यो वर्ष स्ट्याण्डर्ड चार्टर्ड बैंकको १०० प्रतिशत बोनस सेयर !




काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आर्थिक बर्षको नाफाबाट कति बोनस देला ? अहिले यो प्रश्न आम चासोको बनेको छ ।

यो प्रश्न बैंकको सेयरप्रति चासो राख्ने वा सेयरधनी मात्रै होइन, नियामक निकायको लागि पनि उत्तिकै महत्वपूर्ण छ । किनभने गत असार मसान्तसम्ममा बैंकको चुक्ता पुँजी जम्मा ४ अर्ब रुपैयाँ मात्रै छ ।

गत असार मसान्तसम्मको नाफाबाट बोनस सेयर वितरण गरेर बैंकले चुक्ता पुँजी कम्तिमा पनि ८ अर्ब रुपैयाँ पुर्याउनै पर्नेछ । यो नियामकीय बाध्यकारी ब्यवस्था हो । बैंकले फर्दर पब्लिक अफरिङ (एफपिओ) वा हकप्रद जारी गर्ने प्रक्रिया असार मसान्त अघि सुरु गरेको छैन ।

राष्ट्र बैंकले गरेको ब्यवस्था अनुसार गत असार मसान्तभित्रमा हकप्रद, एफपिओ, मर्जर वा एक्विजिसन प्रक्रिया सुरु भएका तर पूरा नभएकाहरुले यो बर्ष गर्ने साधारणसभापछि पनि चुक्ता पुँजी पुर्याउन पाउँछन् ।

यस्तो विधि प्रयोग गरेर चार्टर्डले चुक्ता पुँजी बढाउने विकल्प खोज्न सक्दैन । किनभने ऊ अहिले हकप्रद, एफपिओ, मर्जर वा एक्विजिसनको प्रक्रियामा छैन ।

अर्थात उसँग अब बाँकी रहेको एकमात्र विकल्प भनेको गत बर्ष कमाएको नाफा, गत बर्ष नै एफपिओ जारी गरेर जम्मा पारेको रकम र यसअघिदेखि बैंकले रिजर्भमा राखेको रकम (जुन वितरण गर्न योग्य होस्) बाट बोनस सेयर दिएर पुर्याउने मात्रै हो ।

बैंकले सोमबार (आज) प्रकाशित गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार तोकिए अनुसार चुक्ता पुँजी पुर्याउन अझै ४ अर्ब रुपैयाँ बाँकी छ । गत असार मसान्तसम्मा उसको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ मात्रै छ ।

चार्टर्डसँग अब दुइटा विकल्प छन् । पहिलो र सबैलाई सहज लाग्ने विकल्प भनेको यो बर्ष साधारणसभाबाट शतप्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने ।

सुचीकृत कम्पनीहरुलाई बोनस सेयर दिन कुनै समस्या हुँदैन । किनभने अहिले नेपाली लगानीकर्ता पैसाभन्दा पनि सेयर पाउँदा बढी खुशी हुने गरेका छन् । आफ्ना सेयरधनी पनि खुशी हुने र कम्पनीले पैसा पनि दिनु नपर्ने भएपछि यो विकल्प कम्पनीहरुको लागि सबैभन्दा उत्तम नै हो ।

तर, शतप्रतिशत बोनस सेयर दिनको लागि बैंकले नाफा पनि उस्तै गरेको हुनुपर्ने भयो । बैंकले गत आर्थिक बर्षमा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो अंक मात्रै हेर्ने हो भने शतप्रतिशत बोनस सेयर दिन पुग्दैन ।

यो १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा पनि सबै बाढ्न पाइने होइन । यसको २० प्रतिशत रकम अनिवार्य रुपमा जनरल रिजर्भमा राख्नुपर्ने हुन्छ । र, खुद नाफाको १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) मा खर्चनु पर्नेछ । यस्तै विदेशी विनिमयको कारोबारमा हुने उतार चढाव जोखिम कोषमा त्यस्तो कारोबारबाट कमाएको रकमको २५ प्रतिशत रकम छुट्टयाउनु पर्नेछ । यो हुँदा बैंकले गत बर्षको नाफाबाट १ अर्ब रुपैयाँको हाराहारीमा मात्रै बोनस सेयर दिन सक्छ ।

सम्झनु पर्ने कुरा के हो भने बैंकले गत आर्थिक बर्षमा २५ लाख ५८ हजार १४० कित्ता एफपिओ ११९० रुपैयाँ प्रिमियम मूल्यमा बेचेको थियो । यो एफपिओबाट बैंकले ३ अर्ब ४ करोड रुपैयाँ कमाएको छ । यो रकमबाट पनि बैंकले बोनस सेयर दिन सक्छ, पाउँछ ।

बैंकले २ बर्ष अगाडि नेपाल राष्ट्र बैंकमा बुझाएको पुँजी बृद्धि योजनामा यो बर्ष सेयरधनीले १ अर्ब रुपैयाँ बराबरको बोनस सेयर नै पाउने उल्लेख गरेको थियो ।

पुँजी बृद्धि योजनामा चार्टर्ड बैंक सानो रुपमा भने चुकेको देखिन्छ । उसले एफपिओबाट ३ अर्ब ३० करोड रुपैयाँ प्राप्त गर्छु भनेकोमा ३ अर्ब ४ करोड मात्रै प्राप्त गरेको छ । तर, यसले बोनस सेयर दिएर चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन बैंकको योजनामा कुनै असर पुर्याँउदैन ।

अब यो कुरा प्रष्ट भयो कि चार्टर्डले चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४ अर्ब रुपैयाँको बोनस सेयर दिन्छ वा दिनुपर्छ । यसरी बोनस सेयर दिनको लागि १ अर्ब रुपैयाँ गत बर्षको नाफाबाट दिन्छ । बाँकी ३ अर्ब रुपैयाँ एफपिओ बेचेको पैसा छ । यसकारण स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत बर्षको नाफाबाट शतप्रतिशत बोनस सेयर दिन्छ ।

र, पहिलो विकल्पबाट नै चुक्ता पुँजी तोकिए अनुसार पुग्ने भएकोले दोस्रो विकल्पबारे कुरा गरिरहनु परेन ।


क्लिकमान्डु