विदेशको कमाइले स्वदेशमा समाजसेवा, १० वर्षमा डेढ करोड बढी सहयोग



तेह्रथुम । तेह्रथुमको सोल्मामा जन्मिएर हाल अष्ट्रेलियामा कार्यरत राधिका पोखरेलले जन्मभूमिको सेवाका लागि डेढ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन् ।

सानै उमेरदेखि गीत-संगीत र समाजसेवामा रुचि राख्ने पोखरेलले अष्ट्रेलियामा कमाएको पैसा जन्मभूमिको सेवामा खर्च गरिरहेका छन् ।

सामाजिक क्षेत्रमा सहयोगकै लागि करिब एक दशकको अवधिमा डेढ करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको पोखरेलले बताए ।

आर्थिक अवस्था कमजोर भएकालाई उपचार, विपन्न र अनाथ बालबालिकाको पढाइ, छात्रवृत्ति पुरस्कारका लागि अक्षय कोषदेखि खेलकुद, मेला महोत्सवलाई समेत पोखरेलले आर्थिक सहयोग गर्छन् ।

जिल्ला अस्पतालमा मृत्यु भएका, मृत्यु भएर पोष्टमार्टमका लागि ल्याइएका अतिविपन्न, अनाथहरुलाई दाहसंस्कार र परीक्षणका लागि खर्च रु पाँच हजार सहयोग गर्दै आएका छन् ।

उनले गाउँबस्तीका गरिब दुःखीलाई मात्र सहयोग गर्नुभएको छैन, नेकपा ९एमाले० का नेता स्व जीवराज आश्रितकी पत्नी माया ज्ञवालीलाई छहारीसमेत लगाइदिएका छन् ।

आश्रितको मृत्युपछि एक्लिएकी मायालाई सुरक्षित बासका लागि घर निर्माण गर्न पोखरेलले व्यक्तिगतरुपमा २७ लाख रुपैयाँ सहयोग गरेका छन् ।

आफूले कमाएको सम्पत्तिको केही अंश समाजसेवामा खर्च गरे शान्तिको श्वास फेर्न सजिलो हुने पोखरेलको भनाइ छ ।

उहाँले रेडियो मेन्छ्यायेम भवन निर्माणका लागि रु दुई लाख, पतालेश्वर महादेव मन्दिर निर्माणका लागि १० लाख, पिंगुवा खोला नजिकै मलामी पाटी तथा खाजाघर निर्माणका लागि ५ रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।

पोखरेलले जिल्लाको पत्रकारिताको विकासदेखि नेपाल पत्रकार महासंघ, तेह्रथुम शाखामा रु एकलाख एकहजार १११ को अक्षयकोष स्थापना गरेका छन् ।

उनले आफूले पढेको रत्न मावि, सोल्मामा रु दुई लाख एकहजार १११ र कालिका मावि जिरीखिम्तीमा रु दुईलाख एक हजार १११ को छात्रवृत्ति अक्षयकोष पनि खडा गरेका छन् ।

यस्तै, झापा माईधारको वृद्धाश्रमलाई १ लाख ५० हजार रुपैयाँ, म्याङ्लुङका अग्निपीडितलाई १ लाख र रेडक्रस जिरीखिम्तीको भवन निर्माणका लागि रु एक लाख नगदै सहयोग गरेका छन् ।

पोखरेलले जिल्लामा हुने करिब एक दर्जन खेलकुद कार्यक्रममा वर्षेनी पुरस्कार प्रायोजन गरेर सहयोग पुर्याएका छन् ।

सोल्माकी पदमकुमारी गुरुङलाई आँखा उपचारका लागि पोखरेलले ७५ हजार रुपैयाँ सहयोग गरे । अहिले गुरुङ आँखा देख्नसक्ने भएकी छन् ।

मोराहाङको सिद्धेश्वर माविमा पढ्ने विद्यार्थी सुरेश खत्रीको ढाडमा पलाएको मासुको पोकोको शल्यक्रियाका लागि पोखरेलले ५० हजार सहयोग गरेका थिए ।

करेन्ट लागेर घाइते सोल्माका नरसिंह लिम्बूलाई उपचारका लागि रु २० हजार, सुदापका मिर्गौला पीडित नगेन्द्र घोर्सानेलाई रु २० हजार, सुङ्नामकी सावित्रा संग्रौलालाई रु २० हजार, हमरजुङका पेटका रोगी धनबहादुर बुढाथोकीलाई रु २० हजार सहयोग गरेको पोखरेलले बताए ।

पोखरेलले हमरजुङका झुप्पबहादुर रोकाको साहुकहाँ बन्धक रहेको खेत उकास्न रु २१ हजार सहयोग गरे ।

यस्तै, म्याङ्लुङ र जिरीखिम्ती क्याम्पसलाई रु एक–एक लाख, सिन्धुपाल्चोकमा मन्दिर निर्माणका लागि रु तीन लाख, पेण्टागन कलेज, काठमाडौँलाई रु ५० हजार सहयोग गरेका छन् ।

अब छिट्टै सदरमुकाम म्याङ्लुङमा एउटा बाल तथा वृद्ध आश्रम खोल्ने आफ्नो लक्ष्य रहेको पोखरेलले बताए । आश्रमका लागि रु ६५ लाखमा पाँच रोपनी जमिनसमेत खरिद गरिएको छ ।

‘समाजसेवा मेरो रुचि हो, म रहुन्जेल गरिरहन्छु,’ उनी भन्छन् ‘‘सबैले आफूले कमाएको केही प्रतिशतमात्रै समाजसेवामा खर्च गर्ने हो भने धेरैको उद्धार गर्न सकिन्छ ।’

अष्ट्रेलियामा कार्यरत पोखरेलले सञ्चार माध्यमबाट आउने विभिन्न समाचारका आधारमा पीडितलाई सहयोग गर्ने गरेको बताए ।

जिल्लामा उनको सम्पर्क व्यक्तिका रुपमा पत्रकार भगिश्वर लिम्बू क्रियाशील छन् । पोखरेलले सामाजिक क्षेत्रको सेवाकै लागि करोडौं रुपैयाँ खर्च गरेर धन हुने अरुहरुलाई पनि प्रेरित गर्नुभएको पत्रकार लिम्बूले बताए । रासस


पुष्प दुलाल