एडीबी उपाध्यक्ष झाङको प्रश्न- नेपालको सरकारसँग विकासको भिजन खोई ?



काठमाडौं । एसियाली विकास बैंकका उपाध्यक्ष बेनकाई झाङले नेपालको सरकारसँग विकासको भिजन नै नभएको बताएका छन् । राजधानीमा आइतबारदेखि सुरु भएको पूर्वाधार सम्मेलनलाई सम्बोधन गर्दै उपाध्यक्ष झाङले यस्तो बताए ।

‘विकासका लागि सर्वप्रथम त्यहाँको सरकारसँग भिजन हुनुपर्यो, नेपाल सरकारसँग विकासको भिजन खोइ ?’ झाङले प्रश्न गरे ।

नेपालको पूर्वाधार विकासमा न्यून लगानी हुनु बिडम्बना भएको उनको भनाई थियो । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ४ प्रतिशत रकम मात्रै पूर्वाधारमा खर्च हुनु दुखद भएको उनले बताए ।

उत्तरको छिमेकी चीनले हाल जीडीपीको २० प्रतिशत पूर्वाधार विकासमा खर्च गरिरहेको उदाहारण दिँदै नेपालले पूर्वाधार विकासमा गरेको खर्च लज्जास्पद भएको झाङले प्रष्ट पारे ।

‘पूर्वाधारमा यति थोरै लगानी गरेपछि कसरी विकास हुन्छ ?’ उनले प्रश्न गरे ।

नेपालमा लगानीको वातावरण नबनेको उल्लेख गर्दै पहिला लगानीको वातावरण बनाउन उनले सुझाए । लगानीको वातावरण बनाउनका लागि पूर्वाधार विकास बैंक गठन गर्न उनको सुझाब छ ।

पुँजीगत खर्च ज्यादै कम हुनु नै नेपालको आर्थिकको समस्या भएएको झाङको ठम्याई छ । एडीबी नेपालको विकासमा सहयोग गर्ने ठूलो दातृ संस्था हो । उसले वर्षेनी मोटो रकम सहयोग गर्दै आएको छ ।

नेपाल उद्योग परिसंघको आयोजनामा आइतबारदेखि राजधानीमा पूर्वाधार सम्मेलन भइरहेको छ । विभिन्न देश तथा दातृ निकायका बक्ताहरु सम्मेलनमा सहभागी छन् । सम्मलेनमा भारतीय रेलमन्त्री सुरेश प्रभुम मुख्य अतिथि छन् ।


पुष्प दुलाल