मेलम्चीले काठमाडौंमा अब एक महिना मात्रै धुलो उडाउँने



काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कारण लामो समयदेखि धुलाम्ये राजधानीका जनताले अब राहत पाउने भएका छन् । काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन इकाइले खानेपानीको प्रसारण लाईन विछ्याउन खनेको मुख्ख सडक एक महिना भित्रमा पीच गरिसक्ने दाबी गरेको छ ।

मेलम्ची खानेपानी वितरणका लागि उपत्यकामा ७ सय ६० किलोमिटर पाइप बिच्छ्याउने काम भइरहेको आयोजनाका प्रवक्ता लिलाप्रसाद ढकालले क्लिकमाण्डूलाई बताए ।

‘धूलो उडाउनु अयोजनाको रहर हैन । तर पाइप बिच्छ्याउनका लागि सडक भत्काउनु अनिर्वाय भएकाले सडकबाट धुलो उडेको हो,’ ढकालले भने ।

आयोजना र सडक विभागको सहकार्यमा सडक पीच गर्ने कार्य भईरहेका छन्, मुख्य सडकमा सवारीसाधन अधिक गुड्ने भएकाले सो स्थानमा धूलो अधिक उड्ने गरेकाले हाल ति स्थामा पीच गरिएको ढकाल बताउँछन् ।

‘पाइप विच्छ्याएको स्थान मध्यमा अलिक दयनीय देखिएको भनेको चावहिल–मित्रपार्क र नारायणगोपाल चोक–बाँसवारी सडक खण्ड हो, मौसमले साथ दिएमा बाँसवारी सडक खण्ड दुईदिन भित्रमा र चावहिल खण्ड एकहप्ता भित्रमा पीच हुनेछ,’ उनले भने ।

आयोजना र सडक विभागबीच भएको सम्झौताअनुसार ०७४ असोजपछि बिच्छ्याइएको पाइपमा पानी परीक्षण गरेर मात्र स्थायी कालोपत्रे गर्ने सम्झौतामा उल्लेख छ ।

खानेपानीको पाइप खाल्डो खनेर विच्छ्याउनु पर्ने भएकाले सडक भत्काउनु परेको हो । भत्केको सडकबाट उड्ने धूलोले उपत्यका बासीलाई शास फेर्न मुस्किल भएकाले आयोजनाले जनतालाई राहत दिनका लागि अलकत्रा छर्केर भए पनि धुलोबाट केही राहत दिएको छ ।

पाइप विच्छ्याउने क्रममा भत्किएको मुख्य सडकमा ८० प्रतिशतसम्म पिच गरिएको प्रवक्ता ढकालको दावी छ ।

यी हुन् पीच भएका मुख्य सडक

चावहिल-धोवीखोला
चावहिल-चुच्चेपाटी
चावहिल-धोवी खोला
गौशला-मित्र पार्क
गौशला-बत्तिसपुतली
जमल-केशरमहल
लाजिम्पाट-चक्रपथ
तिलगंगा-एअरर्पोट
माइतीघर-थापाथली
मिनभवन-कोटेश्वर


पुष्प दुलाल