राँगा पालेर महिनामा ९० हजार कमाइ



कञ्चनपुर । राँगा पालेर खेत जोत्ने हो, धेरै भए गाडा तान्ने हो । कमाइ भनेको खेतमा फलाएको अन्नबाली र गाडामा ढुवानी गरेर आउने आम्दानी होला भनेर अनुमान गर्र्दै हुनुहुन्छ भने तपाई गलत अनुमान गरिरहनुभएको छ ।

शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका नारायण रानाले पालेको राँगाले मासिकरुपमा  ९० हजार बढी कमाइ गर्दै आएको छ । भैँसीमा गर्भाधान गराएर मासिकरुपमा राँगाबाट रानाले आम्दानी गर्र्दै आएका छन् ।  दैनिक तीनवटा भन्दा बढी भैँसीमा राँगाले गर्भाधान गर्दै आएको छ ।

नगरपालिका क्षेत्रका अधिकांश भैँसीपालकले उन्नत नश्लको राँगा भएकाले रानाकहाँ ल्याउने गरेका छन् । एउटा भैँसीलाई गर्भाधान गराएबापत रानाले १ हजार लिने गर्छन् । उनले चार वर्षअघि ३५ हजारमा खरिद गरेको राँगाले मनग्य आम्दानी दिन थालेको छ ।

पाँचजना परिवारको लत्ताकपडा, खाद्यान्न र दैनिक खर्च राँगाको कमाइले धानिँदै आएको रानाले बताए । राँगाको कमाइबाट आउने रकमले उनले रु दुई लाख खर्चेर घरमै किराना पसल खोलेका छन् । किराना पसल र राँगाको कमाइ गरी मासिकरुपमा एक लाखभन्दा बढी आम्दानी हुने गरेको राना बताए ।

राँगा पाल्नका लागि उनले एक बिगाहा खेत वार्षिकरुपमा २५ हजार तिर्ने गरी भाडामा लिई घाँसखेती गर्दै आएका छन् । राँगालाई तन्दुरुस्त पार्नका लागि दैनिक ब्रान, गुड, खली र भिटामिन घाँससँगै मिसाएर खुवाउने गरेका छन् ।

‘घरमै बसीबसी वैदेशिक रोजगारीमा गएकाहरुभन्दा बढी कमाइ हुन थालेको छु’, रानाले भने । राँगा नै आम्दानीको स्रोत भएपछि घरका सबैजना दैनिक राँगाको स्याहार सुसारमा खट्ने गरेका छन् । रासस


क्लिकमान्डु