वाम सरकारसँग त्रसित लगानीकर्ता



काठमाडौं । ‘तपाईहरु ढुक्क हुनुस, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ । नयाँ सरकारले लिने नितीका कारण सेयर बजार असाधारणरुपमा बढ्छ । नयाँ सरकार बनेका दिन लगानीकर्ताहरुले दिपावली गरे हुन्छ । मिठाइ खाए हुन्छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले इनकशमिङ प्रधानमन्त्रीका रुपमा गत माघ १५ गते नेपाल चेम्बर अफ कर्मशसँग आवद्ध व्यवसायीहरुलाई विश्वास दिलाउँदै भनेको कुरा हो यो ।

तर, सेयर बजारकै कुरा गर्ने हो भने ओली प्रधानमन्त्री भएपछि अहिलेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २०६ अंकले घटिसकेको छ ।

कुनैपनि देशका लगानीकर्ताको मनोबल र आर्थिक स्थितिको आधार सेयर बजारको परिसूचकलाई लिने गरिन्छ । अर्थतन्त्रको ऐनाको रुपमा लिने सेयर बजार परिसूचक ओली प्रधानमन्त्री बनेर आएपछि लगातार घटिरहेको छ ।

बैंक तथा वित्तीय संस्थाको मात्र अधिपत्य रहेको नेपालमा सेयर बजारलाई अर्थतन्त्रको ऐना मान्ने वा नमान्ने विवाद भने कायम छ ।

विपरित धारमा रहेको माओवादीसँग चुनावी गठबन्धन गरेर करिब दुईतिहाई मत ल्याएर सरकारमा पुगेका ओलीसँग अपेक्षा सबैको ठूलो छ । ओली आफैंले पनि यो सरकारलाई असफल हुने छुट नभएको बताएका छन् ।

जसरी पछिल्ला हप्ता सेयर बजार घटेको छ त्यसले लगानीकर्ताको मनोविज्ञान सरकारसँग डराएको देखिन्छ ।

तर, पछिल्ला घटनाहरुले लगानीकर्ताहरुको मनोबल भने सरकारले बढाउन नसकेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाबाट १८ अर्ब रुपैयाँ नगद घटेर होल्ड भएर बस्नु, तथा भन्सारमा देखिएको समस्याले आयात र निर्यात प्रभावित हुनु राम्रा संकेतहरु छैनन् ।

सेयर बजारसहित विभिन्न व्यवसायमा लगानीगर्ने एक ठूला लगानीकर्ता सरकारी नीतिसँग आफुहरु आश्वस्त हुन नसकेको बताउँछन् ।

‘दुईतिहाईको बलियो सरकार छ, प्रधानमन्त्री र मन्त्रीहरुले सरकारले आर्थिक मुद्दालाई प्राथमिकता दिने भन्नुभएको छ,’ उनले भने, ‘तर, लगानीकर्ताहरुलाई मनोबल बढाउने प्रारम्भिक खाका नै सरकारले ल्याएन ।’

व्यवसायीहरु औपचारिक रुपमा केही नभने पनि अनौपचारिक रुपमा भने सबैभन्दा बढी डर अर्थमन्त्री डा. युवराज खतिवडासँग देखाएका छन् । राष्ट्र बैंकमा गभर्नर हुँदा घरजग्गा सेयर बजारमा कडा नीति लिएका खतिवडा त्योसँग सम्बन्धित लगानीकर्ताको लागि प्रियकर होइनन् । नेपालमा घरजग्गा सेयरमा नै होल्ड गर्ने व्यवसायीको प्रभाव नै सबै व्यवसायमा छ ।

यसमा अर्थमन्त्रीले भन्सार सुधार गर्न दिएको कडाईले व्यवसायीलाई त्रासमात्र थपेको बुझाई उनीहरुको छ ।

‘पछिल्लो समयमा अर्थतन्त्रमा सबैभन्दा जानकार व्यक्ति नै अर्थमन्त्री हुनुहुन्छ,’ एक व्यवसायीले आफ्नो अनुभव सुनाउदै भने, ‘तर, व्यवहारिक रुपमा अर्थमन्त्रीको नीतिले लगानी प्रभावित हुन्छ भन्ने बुझाई हाम्रो हो ।’

