ललितपुर महानगरले साझाको १ करोडको सेयर किन्ने



काठमाडौं । ललितपुर महानगरपालिकाले साझा यातायातको १ करोड रुपैयाँ मूल्य बराबरको सेयर खरिद भएको छ । महानगरपालिकाले ललितपुरमा साझाका बस संचालन गर्नका लागि १ करोड रुपैयाँको सेयर खरिद गर्ने भएको हो ।

महानगरपालिकाका प्रवक्ता राजु महर्जनले साझा यातायातको १ करोड रुपैयाँ बराबरको सेयर खरिद गर्न लागिएको जानकारी दिए ।

‘बुङमति र हरिसिद्धिमा साझाका गाडी संचालन गर्नका लागि सेयर खरिद गर्न लागिएको हो,’ महर्जनले क्लिकमाण्डूसँग भने ।

ललितपुरमा साझाको बस पहिलेदेखि संचालनमा छ । ललितपुरका बासिन्दाले सहज रुपमा सार्वजनिक यातायातको उपयोग गर्न सकुन भनेर साझाको सेयर खरिद गर्न लागिएको महर्जनले बताए ।

महागरपालिकाले साझाको १ करोड रुपैयाँ बराबरको सेयर खरिद गरेपछि साझामा स्थानिय तहको १६ करोड रुपैयाँ बराबरको सेयर हुन्छ । यसअघि नै साझा यातायातमा काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर कायम छ ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले आइतवार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकालाई १ करोड रुपैयाँ बराबरको सेयरधनी प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।

गत असार १३ गते काठमाडौं महानगरपालिकाले साझाको ५ करोड रुपैयाँ बराबरको सेयर बस खरिद गर्न भनेर किनेको थियो । काठमाडौंको ५ करोड रुपैयाँ र ललितपुरको १ करोड रुपैयाँसहित साझासँग बस खरिदका लागि मात्रै ६ करोड रुपैयाँ रहेको छ ।

सो रकमबाट साझाले २० वटा नयाँ बस थप गर्ने अधिकृत पाण्डेले जानकारी दिए ।


क्लिकमान्डु