१३ लाख अमेरिकी डलरको अबैध बिटक्वाइनको कारोबार गर्ने ७ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआइबी) ले बिटक्वाइनको अबैंध कारोबार गर्ने ७ जनालाई पक्राउ गरेको छ । ब्यूरोले उनीहरुलाई बुधबार साँझ पक्राउ गरेको हो।

दुई साता लामो अनुसन्धानपछि प्रहरी बिटक्वाइनको कारोबारीलाई पक्राउ गर्न सफल भएको हो । प्रहरीले नेपालमा बिटक्वाइनको कारोबारीलाई पहिलोपटक पक्राउ गरेको हो ।

काठमाडौंका प्रशान्त प्रताप शाह र दमन बस्नेत नुवाकोटकी विन्दा ढकाल, सिन्धुपाल्चोकका मिङ्मार तामाङ, सिन्धुलीका ज्ञानप्रसाद पौडेल, अर्घाखाँचीका माधव खनाल, र रुपन्देहीका मनिष कुमार गिरी पक्राउ परेका छन् ।

प्रहरीका अनुसार नेपालमा सन् २०१३ देखि बिटक्वाइन कारोवार सुरु भएको हो । विश्व बजारमा सबैभन्दा महंगो मुल्यमा बिटक्वाइन पर्छ ।

सुरुमा १० सेन्ट पर्ने एउटा बिटक्वाइनको अहिले नेपालमा ४३९३ डलर पर्ने प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाल राष्ट्र बैक ऐन २०५८ अनुसार नेपालमा भने यो कारोबार गैरकानुनी मानिन्छ। तर, विश्वका केही देशहरुले भने बिटक्वाइनको कारोबारलाई कानूनी मान्यता दिएका छन् ।

भर्चुअल करेन्सी बिटक्वाइन अहिले अत्याधिक माग हुने अभौतिक मुद्रामा पर्छ । विश्वका केन्द्रीय बैंकले यसलाई चुनौतीको रुपमा लिएका छन् ।

राष्ट्र बैंकले नेपालमा विदेशी विनिमय ऐन अनुसार बिटक्वाइनको कारोबार गर्नु गैरकानूनी भनेको छ। आजको दिनमा १ बिटक्वाइनको मुल्य ४ लाख छ । कुनैबेला १०० रुपैयाँपनि नपर्ने बिटक्वाइनको अत्याधिक माग रहेको छ।


क्लिकमान्डु