कहाँ पुग्यो पनामा पेपरमा नाम आएका नेपालीको छानबिन ?



काठमाडौं । गतवर्ष खोज पत्रकारहरुको अन्तराष्ट्रिय संस्था (आइसीआइजे) ले पनामाको एउटा ल फर्म मोसाक फोन्सेकाको गोप्य दस्तावेद सार्वजनिक गर्यो ।

यसमा विश्वमा चर्चित मानिएका खेलाडी, नेता, कलार र व्यवसायीको नाम थियो ।

पनामा पेपरमा नाम आएपछि आइसल्याण्डका तत्कालिन प्रधानमन्त्री सिग्मन्तर तावियोले राजिनामा दिएका थिए । हालै पाकिस्तानको सर्वोच्च अदालतले पनामा पेपरमा नाम मुछिएका प्रधानमन्त्री नवाज सरिफ र उनको परिवारको छानबिन गर्नुपर्ने आदेश जारी गरेको छ । सरिफका परिवारका सदस्यको नाम पनमा पेपरमा मुछिएको थियो ।

पनामा पेपरमा सात जना नेपालीको पनि नाम आएको थियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतो, चौधरी ग्रुपका प्रवन्ध निर्देशक अरुण चौधरीका परिवारका सदस्यको नाम पनि यसमा थियो । पनामा पेपरमा नाम परेका व्यवसायी अरुण चौधरी, शिला चौधरी, करण चौधरी, सूर्यकुमार चौधरी थिए ।

व्यवसायिक वृत्तमा नाम नसुनिएका नवाङ डोल्मा र उमादेवी सिंहानियाको नाममा पनि पनामा पेपरमा आएको थियो ।

पनामा पेपरमा नाम आउदैमा गैर कानूनी काम गरेको भन्न मिल्दैन । तर यसले नेपालमा सम्पत्ति शुद्धीकरण गरेको विषयमा अनुसन्धान गर्न एउटा आधार भने तय गरेको थियो । पनामा पेपरको नेपाली व्यवसायीको नाम आएपछि व्यवस्थापिका संसद्को अर्थसमितिले अनुसन्धान गर्न सरोकारवाला निकायलाई निर्देशन दिएको थियो । तर, यसमा अहिलेसम्म केही अनुसन्धान भने भएको छैन ।

सम्पत्ति शुद्धीकरण विरुद्ध छानबिन गर्ने जिम्मा पाएको एउटा निकाय नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाइका प्रमुख ऋषीकेश भट्टले इकाइको तर्फबाट अनुसन्धानको काम सकिएको बताए ।

‘सम्पत्ती शुद्धीकरणको विषयमा इकाईले कसैलाई पनि कारवाही गर्ने होइन, हामीले आफ्नो रिपोर्ट सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा दिएका छौं,’ भट्टले क्लिकमाण्डूसँग भने ।

पनामा पेपरमा जोडिएका व्यक्तिको बारेमा अनुसन्धान गर्ने काम भने कठिनाई छ । नाम आएकै आधारमा गैरकानूनी काम गरेको भन्न मिल्ने आधार छैन । पनामा पेपरले कर मुक्त भनेर चिनिने देशहरुमा कम्पनी खोलेर लगानी गरेका व्यक्तिको नाम सार्वजनिक गरेको हो । पछिल्लो समय विश्व अर्थव्यवस्थामा अफसोर देशबाट हुने लगानी ठूलो समस्याको रुपमा देखा पर्न थालेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका सूचना अधिकारी विनोद लामिछाने विभागले यसको विषयमा आफ्नो काम गरिरहेको बताउँछन् ।

‘खोज पत्रकारहरुको संस्थाले नाम सार्बजनिक गरेकै आधारमा यसको अनुसन्धान गर्न केही जटिलता छ, विभागले विभिन्न निकायसँग समन्वयन गरेर अनुसन्धान गरिरहेको छ,’ लामिछाने भने ।

विभागका अधिकारीको यस्तो तर्कले अनुसन्धानको कार्य प्रभावकारी ढंगले भएको छैन भन्ने पुष्टी गर्छ । पछिल्लो समय दक्षिण एशियामा नै पाकिस्तानका प्रधानमन्त्रीको मात्र यसमा छानबिन गर्ने प्रक्रिया अगाडि बढेको छ । भारतमा पनि चर्चित सेलिब्रेटीहरु यसमा मुछिएका थिए । संचार माध्यमहरुका अनुसार भारतमा पनि प्रभावकारी अनुसन्धान सुरु भएको छैन ।

पनामा पेपरमा नाम आएपछि एनआरएएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले आफ्नो विदेशमा कारोबार रहेको र नियम अनुसार भएको विज्ञप्ति जारी गरेका थिए ।

दुई वर्ष अगाडि स्विस लिक मार्फत केही नेपालीको स्वीजरल्याण्डमा बैंक खाता रहेको र यसमा ५ अर्ब रुपैयाँ रहेको सार्वजनिक भएको थियो । यस्तै एउटा अफसोर लिकमा पनि केही नेपाली व्यवसायी नाम सार्वजनिक भएको थियो ।


क्लिकमान्डु