कोसीपीडित महिला सीपमुलक तालिमले आत्मनिर्भर



इनरुवा । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट पाँचदेखि १० रुपैयाँमा मैनबत्ती किनेर ल्याई बाल्थिइन्। तर अहिले उनी आफैं मैनबत्ती बनाउँछिन् ।

सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो । उनलाई पनि मैनबत्ती कसरी बनाइन्छ भन्ने ज्ञान थिएन । तर हरिपुर गाविसमै रहेको सामुदायिक कोसीपीडित संस्थाबाट मैनबत्ती बनाउने सीप सिकिन्। उनी अहिले तालिम लिएर मैनबत्ती बनाउन थालेपछि अब मोम, मैनबत्ती बनाउने फर्मा लगायतका सबै सामग्री भयो भने आफैँले मैनबत्ती बनाएर आयआर्जन गर्न सक्ने बताउँछिन् ।

महिला घरमा बसेर चुल्होचौको सम्हाल्नेबाहेक गरिखाने खास सीप नभएको बेला कोसीपीडित संस्थाले दिएको एकहप्ते मैनबत्ती बनाउने तालिमले सुलेखा, सङ्गिता लगायतका यहाँका महिलालाई निक्कै सहयोगी बनेको छ ।

उक्त संस्थाले दुई समूहमा करिब ८० जना स्थानीय महिलालाई मैनबत्ती बनाउने तालिम दिएको थियो । हरिपुर–३ की ऋचा पाठकले पनि यही संस्थाबाट मैनबत्ती बनाउने तालिम लिएकी हुन्। घरमा फुर्सदिलो र बेरोजगारीको जीवन बिताइरहेका बेला पाएको मैनबत्ती बनाउने तालिमले उनलाई निक्कै राहत दिएको छ ।

बेरोजगार बसेका महिला तालिमपछि मैनबत्ती बनाउन सिपालु भई उनीहरुमा उद्यमशीलता बढेको देख्दा प्रशिक्षक लक्ष्मण मेहतालाई पनि खुसी लागेको छ । कोसीको बाढीले बिजोग बनाएका परिवारका महिलालाई गरिखान सघाउ पुग्नेगरी मैनबत्ती बनाउने तालिम दिनसकेकामा आयोजक सामुदायिक कोसीपीडित संस्थाका अध्यक्ष धिरेन्द्र पाठक खुसी छन्।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले दिएका धेरैजसो तालिमबाट समुदाय लाभान्वित भएको कमै सुनिन्छ । तर कोसीपीडित महिलाले पाएको मैनबत्ती बनाउने तालिमले उनीहरुको जीवनमा थोरै भए पनि उज्यालो दिएको छ ।


क्लिकमान्डु