काउप्याथीबाट यसरी कमाउन थालिसके छिमेकी, हामी भने मन्त्री उत्पादनमै ब्यस्त




घर–आँगन र चुलो–चौको लिपपोत गर्न गाइको गोबर र बिभिन्न कर्मकाण्डमा ‘चोखो बस्तु’ गाईको गहुँतको प्रयोग नेपालमा परम्परागत रुपमा हुँदै आइरहेको छ ।

प्राचिन ग्रन्थहरुमा पनि गाईका मलमुत्र र दुग्धजन्य उत्पादनको गुणका बारे प्रशस्त चर्चा भएको पाइन्छ । तर, र्दुभाग्य नेपालमा त्यसको बैज्ञानिक अध्ययन अहिलेसम्म हुन सकेन । बरु, घरका ढाँचा र बनाउने बस्तुहरुमा ब्यापक परिवर्तन आयो । र, गोबरको ठाँउ अन्य आयातित रसायनहरुले लिए ।

तर, भारतमा भने एकजना युवा उद्यमीले यो क्षेत्रमा सफलता हासिल गर्दै गइरहेका छन् । उनले गाईको गोबर, गहुँत, घ्यु आदिको प्रयोगद्धारा साबुन, दन्तमञ्चन, फ्लोर क्लिनर र अन्य औषधीहरुको उत्पादन गर्दै आएका छन् ।

कम्पनीको तामिलनाडु, कर्नाटका, गुजरात, आसाम, पञ्जाब र हरियाणामा गरेर ६ वटा राज्यमा बितरकहरु छन् । कम्पनीले आफ्ना कच्चा पदार्थका रुपमा रहेका गोबर, गहुँत आदिको आपूर्ति भने देशका बिभिन्न भागमा छरिएका गाईगोठहरुबाट गर्ने गरेको छ ।

तपाईंले परम्परागत पुर्वीय स्वास्थ्य बिज्ञान ‘आयुर्वेद’का बारेमा त सन्नुभएकै छ । त्यसपछि ‘पर्सो–अरेबिक’ स्वास्थ्य बिज्ञान ‘उनानी’ र पछिल्लो समय ‘होमोप्याथी’का सम्बन्धी कुराहरु पनि तपाईंको कानमा ठोक्किन आइपुगेकै होलान् ।

अब भने ती उद्यमी युवाद्धारा सृजित ‘काउप्याथी’को बारेमा सुन्न तयार बस्नुहोस् ।

यो एउटा नितान्त नयाँ मेडिकल प्रणाली हो । भारतको मुम्बईमा आधारित काउप्याथी नामक कम्पनीले गाई (जसबाट नै काउप्याथी नाम जुरेको हो) बाट मेडिकल र अन्य उपभोग्य बस्तुहरुको उत्पादन शुरु गरेको छ । यसका लागि गाईको गोबर, गहुँत, घ्युलगायत बस्तुहरुको प्रयोग हुने कम्पनीका अधिकारीहरु बताउँछन् ।

नेपालमा पनि परम्परागत रुपमा गोबरले घर लिप्ने, गहँुतले केटाकेटीलाई नुहाउने आदि गरिदैं आएको हो । तर, यसको उल्लेख्य बैज्ञानिक अध्ययन भने भएन । कतै काउप्याथीका प्रर्बतकहरुले बैज्ञानिक अध्ययनबाट भर्खरै पत्ता लगाएका गाईका मेडिकल संभावनाहरु हाम्रा पुर्खाहरुले शताब्दीऔं अघि नै चाल पाइसकेका थिए कि ?

मन्त्री मात्र उत्पादन गर्न तल्लीन नेपाल राज्यले कुनै अन्य उत्पादनका लागि अध्ययन गर्न फुर्सद पाउने कुरै भएन । हालै ‘उत्पादित’ ५० जना मन्त्रीहरु त्यसैको पछिल्लो कडि हो । अति शिक्षा, संस्कृति, रितिरिवाज आदिको चङ्गुलमा फसेर उद्यमशीलतालाई ‘पाप’ बराबर ठान्ने जनताले पनि यसमा चासो दिने कुरा भएन ।

