२०१७ मा २ सय अर्बपति थपिए, कसको सम्पत्ति कति ?



सन् २०१७ बिश्वका धनाड्यहरुका लागि उत्कृष्ट बर्ष साबित भएको छ । उनीहरुको संख्या गत बर्षको १८ सय १० बाट १३ प्रतिशत बढेर २ हजार ४३ जना पुगेको छ । र, अर्बपतिहरुको कुल सम्पत्ती १८ प्रतिशतले बढेर ७.६७ ट्रिलियन डलर पुगेको छ ।

बिल गेट्स लगातार चौथो बर्ष बिश्वको सबैभन्दा धनी ब्यक्ति भएका छन् । उनको कुल सम्पत्ती गर्त बर्षको ७५ अर्ब डलरबाट बढेर ८६ अर्ब डलर पुगेको छ । अमेजनका जेफ बेजोसले यो बर्ष सबैभन्दा ठूलो बाजी मारेका छन् । उनको सम्पत्ती २७.६ अर्ब डलरले बढेर ७२.८ अर्ब डलर पुगेको छ । उनी तेस्रो नम्बरमा परेका छन् ।

१४.८ अर्ब डलरले आफ्नो सम्पत्ती बढाएर सेयर बादशाह वारेन बफेट दोस्रो नम्बरमा परेका छन् । उनको सम्पत्ती ७८.७ अर्ब डलर छ । उनले दोस्रो स्थान जाराका संस्थापक अमान्सीओ आर्टेगाबाट खोसेका हुन् । ४.३ अर्ब डलरले आफ्नो सम्पत्ती बढाएका ओर्टेगा चौथो स्थानमा छन् । उनीसँग ७२ अर्ब डलरको सम्पत्ती छ ।

फेसबुकका संस्थापकले गत १२ महिनामा ११.४ अर्ब डलर सम्पत्ती थपेर ५८.६ अर्ब डलर पुर्याएका कारण पहिलो पटक पाँचौं स्थानमा उक्लेका छन् । कुनै बेलाका संसारकै सबैभन्दा धनी मेक्सिकोका कार्लोस हेलु छैंठौं स्थानमा झरेका छन् । गत १२ बर्षमा उनी पहिलोपटक पाँचौ स्थान भन्दा तल खसेका हुन् ।

यसपटक बिश्व अर्बपतिहरुमा १ सय ९५ जना नवप्रवेशीहरु छन् । यसमा सबैभन्दा बढी चीनबाट ७६ जना छन् । र, अमेरिकाबाट २५ जना थपिएका छन् ।

अमेरिका सदा झैं अर्बपतिहरु धेरै भएको देशको सूचीमा पहिलोमै छ । त्यहाँ ५६५ जना अर्बपति रहेका छन् । दोस्रोमा चीन छ । चीनमा ३१९ (हङकङको ६७ र मकाओको १ जना बाहेक) अर्बपति छन् । त्यसै गरि जमर्नी र भारतमा क्रमशः ११४ र १०१ जना अर्बपति छन् ।


पुष्प दुलाल