के मात्रै गर्दा रहेनछन् ब्यापारी, यसरी पो ठगिइँदो रहेछ उपभोक्ता !



काठमाडौं । चाडबाड नजिकिएपछि प्रत्येक वर्ष सरकारले बजार अनुगमन गर्छ । गुणस्तर, मूल्य, तौललगायतमा उपभोक्ता नठगिउन भनेर सरकारले चाडबाडको समयमा बजार अनुगमनलाई तीब्र पार्दै आएको छ ।

अनुगमनका क्रममा कैफियत देखिएपछि सरकारले कानूनअनुसार कारबाहीसमेत गर्दै आएको छ । यद्यपि उपभोक्ता ठग्ने क्रम नियन्त्रण भएको छैन । बरु उल्टै बढिरहेको छ ।

यो वर्ष पनि सरकारले दशैं/तिहार र छठजस्ता पर्वलाई लक्षित गर्दै भदौको सुरुदेखि नै बजार अनुगमन गर्यो । सरकारी अनुगमन टोलीले कहाँ कहाँ अनुगमन गर्यो ? र, के कस्ता कैफियतहरु भेट्यो ? अनि कारबाही गर्यो कि गरेन ? यसको जानकारी दिने उद्देश्यले यो रिपोर्ट तयार पारिएको हो ।

आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागले बजार अनुगमन गर्दै आएका छन् । कतिपय अनुगमनमा भने आपूर्तिमन्त्री स्वयं पनि उपस्थित भएका थिए ।

कुन क्षेत्रमा कति अनुगमन ?

आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागका अनुसार विभागले भदौमा ४ स्थान (बसुन्धरा, गोंगबु, भैंसेपाटी, एकान्तकुना) का पेट्रोल पम्प, २ सय १ यातायात, ८५ वटा क्लिनिक तथा फार्मेसी, ५४ वटा माछा तथा मासु पसल, ७ वटा मिठाई पसलमा अनुगमन गरेको छ ।

त्यसैगरी, २३ वटा फलफूल तथा तरकारी पसल, २७ वटा निर्माण सामाग्री स्टोर, ९३ वटा खाद्य किराना पसल, ९ वटा क्यान्टीन, १० वटा मार्ट तथा खाद्य किराना पसल, १२ वटा सुपर मार्केट तथा ठूला स्वरुम र २ खानेपानी गरी ५ सय २६ स्थानमा पनि अनुगमन गरिएको छ ।

महिनाभरमा विभागले २०१ गाडीको अनुगमन गरेको थियो । जसमध्ये ७५ वटा गाडीलाई जरिवाना तिराएको र १ सय २२ वटा गाडीलाई सम्झाइ बुझाइ गरिएको विभागका निर्देशक लक्ष्मण श्रेष्ठले क्लिकमाण्डूलाई जानकारी दिए ।

त्यसैगरी, ५४ वटा माछा तथा मासुमा गरिएको छ । अनुगमनका क्रममा मासु खुल्लै राखिएको, माक्स, पन्जा तथा एप्रोनको प्रयोग नगरिएको, मूल्यसूचि नभएको तथा व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणिकरणको कागजातहरु नभएको फेला परेको श्रेष्ठले बताए ।

त्यस्ता पसलहरुलाई मूल्यसूचि बनाएर राख्न, सेतो माक्स, पन्जा तथा एप्रोन प्रयोग गर्न, जाली वा सिसाको फ्रेम बनाएर मासु छोप्न तथा व्यवसाय दर्ता, प्यान दर्ता र नापतौल प्रमाणिकरणको कागजातहरु ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, कालिमाटीको ७ वटा मिठाईमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता नविकरण नभएको, लेवल नभएका खानेकुरा विक्री वितरण गरिएको, सरसफाइ नभएको, मूल्यसुची नभएको, प्यान दर्ता र नापतौल प्रमाणीकरण नभएको भेटिएको विभागले जनाएको छ ।

ती पसलहरुलाई सरसफाईमा विशेष ध्यान पुराउन, मूल्यसूचि राख्न, खानेकुरालाई रङ्गिन कागजले नछोप्न, लेव नभएका खानेकुरा बिक्री वितरण नगर्न, व्यवासय दर्ता नविकरण र प्यानल दर्ता गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

त्यस्तै, २३ वटा फलफूल तथा तरकारी पसलमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण नभएको, कुहिएका तथा सडेका तरकारी विक्रीका लागि राखिएको, व्यापार दर्ता नविकरण नभएको भेटिएको थियो ।

