अध्यक्ष, सञ्चालक र सीइओहरुलाई मिडियामा नबोल्न धितोपत्र बोर्डको चेतावनी



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूचिकित कम्पनीहरुका जिम्मेवार अधिकारीहरुलाई कम्पनीको सेयरसँग सम्बन्धित सूचनाहरु अन्तवार्ता, बिचारलगायतका माध्यमबाट मिडियामा सार्वजानिक गर्न कडाइ गरेको छ ।

बोर्डले नेप्सेमा सूचिकृत कम्पनीहरुका अध्यक्ष, संचालक, प्रमुख कार्यकारी अधिकृत लगायतलाई सेयर बजारलाई प्रभावित गर्ने सूचनाहरु आधिकारिक निर्णय भए पश्चात मात्र धितोपत्र दर्ता तथा निष्काशन नियमावली,-०७३ बमोजिम आधिकारिक रुपमा बोर्डमा जानकारी गराई आधिकारिक व्यक्तिबाट मात्र सार्वजनिक गर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

बोर्डले बुधबार एक बिज्ञप्ती जारी गर्दै कम्पनीका जिम्मेवार ब्यक्तिहरुबाट विभिन्न संचार माध्यमहरु मार्फत समय समयमा अन्तवार्ता तथा निजहरुका व्यक्त विचार भनी सम्प्रेषण हुने गरेको समाचारहरुको सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसैगरी, यस्ता सूचनाहरुले प्रत्यक्ष वा परोक्ष रुपमा लगानीकर्ताहरु प्रभावित भई धितोपत्रको बजार मूल्यमा असर पर्ने र कतिपय लगानीकर्ताले नोक्सानी समेत बेहोर्नुपर्ने हुँदा आधिकारीक निर्णय हुनु अगावै यस्ता सूचना सार्वजनिक नगर्न सम्बन्धीत ब्यक्तिहरुलाई निर्देशन दिएको छ ।

त्यस्तै निर्देशन पालना नभएमा सम्बन्धित कम्पनीको धितोपत्रको कारोवार रोक्का गर्ने लगायतका कारबाही गरिने समेत बोर्डले जनाएको छ ।


पुष्प दुलाल