सूर्यविनायक जगाती सडक फराकिलो बनाइदै



भक्तपुर । वर्षौंदेखि व्यापारीले कब्जा गर्दा रोकिएको भक्तपुरको सूर्यविनायकचोकदेखि जगातीको चकुखोलासम्मको सडक अतिक्रमण हटाएर सडक फराकिलो गर्ने कार्य सुरु भएको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरले हरेक वर्ष उक्त सडकखण्ड फराकिलो पार्न सूचना जारी गर्दा पनि स्थानीयवासीको अवरोधका कारण रोकिएको विस्तार कार्य जनप्रतिनिधि आएपछि सुरु भएको हो । बिहीबार सूर्यविनायक नगरपालिका–८ का अध्यक्ष किरण थापाको नेतृत्वमा गएको सडक डिभिजन कार्यालय, स्थानीय बासिन्दा र प्रहरी सहितको टोलीले सडक विस्तार कार्य सुरु गरेको छ ।

अरनिको राजमार्गखण्डअन्तर्गत उक्त सडक ८२ फिट रहेको र सो मापदण्ड मिचेर व्यापारीले सडक कब्जा गरेर राखेको निर्माण सामग्री हटाउने र टहरा भत्काउने कार्य नगरेपछि स्थानीय जनप्रतिनिधि समेतको अग्रसरतामा त्यस्ता सामग्री एवम् टहरा हटाउन थालिएको हो । डिभिजन सडक कार्यालयले पटक पटक सडक कब्जा गरेर राखेको सामान हटाउन र टहरा भत्काउन सार्वजनिक सूचना जारी गर्दा पनि अटेर गरेपछि हटाउन थालिएको कार्यालयका इन्जिनियर सुदर्शन कार्कीले बताए ।

सूर्यविनायकदेखि जगाती सम्मका व्यापारीले सडकपेटी अतिक्रमण गरी राखिएका सामान हटाउन सो क्षेत्रका घरेबेटी र पसलवालाले ३ दिन समय माग गरेपछि शनिबार सम्मको समय दिइएको छ ।

‘शनिबारसम्म सडक कब्जा गरिराखेको सामग्री नहटाए आइतबार कार्यालयले सबै सामग्री उठाएर लैजान्छ, त्यसको नोक्सानको भागिदार व्यापारी आफैं हुनुपर्छ,’ इन्जिनियर कार्कीले भने ।

सडकमा व्यापारीले वर्षौंदेखि बालुवा, रोडा, ढुङ्गा, डन्डी लगायतका निर्माण सामग्री थुपारेर व्यापार गर्दै आएका थिए भने कतिपयले टहरा हालेर व्यापार गर्दै आएका थिए । सडक क्षेत्रको अतिक्रमणका कारण हरेक वर्ष वर्षा लागेपछि स्थानीय बासिन्दा र पैदलयात्रीलाई हिँड्डुल गर्न समस्या पर्ने, सडकमा पानी जमेर खोला जस्तै बन्ने गरेकाले यस वर्ष त्यो समस्या आउन नदिन अतिक्रमण हटाएर सडक फराकिलो पार्न लागेको वडाध्यक्ष थापाले बताए । निर्माण सामग्री र टहरा नभएका स्थानमा बिहीबारबाट सडक फराकिलो पार्न सुरु गरेको र अन्य क्षेत्रमा भने आइतबारबाट फराकिलो पार्ने उनले बताए । रासस


पुष्प दुलाल