सेयर बजारमा स्वभाविक रुपमा बैंक तथा वित्तीय संस्थाको बढ्दो ब्याजदरको प्रभाव र पुँजीबृद्धिको कारण स्वभाविक रुपमा बिक्रीको चाप बढी थियो । तर, जसरी पछिल्ला हप्ता सेयर बजार घटेको छ त्यसले लगानीकर्ताको मनोविज्ञान सरकारसँग डराएको जस्तो देखिन्छ ।

आर्थिक विश्लेषक अच्चुत वाग्ले सरकारले प्रारम्भिक रुपमा आश्वस्त गराउनुपर्ने लगानीकर्तालाई भद्रगोलको नीति अगाडि सारेको बताउँछन् ।

‘भन्सारमा सरकारले कडाई गर्नुपर्ने नै थियो,’ वाग्लेले क्लिकमाण्डूसँग भने, ‘यसमा सरकारले सरोकारवालसँग छलफल गरेर निर्णय लिदा राम्रो हुन्थ्यो ।’

वाग्ले लगानीकर्ताहरु अहिले सरकारसँग आश्वस्त हुन नसकेको बताउँछन् ।

‘सेयर बजारमा पुँजी बृद्धिको नीतिको कारण स्वभाविक रुपमा बिक्रीको चाप थियो,जसमा बैंकको ब्याजदरले बजारलाई सहयोग गरेको थिएन,’ उनले थपे, ‘सरकारले आर्थिक सुधारका कार्यक्रमहरु प्रस्तुत गर्न नसकेपछि लगानीकर्ताहरु अन्यौलमा छन् ।’

लगानीकर्ताले जहिलेपनि हेर्ने भनेको लगानीको सुरक्षा हो । लगानीकर्ताले कुनै सिद्धान्त र बादलाईपनि भन्दा पनि लगानीको सुरक्षालाई बढी ध्यान दिन्छन् । जसले गर्दा लोकतान्त्रिक भनिएको भारतभन्दा चीनमा बिदेशी लगानी बढी छ ।

सरकारले मुख्य रुपमा आर्थिक क्षेत्रलाई प्रभाव पार्ने बजेट ल्याएको छ । संविधानअनुसार बजेट जेठ १५ गते आउँछ । धेरैजसो लगानीकर्ताहरु सरकारले ल्याउन लागेको श्वेतपत्रको पर्खाइमा रहेका छन् ।

अर्थशास्त्री केशव आचार्य व्यवसायीहरु डराएको अनुभव आफुले पनि गरेपनि यो क्षणिक भएको बताउँछन् ।

‘०५१ मा मनमोहन अधिकारीको सरकार बन्दा आत्तिएका थिए,’ अर्थमन्त्रालयका सल्लाहकारसमेत भइसकेका आचार्य भन्छन्, ‘पछि लगानीकर्तामा आत्मबल बढ्यो ।’

अधिकारीपछि नेपालमा ७ पटक बामपन्थी पार्टीको नेतृत्वमा सरकार बन्यो । केपी ओली आफैपनि दोस्रो प्रधानमन्त्री बनेका छन् ।

आचार्य प्रधानमन्त्री मातहत सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभाग सर्दापनि यस्तै काम गर्ने व्यवसायी आत्तिएको बताउँछन् ।

आचार्य राम्रोसँग व्यवसाय गर्ने लगानीकर्ता आत्तिनु नपर्ने र सरकारले लिने नीतिले थप व्यवसायिक वातवरण बन्ने विश्वास व्यक्त गर्छन् ।

प्रधानमन्त्री बन्नुअघिओलीले धन सेतो र कालो नहुने अभिव्यक्ति दिएका थिए । व्यवसायीहरु विगतदेखि नै सम्पत्ति अभिलेखिकरण गर्न दिन माग गर्दै आएका छन् । पछि विरोधपछि ओलीले आफ्नो भनाई सच्याइसकेका छन् ।

यद्यपि ओली सरकारसँग लगानीकर्ताहरु विश्वस्त हुन सकेको भने देखिँदैन ।


पुष्प दुलाल