कुलमानले गरे अर्को चमत्कार निरन्तर घाटामा गएको प्राधिकरण नाफामा




काठमाडौं । कुलमान घिसिङ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बनेर आएपछि उपत्यकामा लोडसेडिङको अन्त्य भयो । काठमाडौं उपत्यकाका बाहिर केही स्थानमा अहिलेपनि लोडसेडिङ भएपनि काठमाडौंमा भने लोडसेडिङ हुन छाड्यो ।

प्राधिकरण अन्तर्गतको चिलिमेलाई सफलता पूर्वक चलाएका घिसिङ आएपछि सधै घाटामा जाने विद्युत् प्राधिकरण नाफामा गएको छ । विद्युत् प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ४० करोड नाफा गर्यो ।

विद्युत् प्राधिकरणले धेरै वर्षपछि गत आर्थिक वर्षमा नाफा गर्न सफल भएको हो । गतवर्ष प्राधिकरणले विद्युत् बिक्रीबाट ५० अर्ब रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष विजुली बिक्रीबाट ३५ अर्ब कमाएको थियो । एकवर्षको अवधीमा विजुली बिक्री हुने आम्दानी प्राधिकरणले १५ अर्ब रुपैयाँले बढाएको छ ।

प्राधिकरणले गतवर्ष विद्युत् खरिद र कर्मचारीको तलबमा ४५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ । अघिल्लो वर्ष यस्तो खर्च ३६ अर्ब ८ करोड थियो । एक वर्ष अगाडि आम्दानीभन्दा १ अर्ब बढी खर्च गरेको प्राधिकरणले एकवर्षको अवधीमा आम्दानीसँग खर्च बढेपनि नाफामा गएको छ ।

प्राधिकरण गतवर्ष नाफामा गएपनि अहिलेपनि यसको सन्चिती नोक्सानी ९७ करोड ८९ लाख रहेको छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रहेको थियो ।

प्राधिकरणले गतवर्ष भारत र निजी क्षेत्रलाई विद्युत् खरिद वापत २८ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको छ ।


क्लिकमान्डु