नेपाल एयरलाइन्सको बिजनेश ग्रोथः साढे ३ हजार उडानमार्फत् ४ लाख २१ हजार यात्रु बोक्यो



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फ आर्थिक वर्ष २०७३/७४ मा ४ लाख २१ हजार ९ सय २७ यात्रुलाई सेवा दिएको छ ।

निगमले ३ हजार ३ सय ५८ उडानमार्फत उक्त संख्यामा हवाई यात्रुलाई सेवा दिएको हो । जुन गत आर्थिक वर्ष ०७२/७३ को भन्दा ७७ हजार ३ सय ८७ ले बढी हो ।

सो वर्ष निगमले २ हजार ७ सय ३६ उडानमार्फत् ३ लाख ४४ हजार ५ सय ४० यात्रुलाई सेवा दिएको थियो । ३ वर्षअघि आव २०७१/७२ मा १ हजार ५ सय ५९ उडानमार्फत् २ लाख १९ हजार यात्रुलाई सेवा दिएको थियो ।

३ वर्षको अवधिमा निगमले अन्तर्राष्ट्रिय हवाई यात्रुको संख्या दोव्वरले बृद्धि गरेको हो ।

निगमले २७ वर्षपछि एयबरस ३२०-२०० सिरिजका दुई थान न्यारोवडी जहाज खरिद गरेर उडान सुरुगरेसंगै अन्तर्राष्ट्रिय यात्रु सेवामा उल्लेख्य बृद्धि गरेको निगमका प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए । सन् २०१६ मा निगमले २६ एयरलाइन्सलाई पछि पार्दै पहिलो समेत भएको थियो ।

‘यसवर्ष पनि निगम पहिलो हुन्छ, त्यो मात्रै नभएर वाईडबडी जहाज नेपाल आएपछि हवाई यात्रु संख्या उल्लेख्य हुने छ,’ कंसाकारले क्लिकमाण्डूसँग भने ।

निगमको बजार हिस्सा ५ प्रतिशतबाट १२ प्रतिशत पुगेको उल्लेख गर्दै कंसाकारले २ वाईबडी जहाज पश्चात १७ प्रतिशत बजार हिस्सा पुग्ने दाबीसमेत गरे ।

निगमले वाईडबडी जहाज एयरबस ३३०-२०० सिरिजको जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ । निगमले एक वर्ष भित्र २ थान वाईडबडी जहाज नेपाल भित्र्याउने छ । जसको लागि पहिलो किस्ता वापतको ८ अर्व रुपैयाँ रकम समेत पठाई सकेको छ । हाल निगमले दुई थान एयरबस ३२०-२०० सिरिज र एक थान बोईङ ७५५ जहाज ९ अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ ।

निगमले कागोतर्फ पनि आब २०७३/७४ मा ११ लाख २६ हजार ३ सय ७ के.जी कार्गो ढुवानी गरेको छ । गत आब २०७२/७३ मा १० लाख ८० हजार ६ सय २५ लाख के.जी कार्गो ढुवानी गरेको छ थियो । गत आब २०७१/७२ मा ८ लाख ६३ हजार ५ सय ३७ लाख के.जी कार्गो ढुवानी गरेको थियो ।

आन्तरिकतर्फ पनि झन्डै ७० हजार यात्रु

आर्थिकवर्ष २०७३/७४ मा आन्तरिक तर्फ ४ हजार ३ सय ५८ उडान मार्फत ६९ हजार ६ सय ७८ हवाई यात्रुलाई सेवा दिएको छ ।

गत आव २०७२/७३ मा ३ हजार १ सय ४९ उडान मार्फत ४२ हजार ३ सय ५ हवाई यात्रुलाई सेवा दिएको थियो । त्यसैगरी, गएको आव २०७१/७२ मा ३ हजार ५ सय ५१ उडान तर्फत ४६ हजार ९ सय ७४ यात्रुलाई सेवा दिएको छ ।

निगमले एमए-६० दुई थान र वाई १२ ई दुई थान तथा दुई थान ट्वीनटर जहाज मार्फत आन्तरिक गन्तव्यमा उडान भर्दैै आएको छ ।

त्यस्तैगरी आब २०७३/७४ मा आन्तरिक तर्फ ५५ हजार २ सय २८ के.जी कार्गो ढुवानी गरेको छ । त्यस्तैगरी गत आब २०७२/७३ मा ४३ हजार ६ सय ८७ केजी कार्गो ढुवानी गरेको थियो । भने गएको आब २०७१/७२ मा ६४ हजार ७ सय ७४ केजी कार्गो ढुवानी गरेको थियो ।


पुष्प दुलाल