यी तरकारी तथा फलफूल पसलहरुलाई व्यवसाय दर्ता, प्यान दर्ता, नापतौल प्रमाणीकरण गर्न, कुहिएका तथा सडेका तरकारी विक्री वितरणमा नराख्न, प्यान दर्ता नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गरी ७ दिन भित्र विभागमा पेश हुन निर्देशन दिइएको छ ।

त्यस्तै २३ वटा निर्माण सामाग्री पसलहरुमा पनि अनुगमन गरिएको छ । जसमा मूल्यसूचि नभएको, रड जोड्ने मेशिन नभएको, व्यवसाय दर्ता नविकरण नभएको, नापतौल प्रमाणीकरण नभएको, व्यवसायको पुँजी कम भएको भेटिएको छ ।

सगरमाथा, सोना, यूनाइटेड, अर्घाखाची, वृज, शिवम्, निर्माण र भवानी सिमेन्टको नापतौल गर्दा दुरुस्त रहेको पाइएको विभागले जनाएको छ ।

यी निर्माण सामाग्री भएका पसलहरुलाई रड जोख्नको लागि क्षमता अनुसारको तौलने मेशिन राख्न, मूल्यसूचि बनाएर राख्न, व्यवसाय दर्ता नविकरण तथा नापतौल प्रमाणीकरण गर्न, व्यवसायको पुँजी वृद्धि गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी ०७४ साउन १६ गते अनुगमन गर्दा एडभान्स पावर सिमेन्टको गोदाममा शिल लगाइएको थियो । ०७४ भदौ ५ गते तौल घटीबढी भएको ३८ बोरा सिमेन्ट बिक्री वितरणमा रोक लगाउँदै बाँकी सिमेन्ट बिक्री वितरणको लागि फुकुवा गरिएको थियो ।

त्यस्तै ३५ वटा पेट्रोलियम पदार्थ विक्री वितरण गर्ने स्थानहरुमा गरिएको अनुगमनका क्रममा लेबल नभएको तारपिन तेल रहेको, मूल्यसूचि नभएको तथा नापतौल प्रमाणीकरण नभएको, १÷१ वटा पेट्रोल र डिजेलको नोजल जाँच गर्दा डिजेलको नोजल मापदण्ड अनुसार नभएको र पेट्रोलको नोजल मापदण्ड अनुसार नभएको फेला परेको छ ।

ललितपुर र काठमाडौंका यी आयल डिष्ट्रिब्यूटर्सहरुलाई तारपिन तेलमा लेबल राखेर मात्र विक्री गर्न, ३ दिनभित्र मूल्यसुची बनाएर राख्न, नापतोल प्रमाणीकरण नभएको इलेक्ट्रनापतौल मेशिन जफत गरी नापतौल विभाग पठाइएको छ । पेट्रोलको नोजल मापदण्ड अनुरुपको नभएकोले हाललाई कारोबार रोक्का गरिएको विभागले जनाएको छ ।

अनुगमन गरिएको ३५ वटा मध्ये १३ वटालाई पेट्रोल पम्पलाई जरिवाना गरिएको र २२ वटा पेट्रोल पम्पलाई सम्झाइबुझाइ गरिएको छ ।

शंकास्पद खाद्यसामाग्री परिक्षणमा लगियो

त्यस्तै डेरी मिल्क चक्लेट १ सय ३६ ग्रामको १ थान र डेरी मिल्क चक्लेट २५ ग्रामको २ थान, डेरी मिल्क २ सय ग्राम ३ प्याकेट, म्याद नाघेको ब्रिटानीया बिस्कुट २ सय ग्रामको १८ प्याकेट, डाइजेस्टीभ बिस्कुट २ सय ५० ग्रामको १७ प्याकेट, मिल्कीबार १४ ग्रामको १८ प्याकेट, पानीपुरी मसला ५० ग्रँमको ४ प्याकेट, पानपराक ८ सय ९० ग्रामको १ प्याकेट नमुना परीक्षणका लागि लगिएको छ ।

अस्पतालको क्याण्डिङ फोहोर

यसैगरी अनुगमनकै क्रममा अन्तराष्ट्रियमैत्री बाल अस्पताल क्यान्टीन मिति २०७४ साउन २६ गते व्यवसाय दर्ता नभएको र म्याद नाघेको सामान भेटीयकोले शिल गरिएकोमा मिति २०७४ भदौ ४ गतेगरिएको अनुगमनका विभागले शिल खोलेको छ । यो क्यानटीनलाई ७ दिनभित्र व्यावसाय दर्ता नविकरण गरी ७ दिनभित्र विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

