आस्बा प्रणालीमा सहभागी भए ११ बैंक तथा वित्तीय संस्था




काठमाडौं । धितोपत्र बोर्डले ‘एप्लिकेसन्स् सपोर्टेड बाइ ब्लक्ड अमाउन्ट (अस्बा)’ प्रणालीमा ११ ओटा बैंक तथा वित्तीय संस्थालाई सहभागी गराएको छ । सो प्रणालीमा सहभागी हुन निवेदन दिएका ती बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति प्रदान गरिएको बोर्डले जानकारी दिएको छ ।

आस्बा प्रणाली आगामी माघदेखि लागू गर्ने क्रममा सोमा सहभागी हुन योग्य बैंक वा वित्तीय संस्थालाई अनुमतिको लागि निवेदन दिन सार्वजनिक सूचना गरेकोमा सोही वमोजिम यसमा सहभागी हुनवोर्डमा निवेदन प्राप्त ११ ओटा बैंक तथा वित्तीय संस्थाहरुलाई अनुमति प्रदान गरिएको छ,’ बोर्डले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सोे प्रणालीमा समावेश हुन थप ६ ओटा बैंक तथा वित्तीय संस्थाहरुको निवेदन प्राप्त भएको र वोर्डले उक्त निवेदनहरुको सम्वन्धमा अध्ययन गरिरहेको र छिट्टै अनुमति प्रदान गर्ने बोर्डले जानकारी दिएको छ ।

सो प्रणालीमा सहभागी हुन निवेदन दिने समयावधी नतोकिएकोले अन्य योग्य बैंक तथा वित्तीय संस्थाहरुले समेत वोर्डमा सम्पर्क गरी निवेदन आउने क्रमजारी रहेको बोर्डको भनाइ छ ।

बोर्डले सेन्चुरी कमर्शियल बैंक, सनराइज बैंक, कैलाश विकास बैंक, एस डेभलपमेन्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, लक्ष्मी बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, एनआइसी एशिया बैंक, एनबी बैंक र कुमारी बैंकलाई स्वीकृति प्रदान गरिसकेको छ ।

यी बैंक तथा वित्तीय संस्थाहरुले आस्बा प्रणालीमा सहभागी हुन अनुमति प्राप्त गरेबाट आगामी माघदेखि सोप्रणालीलाई कार्यान्वयनमा ल्याउने वोर्डको योजनामा सहजता हुने तथा सार्वजनिक निष्काशनमा आवेदन दिने सम्बन्धी विद्यमान झण्झटिलो प्रक्रियामा सुधार भई लगानीकर्तामैत्री हुने वोर्डको अपेक्षा रहेको छ ।


क्लिकमान्डु