साझा यातायातलाई भक्तपुर प्रवेश गर्न नदिने व्यवसायीको चेतावनी



भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले आफ्नो सिण्डिकेट तोडिने डरले ग्रामिण क्षेत्रका सम्पूर्ण यातायात रुट ठप्प पार्ने चेतावनी दिएका छन् ।

सोमबार पत्रकार सम्मेलन मार्फत ब्यवसायीहरुले आफ्नो सिण्डिकेट तोडिएमा भक्तपुरका ग्रामिण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।

सरकारले भक्तपुरमा साझा यातायातको बस संचालनमा ल्याउन प्रक्रिया रहेको समयमा भक्तपुरका व्यावसायी आफ्नो सिण्डिकेट तोडिने डरले पत्रकार सम्मेलन गरी यस्तो चेतावनी दिएका हुन् ।

भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बससरहका गाडी मगाइएको बताउँदै साझा बस भित्रीए ग्रामीण रुट ठप्प पार्ने बताए ।

उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्राउन खोजिएको बताए ।

सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र ब्यवसायीले साझा बस भन्दा सुबिधा सम्पन्न बस भित्राउन थाले पछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको आरोप लगाउँदै आफूहरु साझा बस भन्दा बढी सुबिधा दिन लाग्दा किन बिवाद बढाइएको उनको आरोप छ ।

कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले मिनीबस सेवा समितिले ४१ सिट क्षमताको लामो बस ४० वटा आउन लागेको अवस्थामा काठमाडौको रुटमा घाटा भएपछि साझा बस भक्तपुर चलाउने कार्यको विरोध गरे ।

नयाँ आउन लागेका साझा बस नयाँ नभएको र त्यसले जनताको समस्याको सम्बोधन नगर्ने उनले बताए ।


पुष्प दुलाल