काठमाडौंका ९ वटा क्यान्टीनहरुमा लेबल नभएका सामानहरु पाइएको, कामदारहरुलाई माक्स, पन्जा तथा एप्रोनको प्रयोग नगरेको, प्यान दर्ता नभएको र कलेजसँगको सम्झौतापत्र नभएको फेला परेको छ ।

यी क्यान्टीनहरुलाई कामदारहरुलाई माक्स, पन्जा तथा एप्रोनको प्रयोग गर्न लगाउन, सरसफाईमा विशेष ध्यान दिन, विर्को भएको डष्टविन प्रयोग गर्न तथा लेबल नभएका सामानहरुको प्रयोग नर्गन, प्यान दर्ता र कलेजसँगको समम्झौतापत्र ७ दिन भित्र पेश गर्न निर्देशन दिइएको छ ।

क्लिनिकमा औषधिको रेकर्ड छैन

८५ वटा क्लिनिक तथा फार्मेसीको अनुगमनका क्रममा जिल्ला जनस्वास्थ्य कार्यलयबाट क्लिनिक नविकरण नभएको, डिडिएको फर्मेट अनुसारको विल नभएको, व्यवसाय दर्ता तथा प्यान दर्ता नभको र औषधीका रेकड दुरुस्त नभएको पाइएको छ ।

यी क्लिनिक तथा फार्मेसीहरुलाई डिडिएको फर्मेट अनुसार विल बनाइ नमुना तथा जिल्ला जनस्वास्थ्य कार्यलयबाट क्लिनिक नविकरण गर्न र औषधी रेकड दुरुस्त बनाइ ७ दिन भित्र आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

म्याद नाघेका खाद्य सामाग्री

१० वटा मार्ट तथा खाद्य किरानाहरुमा गरिएको अनुगनमका क्रममा ठूला परिमाणमा म्याद नाघेका सामानहरु भएको तथा व्यासाय दर्तासँग सम्बन्धित कागजातहरु देखाउन नसकेको पाइएको छ ।

यी पसलहरुलाई के कति कारणले ठूलो परिमाणमा म्याद नाघेका सामानहरु भएको हो सो को स्पष्टीकरण र व्यवसाय दर्तासँग सम्बन्धित कागजातहरु ३ दिन भित्र यस विभागमा पेश गर्न निर्देशन दिइएको छ ।

९३ वटा खाद्य किराना पसलहरुमा अनुगमनका क्रममा साधा विलको प्रयोग गरेको, म्याद नाघेका सामानहरु विक्री गरेको, नापतौल प्रमाणीकरण नभएको, कुहिएको फलफूल र तरकारी बिक्री गरेको, मूल्यसूचि नभएको र व्यावसाय दर्ता, प्याज दर्ता नभएको भेटिएको छ ।

यी किराना पसलहरुलाई के–कति कारणले साधा बिलको प्रयोग गरिएको हो जवाफसहित ३ दिनभित्र विभागमा उपस्थित हुन, म्याद नाघेका सामानहरु बिक्री वितरण नगर्न निर्देशन दिइएको छ ।

म्याद नाघेकालाई जलाइयो

सअनुगमनकै क्रममा भेटिएका म्याद नाघेकाले सेन्चुरी मसला १०० ग्रामको २ प्याकेट, जल जिरा मसला ५० ग्रामको ३ प्याकेट, फोस मसला ५० ग्रामको ४ प्याकेट, कसेतुरी मसला २५ ग्रामको १ प्याकेट, यमरी मसला ५० ग्रामको ७ प्याकेट, रीहिनी मिर्च मसला १०० ग्रामको ३ प्याकेट, बटर क्रेक्रर २०० ग्रामको २ प्याकेट, ग्लुकोज बिस्कुट ४०० ग्रामको ११ प्याकेट, मसरुम ४०० ग्रामको ८ प्याकेट जलाएर नष्ट पारिएको छ ।

त्यसैगरी, रेड किनी विन्स ४०० ग्रामको ३ प्याकेट, ग्लुकोज ५०० ग्रामको १० प्याकेट, केक १५० ग्रामको ५ प्याकेट, टप बिस्कुट २४० ग्रामको २ प्याकेट, कर्न फ्लेक्स ३०० ग्रामको १ प्याकेट, पार्ले जि बिसक्ट १०५ ग्रामको १ प्याकेट, दिल सुस पापल २०० ग्रामको २ प्याकेट, ४०० ग्रामको १ प्याकेट, स्निकर चकलेट ५० ग्रामको १७ वटा, ३२ ग्रामको १९ वटा, सेन्चुरी चाट मसला ५० ग्रामको ५ प्याकेट, १०० ग्रामको ५ प्याकेट र करी पाउडर ५० ग्रामको ८ प्याकेट पनि जलाएर नष्ट गरिएको छ ।

