्पनी नेशनल हाइड्रो सेयर बजार घट्न लागेको क्रमममा आइपिओको आधारभूत मूल्यभन्दा तल आएको छ । सोमबार र मंगलबार सो कम्पनीको शेयर आधारभूत मूल्य भन्दा तल पुगेको छ ।

सूचिकृत कम्पनीमा सबैभन्दा बढी सेयर मुल्य चिलिमे हाइड्रो पावरको छ । चिलिमेको सेयर मुल्य प्रतिकित्ता रु ७५० को हाहारीमा रहेको छ । सो कम्पनीको सेयर पनि पछिल्लो तीन महिनामा रु २५९ ओरालो लागेको छ । चिलिमेको बोनस सेयरपनि सेयर बजारमा पछिल्लो तीन महिनामा मात्रै थपिएको हो । त्यसले पनि कुनै प्रभाव पार्न सकेन ।

यस्तै चिलिमेपछि बढी सेयर मुल्य हुनेमा बुटवल पावर कम्पनी छ । यसको सेयर मुल्य प्रतिकित्ता रु ४८३ रहेको छ । रु ५०१ मा एफपिओ खोलेको सो कम्पनीको शेयर मूल्य पनि एफपिओ भन्दा तल झरेपछि लगानीकर्तामा थप निराशा थपिएको छ ।

प्रतिकित्ता ५०१ रुपैयाँको दरले थप सार्वजनिक निकाष्सन गरेको बुटवल पावरको सेयर मुल्य दोस्रो बजारमा एफपिओ सूचिकृत नहुँदै ५०१ बाट तल झर्नुलाई पनि लगानीकर्ताले संयोगको रुपमा मात्रै लिएका छैनन् । एफपिओमा पैसा हालेका लगानीकर्तालाई बुटवल पावरको सेयर मुल्य दोस्रो बजारमा एफपिओभन्दा सस्तो आएपछि चिन्ता र तनाव दुवै बढाइदिएको छ ।

सूूचिकृत भएका जलविद्युत् कम्पनीमा १० वटा कम्पनीको सेयर मुल्य प्रतिकित्ता २०० भन्दा तल रहेका छन् । यस्तै ३ सयभन्दा कम हुने कम्पनी ३ वटा छन् । दुईवटा कम्पनीको सेयर मुल्य ४ सयभन्दा कम छ । ५ सयभन्दा कम हुने एउटा र ८ सयभन्दा कम हुने एउटा कम्पनी रहेको छ ।

केही कम्पनी बाहेक अन्य प्रतिफलको अवस्था जलविद्युत् कम्पनीमा राम्रो रहेको छैन ।

सेयर मुल्यको आधारमा हेर्दा लगानीकर्ताको विश्वास चिलिमे,बुटवल पावर,हिमालयन पार्टनर र सानिमा माईमा मात्रै रहेको देखिन्छ । तर ती कम्पनीको शेयर मूल्य पनि निरन्तर आरोलो लागिरहेको छ । समस्या समाधानको लागि सरकारले कुनै सार्थक पहल नगर्दा बजार निरन्तर ओरालो लागेको बताइएको छ ।


क्लिकमान्डु