बुद्धमूर्ति निर्माणको डिपीआर तयार, पार्क निर्माणमा १७ अर्ब ९५ करोड रुपैयाँ खर्च लाग्ने



दमक । झापाको दमकमा निर्माण हुने विश्वकै अग्लो बुद्धको मूर्ति निर्माणका लागि विस्तृत आयोजना तयार गरिएको छ । दमक नगरपालिकाका अनुसार विराट बुद्धप्रतिमा आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) ले अन्तिमरुप पाएको छ ।

नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले प्रस्तावित उक्त योजनाको डिपिआर तयार भएर बताए। उनले प्रारम्भिक चरणमा भनिएको भन्दा आयोजनाको लागत अनुमान बढ्ने देखिएको जानकारी दिए।

डिपिआरअनुसार बुद्धमूर्ति पार्क निर्माणमा १७ अर्ब ९५ करोड रुपैयाँ खर्च लाग्ने नगरपालिकाले जनाएको छ । दमक–३ मा १६० बिगाहा जमिनको व्यवस्था गरी विश्वकै अग्लो बुद्धमूर्ति निर्माण हुनेछ ।

अधिकृत दाहालले बुद्धको मूर्ति ५४२ फिट अग्लो हुने र आयोजनाको निर्माण आवश्यक प्रक्रिया जेठभित्रै सुरु गर्ने जानकारी दिए। आयोजना छ वर्षभित्र सम्पन्न हुने बताइएको छ ।

आयोजनाभित्र करिब २० बिगाहाको पार्क हुनेछ भने बुद्ध मूर्तिको आकृति हेर्न एक बिगाहाको पोखरी निर्माण गरिनेछ । त्यहाँ स्तुपा, गुम्बा, बौद्ध विश्वविद्यालय, ध्यान केन्द्र, सपिङ मल, अस्पताल, धर्मशालालगायतका संरचना  निमाण हुने अधिकृत दाहालले बताए ।

आयोजना निर्माण सम्पन्न भए मुलुकको पूर्व क्षेत्रमा मात्र लाखौँ पर्यटक भित्रिने र त्यसबाट हजारौँले रोजगारी पाउने जनाए।

दाहालका अनुसार थाइल्यान्ड, जापान र दक्षिण कोरियाका सरकार तथा उद्योगीले निर्माण गर्ने इच्छा देखिएका छन् । उनले यही जेठभित्र आयोजनाको प्रारम्भिक चरणका काम थालनी हुने जानकारी दिए।


क्लिकमान्डु