व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न वाणिज्यमन्त्री विश्वकर्माको सुझाव



काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिएक छन् ।

नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड व्यवसाय भएकाले यसलाई बढावा दिनुपर्ने बताए ।

‘व्यवसायीको रक्षा भएमात्र व्यवसायको रक्षा हुन्छ, व्यवसाय राम्रो भए मुलुकको विकास हुन्छ’, उनले भने ।

व्यवसायीका समस्या समाधानका लागि मन्त्रालयले काम गर्ने तर कालोबजारी र कर छली गर्ने व्यवसायीलाई कारबाही गर्ने उनको भनाइ थियो ।

मन्त्री विश्वकर्माले आयातित सामानलाई कम गरी निर्यातजन्य वस्तुलाई बढाउन सकेमात्र देशको व्यापार घाटा कम हुने भन्दै यसका लागि व्यवसायी लाग्नुपर्ने बताए । कर तिर्ने व्यापारी देशको मेरुदण्ड भएकाले व्यापारीको सल्लाहअनुसार आफू अगाडि बढ्ने उनले बताए ।

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले वाणिज्य नीतिमा सुधार गरे व्यापार–व्यवसाय सहज हुने भन्दै सुधारका कार्यक्रमलाई अगाडि बढाउन मन्त्रीसमक्ष आग्रह गरे ।

उनले व्यापारका क्रममा रसुवा नाकामा भोग्नुपरेका समस्या, कालोबजारी ऐन, उपभोक्ता ऐन संशोधन नभएको भन्दै संशोधनका लागि मन्त्रालयले पहल गर्नुपर्नेमा जोड दिए । भेटमा नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी र सदस्यको सहभागिता रहेको थियो ।


क्लिकमान्डु