यस्तै म्याद नाघेको टम एम पास्ता १ केजीको १ बट्टा, म्याद नाघेको चाउमिन ५ प्याकेट, कोक २.२५ एमएलको १० बोतल, स्प्राइट २.२५ लिटरको ४ बोतल, किल्ने सोठा ५ सय एमएलको ३० बोतल, माजा जुस १ सय २५ एमएलको ४ बप्याकेट, सडेको कुखुराको मासु १ केजी, म्याद नाघेको बेसन १ के.जीको ५ प्याकेट, ब्रेडकम पाउडर ५ सय ग्रामको ४ प्याकेट, फुड कलर ३ बट्टा, रेड करी पेष्ट १ के.जीको १ प्याकेट, पास्ता २ सय ग्रामको १ प्याकेट ग्राीन करी पेष्ट ४ सय ग्रामको १ प्याकेट र रियल जुस १ लिटरको ४ प्याकेट नष्ट गरिएको छ विभागले जनाएको छ ।

साथै फ्यान्टा ६ सय एमएलको २१ बोतल, माजा ६ सय एमएलको ७ बोतल, सेभेन अप ६ सय एमएल को २ बोतल, स्प्राइट ६ सय एमएल ४५ बोतल, १ लिटर स्प्राइट ९ बोतल, कोकाकोला ६ सय एमएल ७ बोतल नष्ट गरिएको , डेरी रिच मल्कि २ सय ग्रमक म्याद नाधेको नष्ट गरिएको आपूर्ति व्यवस्थापन तथा उपभोत्ता हित संरक्षण विभागका निर्देशक श्रेष्ठले बताए ।

खानेपानीमा लेउ र फोहोर, १३ जार नष्ट

यसैगरी काठमाडौंको २ खानेपानीमा गरिएको अनुगमनका क्रममा चुहिएको पाईपको मर्मत नभएको, ०७४ असार मसान्ण्त सम्मको नविकरण नभएको, अनुज्ञापत्र नभएको, प्रशोधन कक्षमा लेउ लागेको, भित्तामा फोहो भएको, सरसफाइ नभएको, आन्तरीक गुणस्तरको रेकड नभएको र व्यवसाय दर्ता अनुसारको साइन बोर्ड नभएको फेला परेको छ ।

यी पानी उद्ययोगहरुलाई चुहिएको पाईपको मर्मत गर्न, कामदारलाई टोपी, माक्स, एप्रोनको गर्न लाउने, २०७४ असार मसन्त सम्मको नविकरण भएको अनुज्ञा पत्र गर्न निर्देशन दिइएको छ ।

प्रशोधन कक्षमा लेउ लागेको, भित्ताको सरसफाई गर्ने, सरसफाईमा विशेष ध्यान दिने, दर्ता अनुसारको साईनवोर्ड वनाउने र पानीको आन्तरिक गुणस्तरको परीक्षण गरेको रेकड ३ दिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा र आपूर्ति विभागमा पेश गर्ने निर्देशन दिईएको छ ।

प्रयोग गर्न नमिल्ने १३ वटा जार नष्ट गर्नुका साथै नमुना परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको छ ।

दरबारमार्गका व्यापारीले बिल देखाउन सकेनन्

दरवारमार्गका १२ वटा सुपर मार्केट तथा ठूला स्वरुमहरुमा गरिएको अनुगमनका क्रममा व्यवसाय दर्ता सम्बन्धि कागजातहरु तथा खरिद बिक्री विल देखाउन नसकेको पाइएको छ ।

त्यतिमात्रै होइन, व्यसाय संचालनको कुनै पनि कागजातहरु देखाउन नसकेको र विक्रीमा राखिएको सामानहरुको मूल्य अत्याधिक वृद्धि गरेको पनि पाइएको छ । यी पसलहरुलाई व्यवसाय दर्ता सम्बन्धि कागजातहरु तथा खरिद बिक्री विल देखाउन नसकेकोले सिलबन्दी गरिएको थियो ।

व्यवसाय दर्ता सम्बन्धित कागजातहरु र खरिद बिक्री बिलसहित ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको थियो ।


पुष्प दुलाल