किन ढिलाइ भयो रसुवागढी र सान्जेनको आइपिओ बाँडफाँडमा ?




काठमाडौं । फागुन ११ गतेदेखि संस्थापक कम्पनी र ऋणदाता संस्थाका संचयकर्ताको लागि खुल्ला गरिएको रसुवागढी र सान्जेन जलविद्युत आयोजनाको साधारण सेयर (आइपिओ) मा आवेदन दिने म्याद फागुन मसान्तमा सकियो ।

आवेदनको म्याद सकिएको १० दिनभन्दा बढी भएपनि सेयर बाँडफाँड अझै भएको छैन ।

केही महिना अगाडिसम्मको सन्दर्भ सम्झने हो भने यति छोटो समयमै सेयर बाँडफाँडमा ढिलाइ भयो भनेर गुनासो गर्ने बेला भएको छैन । तर, पछिल्लो समय कार्यान्वयनमा आएको सिआश्वा प्रणालीको कारण आवेदनको म्याद सकिएको हप्ता दिनभित्रै आइपिओ बाँडफाँड भइसक्ने भनियो । यो आधारमा भन्ने हो भने रसुवागढी र सान्जेनको आइपिओ बाँडफाँडमा ढिलाइ भइरहेको छ ।

आबेदन बन्द भएको एक हप्ता भित्रमा आइपिओ बाँडफाँड सकिने सकिने भएपनि प्राविधिक कारणले ढिलाइ भइरहेको सान्जेन जलविद्युत आयोजनाको सेयर बिक्री प्रबन्धक नागरिक लगानी कोषका सुचना अधिकारी उद्धब सिलवाल बताउँछन् ।

‘आवेदन बन्द भएको हप्तादिन भित्रमै आइपिओ बाँडफाँड गरी सक्ने तयारी गरेका थियौं, आवेदनमा प्राविधिक गडबढी पाइएपछि हामीले २/४ दिनभित्रमा बाँडफाँड गरिसक्ने भन्यौं, त्यो २/४ दिन भनेको पनि २/४ दिन भइसक्यो, अहिले पनि ठ्याक्कै यो दिन भित्रमा बाँडफाँड गरिसक्छौं भन्ने अवस्था छैन, तर पनि अब धेरै दिन कुर्नु पर्दैन,’ सिलवालले क्लिकमाण्डूसँग भने ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताले हितग्राही खाता (डिम्याट) नम्बर प्रष्ट नलेखेको, डिम्याट खाता नम्बर र बैंक खाता नम्बर म्याच नगरेको तथा कतिपय आवेदकको खातामा पैसा नै नभएपनि आवेदन गरिएको पाइएपछि आइपिओ बाँडफाँडमा ढिलाइ भएको हो ।

कतिपय आवेदनमा डिम्याट नम्बर प्रष्ट नभएको, खाता नम्बर समेत प्रष्ट नभएको तथा नाम तथा ठेगाना समेत प्रष्ट नलेखी आवेदन दिएका कारण शेयर बाँडफाँडमा ढिलाई भएको हो ।

रसुवागढी हाइड्रो पावरका प्रमुख माधव कोइरालाले आवेदनमा डिम्याट नम्बर, खाता नम्बर जस्ता आवश्यक विवरण सही उल्लेख नभएका कारण सेयर बाँडफाँड प्रक्रिया लम्बिएको बताए ।

यस्तै, साञ्जेन हाइड्रोपावर कम्पनीका प्रमुख किरण श्रेष्ठले पनि आवेदनमा केही समस्या देखिएका कारण सेयर बाँडफाँडमा ढिलाई भएको बताए । उनले पनि कोइरालाले जस्तै डिम्याट खाता, खाता नम्बरमा प्रष्टता नभएको दोहो¥याए ।

साञ्जेनका लगानीकर्तालाई कम्तिमा ४० कित्ता सेयर
सान्जेन जलविद्युत कम्पनीले आवेदन दिएका सबै लगानीकर्तालाई कम्तिमा ४० कित्ता शेयर दिने भएको छ ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि सेयर बिक्री खुला गरिएकोमा साञ्जेनमा मात्रै १ लाख ८६ हजारले आवेदन दिएका थिए ।

रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ ।

कम्पनीका प्रमुख श्रेष्ठका अनुसार आवेदकबाट ४ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । सञ्चयकर्ताका लागि छुट्याइएको ७१ करोड १७ लाख रुपैयाँको सेयरका लागि कम्पनीले ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो ।

रसुवागढीको कम्तिमा ७० कित्ता
केही आवेदन रद्द भएकाले उनीहरूको विवरणसमेत समेटेर बाँडफाँड गर्ने तयारी गरिएको रसुवागढीले जानकारी दिएको छ ।

रसुवागढी जलविद्युत् कम्पनीले गत फागुन ११ गतेदेखि ३० गतेसम्म जारी गरेको सिमित आइपिओमा ६ गुणा बढी आवेदन परेको थियो ।

रद्द भएका आवेदकलाई मिलाएर दिने लक्ष्यका साथ केही ढिलाई भएको भएपनि अब केही दिन भित्रै बाँडफाँड गरिने आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले सेयर आवेदनकर्ता सबैलाई न्यूनतम ७० कित्ता शेयर दिने तयारी गरेको छ । मागभन्दा ६ गुणा बढी आवेदन परेकाले सबै सञ्चयकर्तालाई पुग्ने गरी बाँडफाँड गर्न लागिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सञ्चयकर्ताका लागि छुट्ट्याइएको शेयर खरिद गर्न १ लाख ८८ हजार आवेदन परेको छ । सो आवेदनबाट आवेदनबाट ६ अर्ब ७० करोड रुपैयाँ रकम संकलन भएको छ ।

कूल १११ मेगावाट क्षमताको सो आयोजना रसुवामा निर्माण भइरहेको छ । कम्पनीले सञ्चयकर्तालाई १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता सेयर छुट्टयाएको छ ।


क्लिकमान्डु