बैदेशिक रोजगारीमा जानुअघि २ महिना पुनर्निर्माणको काम गर्नुपर्ने




काठमाडौं । रोजगारीका लागि बिदेश जाने तयारीमा हुनुहुन्छ ? हो भने अब तपाईले २ महिना देशभित्रै काम गर्नुपर्ने भएको छ ।

यो २ महिना तालिमका लागि हो । तालिम लिनको लागि तपाईले पैसा तिर्नु पर्दैन । बरु सरकारले उल्टै मासिक आकर्षक तलब पनि दिन्छ । र, २ महिना तालिम लिएको दक्ष जनशक्ति हो भनेर बिदेशी कम्पनीले विश्वास गर्ने सरकारी प्रमाणपत्र पनि तपाईको हातमा पर्नेछ ।

देशभित्रै पुनर्निर्माणका काम गर्ने कामदारलाई प्राधिकरणले मासिक २० हजार रुपैयाँ र १ हजार रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने छ ।

सरकारले यसरी दिएको प्रमाणपत्रले तपाईलाई बिदेशमा बढी तलब लिन बार्गेनिङ पावर पनि बढाउने छ । किनभने तपाइ सरकारी तालिमप्राप्त दक्ष जनशक्ति हुनुहुनेछ ।

भूकम्प पछिको पुनर्निर्माणलाई तीब्रता दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बैदेशिक रोजगारीमा जानेहरुलाई २ महिना पुनर्निर्माणका काम गर्नुपर्ने व्यवस्था मिलाएको हो ।

पुनर्निर्माणमा आवश्यक जनशक्ति नहुँदा भूकम्प गएको २ वर्ष वित्दा पनि पुनर्निर्माणले गति लिन सकेको छैन ।

‘कामदारको अभावमा भूकम्पपछिको पुनर्निर्माण जुन रुपमा अघि बढ्नु पर्ने हो, त्यसरी अघि बढ्न सकेको छैन, त्यसैले बैदेशिक रोजगारीमा जानुभन्दा २ महिना अघि देशभित्रै पुनर्निर्माणका काम गर्नु पर्ने व्यवस्था मिलाइएको हो,’ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले क्लिकमाण्डूसँग भने ।

लेवर भिसामा बैदेशिक रोजगारीमा जानेहरुलाई पुनर्निर्माणमा काम लगाउन पुनर्निर्माण प्राधिकरण, श्रम मन्त्रालय र बैदेशिक रोजगार व्यवसायी संघबीच आइतबार साँझ सैद्दान्तिक सहमतिपत्रमा हस्ताक्षर हुँदैछ ।

बैदेशिक रोजगार व्यवसायी संघले पुनर्निर्माण प्राधिकरणलाई कामदार सिफारिस गर्ने र प्राधिकरणले भूकम्प प्रभावित विभिन्न जिल्लामा खटाउने सम्झौता हुन लागेको हो ।

आइतबार दिउसो संघको बैठक बसेर प्राधिकरणको प्रस्ताब अनुमोदन गर्ने तयारी संघको छ । प्राधिकरणको प्रश्ताव राम्रो भएकोले सोअनुसारको सम्झौता गर्ने प्रक्रिया पूरा गरिने संघका अध्यक्ष बिमल ढकालले जानकारी दिए ।

यसरी देशभित्रै पुनर्निर्माणका काम गर्ने कामदारलाई प्राधिकरणले मासिक २० हजार रुपैयाँ र १ हजार रुपैयाँ बराबरको बीमा सुविधा उपलब्ध गराउने छ ।

सम्झौताको मस्यौदामा एक छाक खाना जसको घर पुनर्निर्माण गर्नुपर्ने हो त्यसले दिनुपर्ने र एक छाक खाना कामदार आफैंले आफ्नै खर्चले खानुपर्ने उल्लेख छ ।

कामदारलाई प्राधिकणले स्लिपिङ व्याग उपलब्ध गराउने छ । ट्राभल एण्ड टुर्स एसोसिएसनले स्लिपिङ व्याग उपलब्ध गराउने भएको हो ।

यस्तो सम्झौता पछि पुनर्निर्माणमा कामदार अभावको समस्या केही हदसम्म भएपनि पूरा हुने र पुनर्निर्माणले गति लिने प्राधिकरणका अधिकारीहरुको भनाइ छ ।


पुष्प दुलाल