यसरी उत्पादन गर्न सकिन्छ बजारलाई चाहिने क्षमतावान जनशक्ति



काठमाडौं । बेरोजगारी नेपालको प्रमुख समस्या हो । नेपालमा झण्डै ५० प्रतिशत जनसंख्या बेरोजगार रहेको बताइन्छ । तर, साक्षरता दर हेर्ने हो भने १५ देखि २४ बर्षका ९० प्रतिशत पुरुषहरु र झण्डै ८० प्रतिशत महिलाहरु साक्षर छन् ।

यसको मतलब पछिल्लो समयमा शिक्षामा पहुँच बढ्दै गए पनि सोहि अनुपातमा रोजगारी सृजना हुन सकेको छैन । यसको एउटा कारण देशमा प्रत्येक बर्ष श्रम बजारमा आउने युवा युवतीलाई रोजगारी दिन पुग्ने उद्योग धन्दा नखुल्नु हो ।

सँगसँगै बेरोजगारीको अर्को महत्वपूर्ण कारण भनेको रोजगारी दाताले चाहे अनुसारको सीप र योग्यता भएको ब्यक्ति श्रम बजारमा उपलब्ध नहुनु पनि हो । अर्थात्, रोजगारी दातालाई श्रम शक्तिको आवश्यकता त छ, र बजारमा श्रम शक्ति पनि उपलब्ध छ ।

तर, भएका श्रम शक्तिमा उसलाई चाहिने सीप र योग्यता भने छैन । यसै कारण पनि शिक्षामा पहुँचको बृद्धिका बावजुद सोही स्तरमा बेरोजगारीमा कमी आएको छैन ।

यो नेपालको मात्र नभएर नेपालजस्ता अन्य बिकासशिल राष्ट्रहरुको पनि साझा समस्या हो । त्यसैले पछिल्ला दिनहरुमा बजारलाई चाहिने शिक्षा र सीप बिकासका सन्दर्भमा नयाँ अवधारणाहरु बिकास हुन थालेका छन् ।

एसियाली बिकास बैंकले आयोजना गरेको ‘सन् २०१६ इन्टरनेशनल स्किल्स फोरम’मा यस्ता मोडलहरुका बारेमा छलफल भएका थिए । ती मध्ये ४ उत्कृष्ट मोडलहरु यहाँ प्रस्तुत गरिएका छन् ।

१. बिश्वबिद्यालय र उद्योगका तन्तुहरु जोड्नेः बिश्वबिद्यालयहरु भनेका ज्ञानका भण्डार नै हुन् । तिनीहरुले उच्चस्तरको सीप भएका जनशक्ति उत्पादन गर्नुका साथै बिभिन्न क्षेत्रमा नयाँ आबिष्कार पनि गर्छन् ।

त्यसैले उद्योगहरु र बिश्वबिद्यालयहरुलाई कुनै न कुनै मोडलमा जोड्न सके उद्योगका लागि चाहिने नयाँ आबिष्कारहरु, प्रबिधिको प्रयोग आदिमा ठूलो टेवा पु्ग्न सक्छ ।

बिश्वबिद्यालयहरुले अनुसन्धान, समुदाय परिचालन, नयाँ सोच र बस्तुको आबिष्कार, उत्पादकत्व बृद्धि गर्ने उपायको खोजीलगायत माध्यमबाट आर्थिक बिकासमा मद्दत पुर्याउन सक्छ ।
उदाहरणको लागि चीनमा माइक्रोसफ्टले बिभिन्न चिनियाँ बिश्नबिद्यालयका आइटी बिभागहरुसँग बिभिन्न खाले सम्झौता गरेको छ ।

२. पठन पाठनमा प्रबिधिको प्रयोगः इन्टरनेट, कम्प्युटर, ट्याब्लेट, स्मार्टफोनलगायत प्रबिधि र यन्त्रहरुको बिकासले पठन पाठनमा यसको अनिवार्यता स्थापित हुँदैं गएको छ ।

बिश्वबिद्यालयहरुले प्रयोग गर्दै आएको ‘इ–लर्निङ’ले पछिल्लो समय गम्भिर बिषयबस्तुको पठनपाठन र बिद्यार्थीहरुको ध्यान खिच्नलाई मद्दत पुर्याउँदै आएको छ । साथै, यस्तो प्रबिधिले बिद्यार्थीहरुले बिश्वको जुनसुकै कुनाबाट अध्ययन गर्न र बिख्यात बिज्ञहरुसँग सम्पर्क गर्न सहज बनाएको छ ।

३. रोजगारदाताको सीप बिकासमा संलग्नताः काम र सीप बिकासको एकिकृत कार्यान्वयनको अवधारणाले पछिल्लो समय रोजगारदाताहरुलाई सीप बिकासमा आकर्षित गर्न थालेको छ । यस्तो प्रयासले ब्यवसायलाई चाहिने जनशक्ति बिकासलाई सुनिश्चित गरेको छ ।

एसिया र प्रशान्त क्षेत्रका सरकारहरुले उद्योग–ब्यवसायलाई सीप बिकासमा प्रभावकारी भूमिका खेलाउन र प्रतिस्पर्धी, उत्पादक र रोजगारीका लागि योग्य जनशक्ति निर्माण गराउन लागेका छन् ।

४. शिक्षा प्रदानका नयाँ उपायहरु खोज्नेः पठन पाठनमा नयाँ उपाय र प्रबिधिको प्रयोग गर्न सके योग्य जनशक्ति निर्माणमा धेरै मद्दत पुग्छ । इन्टरनेट र सूचना प्रबिधिको उदय पछि पठन पाठनमा नयाँ प्रबिधिको प्रयोग हुन थालेको पनि छ ।

अनलाइन कार्सलगायतले शिक्षमा पहुँचको बृद्धि र खर्च पनि कम गराइरहेकै छ ।


पुष्प दुलाल