उता, काउप्याथीले भने गाईको मलमुत्रबाटै साबुन, दन्तमञ्जन, भुईं सफा गर्ने केमिकल, कपालमा लगाउने तेल, सेभिङ क्रिम, फेसवास आदि बनाउँदैं आएको छ । साबुन गोबर र अन्य बस्तुहरुको प्रयोगबाट बनाइने गरेको कम्पनीले जनाएको छ । दन्तमञ्जन भने गहुँत, घ्यु र गोबरबाट बनाइन्छ । अहिले भने कम्पनी अन्य कस्मेटिक्स र औषधीजन्य उत्पादनका लागि ‘लाइन’ तयार पार्दैछ ।

‘भारतीय ग्रन्थहरु, बिशेष गरी वेदमा गाईको गोबर र गहुँतमा हुने औषधीजन्य गुणका बारे चर्चा गरिएको छ,’ काउप्याथीका संस्थापक एवं प्रमख कार्यकारी उमेश सोनी बताउँछन् । गोबरमा ब्याक्टेरिया प्रतिरोधक गुण अत्याधिक मात्रामा हुने उमेश बताउँछन् ।

३४ बर्षीय उमेशले आफुले बचत गरेको १० लाख भारुबाट सन् २०१२ मा काउप्याथीको स्थापना गरेका हु्न् । शुरुवाति समयमा उनको कम्पनीले गोबरबाट बनाइएको साबुनको मात्र बिक्री बितरण गर्ने गर्दथ्यो ।

माइक्रोबायोलोजी पढेका उमेश आफ्नै ब्यवसाय शुरु गर्नुभन्दा पहिले ट्वाईलेटका सामान र कस्मेटिक्सहरुको निर्यात गर्थे । आफ्नै ब्यवसाय शुरु गर्ने निधो गरेपछि उनले उत्तरी मुम्बईको सानो टोलमा कारखाना स्थापना गरे । र, गोबरको साबुन बनाउन थाले । स्थापनाकालमा उनको कम्पनीको नाम ‘बायोब्लिस’ थियो, जसको सन् २०१६ मा नाम परिवर्तन गरेर उनले काउप्याथी बनाए ।

अहिले उनले गोबरबाट बन्ने साबुनको ‘प्याटेन्ट’ समेत दर्ता गराइसकेका छन् । अहिले उनको कम्पनीले मासिक ४५ हजार वटा साबुन बिक्री गर्ने थालिसकेकोे छ । ७५ ग्रामको साबुनको ३५ भारु पर्छ । साथै, अहिले उनको उत्पादन अमेरिका लगायत १३ देशमा निर्यात समेत हुन्छ ।

उनी ७५ भारुको दरले बार्षिक ५ हजार दन्तमञ्जन पनि बिक्री गरिरहेका छन् । ३५ भारु पर्ने फेसवास, १२५ भारु पर्ने फ्लोर क्लिनर र ११० भारु पर्ने हेयर आयलको पनि बिक्री राम्रै भइरहेको छ ।

कम्पनीका अनुसार साबुनमा २३ प्रतिशत गोबर र ७ प्रतिशत गहुँतको प्रयोग हुन्छ । यसैगरी दन्तमञ्जनमा गोबर र गहँुत दुवैका १०–१० प्रतिशत प्रयोग हुन्छ । फ्लोर क्लिनरमा ११ प्रतिशत गहँुतको प्रयोग हुन्छ ।

‘दुई बर्ष औषधी खाँदा पनि ठिक नभएको ‘इसिजिमा’ नामको छालाको रोग हाम्रो साबुन प्रयोग गरेपछि ठिक भएको ग्राहकहरुले बताउने गरेका छन्,’ उमेशको दाबी छ ।

हाल कम्पनीको तामिलनाडु, कर्नाटका, गुजरात, आसाम, पञ्जाब र हरियाणामा गरेर ६ वटा राज्यमा बितरकहरु छन् । कम्पनीले आफ्ना कच्चा पदार्थका रुपमा रहेका गोबर, गहुँत आदिको आपूर्ति भने देशका बिभिन्न भागमा छरिएका गाईगोठहरुबाट गर्ने गरेको छ ।

शुरुमा ‘ब्रेक इभन’का लागि नै निकै संर्घष गर्नुपरे पनि अहिले धेरै चेतना फैलिसकेको उमेश बताउँछन् । हाल उनको कामबाट प्रभावित भएर दुईजना लगानीकर्ता पनि भित्रिसकेका छन् ।


क्लिकमान्डु