साञ्जेनका आवेदकलाई कम्तिमा ४० कित्ता सेयर, बाँडफाँडमा भयो ढिलाई




काठमाडौँ । सेयर बाँडफाँड प्रक्रिया ढिलो भइरहेको सान्जेन जलविद्युत कम्पनीले आवेदन दिएका सबै लगानीकर्तालाई कम्तिमा ४० कित्ता शेयर दिने भएको छ ।

सेयर खरिद गर्न आवेदन दिएका कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता सबैलाई शेयर दिने तयारी गरिएको छ । तर, बाँडफाँडमा भने ढिलाई भएको छ ।

सिआश्वा प्रणालीबाट दिइएको आवेदनको बाँडफाँड गर्न लामो समय नलाग्ने भनिएपनि किन ढिलाई भइरहेको भन्ने बारेमा बिक्री प्रबन्धक नागरिक लगानी कोषले केही बताएको छैन । तर साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले केही आवेदनमा समस्या भएका कारण त्यसलाई सच्याउन समय लागेको बताएका छन् ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि सेयर बिक्री खुला गरिएकोमा साञ्जेनमा मात्रै १ लाख ८६ हजारले आवेदन दिएका थिए ।

रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

कम्पनीका प्रमुख श्रेष्ठले सबैलाई शेयर दिने तयारी गरिएका कारण शेयर वितरणमा ढिलाई भएको बताए ।

उनका अनुसार आवेदकबाट ४ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । सञ्चयकर्ताका लागि छुट्याइएको ७१ करोड १७ लाख रुपैयाँको सेयरका लागि कम्पनीले ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीले गत सोमबारदेखि संस्थापक संस्थाका कर्मचारीलाई शेयर बिक्री सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी र रसुवा जिल्लाका साविक गाविस र जिल्ला विकास समितिका कर्मचारी र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि सेयर बिक्री गरिरहेको छ ।

संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपैयाँ बराबरको १२ लाख ७७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्न गरिएको हो ।

ऋणदाता संस्थाका कर्मचारीका लागि ३ करोड ६५ लाख रुपैयाँ बराबरको ३ लाख ६५ हजार कित्ता शेयर छुट्याइएको छ । संस्थापक र ऋणदाता संस्थाका कर्मचारीले यही चैत १३ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु