७३ जिल्लामा कृषि प्राविधिकको माग, १ हजार बढि कर्मचारी चाहियाे




काठमाडौं । तपार्इ वा तपार्इको कुनै आफन्तले जेटिए गरेको छ भने जागिरको सुवर्ण अवसर छ । कृषि विभागले उपत्यका बाहेकका ७३ जिल्लामा जेटिए अध्ययन गरेको प्रविधिक सबै गाविसमा राख्ने तयारी थालेको छ ।

एक गाउँ विकास समितिमा एक कृषि प्रविधिक भन्ने नारा सहित कृषि विभागले १ हजार २२ कर्मचारी माग गरेको छ । कृषि विभागले देशको ७३ जिल्लाका लागि करारमा द्वितीय प्राविधिक श्रेणी नायव प्राविधिक सहायक पदमा कर्मचारीहरु माग गरेको हो ।

कृषि विभागले गोरखापत्रमा निकालेको विज्ञापन नम्बर ०१–२०७३/७४ अनुसार आवेदकले कम्तीमा एसएलसी पास गरेको हुनुपर्ने र एक वर्ष जे.टी.ए (कृषि विज्ञान) तालिम प्राप्त वा कृषि विषय लिई टि.एसएलसी उत्तिर्ण गरेको हुनुपर्नेछ ।

खुल्ला तर्फ ५६८, महिला १४९, आदिवासी/जनजाति ११८, मधेसी १०३, दलित ५९, अपाङ्ग २०, पिछडिएको क्षेत्र ५ गरी जम्मा १ हजार २२ कर्मचारी विभागलाई आवश्यक परेको हो ।

आवेदकहरुले सम्बन्धित जिल्लाको जिल्ला कृषि अनुसन्धान कार्यालय वा सो कार्यालयले तोकेको सेवा केन्द्रबाट ३ सय परीक्षा दस्तुर तिरेर फर्म भर्न सक्छन् । र, प्रत्येक समावेशी समूहका लागि १ सय ५० थप गर्नुपर्ने हुन्छ ।

यसरी फर्म भर्ने आवेदकले माघ २९ गते १ बजे सम्बन्धित जिल्लाले तोकेको केन्द्रमा गएर लिखित परीक्षा दिनुपर्ने छ । लिखित परीक्षामा पास भएकाहरुलाई अन्तरवार्तामा बोलाइने विभागले जानकारी दिएको छ । विभागले २५ पुसमा सार्वजनिक सुचना प्रकाशित गरेको हो । फर्म भर्ने म्याद सुचना प्रकाशित भएको मितिले २१ दिनको र दोब्बर दस्तुर तिरेर त्यसको ७ दिनसम्म म्याद दिइएको छ ।


क्लिकमान्डु