सरकारले नमुनाको लागि आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ बनाउने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफ्नै स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ निर्माणको योजना ल्याउने भएको छ ।

भौतिक पूर्वाधार विकासका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नमुना योजनाका रुपमा एक/एक सुरुङ मार्ग र ‘फ्लाइओभर’ को कार्यक्रम ल्याउन लागेको हो ।

पूर्वाधार विकासमा सुरुङ मार्ग र ‘फ्लाइ ओभर’ महत्वपूर्ण भएकाले दातृ संस्थाकै सहयोगमा काम हुन नसक्ने देखेर सरकारकै स्रोतबाट नमुनाका रुपमा कार्यक्रम अघि सार्न लागिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले जानकारी दिए ।

‘सय वर्षअघि चुरे पहाड छिचोल्ने ६० मिटरको सुरुङ मार्ग बनेको थियो, त्यो विकास हुन सकेन, अब ढिलै भए पनि सरकारी स्रोतबाट सुरुङ मार्ग र ‘फ्लाइओभर’ निर्माण सुरु हुन्छ ‘  उनले भने ।

माइतीघर–त्रिपुरेश्वर एक किमी ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन सुरु भएको मन्त्रालयले जनाएको छ । चीनको सहयोगमा चक्रपथ विस्तार कार्यक्रमअन्तर्गत कलङ्कीमा ‘अन्डरपास’ निर्माण भइरहेको छ ।

मन्त्रालयले एक हजार २५ किमीको पूर्व–पश्चिम राजमार्ग दुई लेनबाट चार लेनको बनाउन सुरु गरेको छ । पहिलो चरणमा एसियाली विकास बैंकको २५ अर्ब सहयोगमा नारायणघाट–बुटवल खण्डलाई चार लेन बनाउने कार्य सुरु भएको हो । रासस


क्लिकमान्डु