बाढी पीडित किसानले १ अर्ब २५ करोड रुपैयाँ पाउने (विवरणसहित)



काठमाडौं । सरकारले बाढी पहिरोबाट पीडित किसानलाई राहत दिन १ अर्ब २५ करोड रुपैयाँ वितरण गर्ने भएको छ ।

अर्थ मन्त्रालयले उक्त परिमाणको रकम कृषि विकास मन्त्रालयलाई विनियोजन गरेको छ ।

बाढी पहिरो लगत्तै मन्त्रालयले गरेको अध्ययनमा झण्डै ६ अर्बको क्षति भएको पाइएको थियो ।

मन्त्रालयकाअनुसार बाढी पहिरोका कारण ५ अर्ब ८४ करोड ९० लाखको क्षति भएको थियो । त्यसमा पशु चौपायाँ, माछा, तरकारी अन्य कोशेबाली तथा भौतिक संरचानको क्षति अध्ययन गर्दा क्षति थप हुन सक्ने मन्त्रालयको भनाइ छ ।

क्षतिपछि आवश्यक नयाँ नीति तथा कार्यक्रम स्वीकृतिका लागि राष्ट्रिय योजना आयोगलाई समेत लेखी पठाइसकिएको मन्त्रालयको भनाइ छ ।

सरकारले बाढी प्रभावितलाई राहत तथा पुनः स्थापनाका लागि छुट्टै संरचना बनाउने बताएपनि हालसम्म त्यसको प्रक्रिया भने बढ्न सकेको छैन ।

तराईका विविभन्न २२ जिल्ला बाढी पहिरोका कारण बढी प्रभावित भएका थिए । यस्तै पहाडी क्षेत्रका २० जिल्ला आशिंक रुपमा क्षति भएका थिए ।

पहिलो प्राथमिकतामा बढी प्रभावित जिल्लालाई राखेर राहत वितरण गर्न थालिएको छ भने दोस्रो चरणमा आशिंक प्रभावितलाई राहत दिइनेछ ।

सरकारले हाल उपलब्ध गराएको रकम कुल क्षतिको १० प्रतिशत मात्रै हो । त्यसले प्रभावित क्षेत्रमा उल्लेख्य मात्रामा राहत वितरण भने हुन नसक्ने देखिन्छ ।

कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले बाढी पीडित किसानलाई राहत दिने विषयमा अर्थ मन्त्रालयले अख्तियारी दिएको र वितरणको प्रक्रिया समेत सुरु भएको बताए ।

प्रभावित जिल्लाका कृषि विकास कार्यालय र स्थानीय प्रशासनको सहयोगमा उक्त रकम वितरण गरिनेछ । प्राप्त हुने रकमबाट किसानले कृषि उपजमा नै लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ ।

भौतिक क्षतिका कारण कृषि क्षेत्रमा नकारात्मक असर पर्ने अनुमान गरिएको छ ।

मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालले पनि प्रभावितलाई रकम पठाउने काम सुरु भएको बताए । क्षतिको विवरण हेरेर रकम वितरण गर्ने भएकाले रकम दुरुपयोग हुन्छ कि भन्ने चिन्ता नगर्न उनले आग्रह गरे ।

कुन जिल्लामा कति वितरण

सरकारले क्षतिका आधारमा रकम वितरण गर्ने भन्दै धनुषामा १६ करोड ३२ लाख ५२ हजार, बाग्लुङ १८ लाख ४६ हजार ,बैतडी १७ लाख ५० हजार, बर्दिया ६ करोड १ लाख ३९ हजार,चितवन १ करोड ५० लाख ८९ हजार,दाङ १ करोड ६८ लाख २२ हजार,दार्चुला २३ लाख ७१ हजार बाँके ३ करोड ७४ लाख ६५ हजार,बारा ६ करोड ३७ लाख, र डोटीमा २५ लाख राहात रकम विनियोजन गरेर पठाएको छ ।

सुनसरी ५ करोड ४६ लाख ७५ हजार, तनहुँ १ करोड ६ लाख ८७ हजार,बझाङ २९ लाख ५१ हजार र कपिलबस्तुमा १ करोड ७० लाख ६१ हजार रकम पठाइएको छ ।
यस्तै गुल्मीमा ५८ लाख ८७ हजार,झापा १२ करोड १५ लाख १४ हजार,कैलाली २ करोड ५८ लाख ६० हजार,कास्की १९ लाख ८३ हजार,ललितपुर १ करोड १९ लाख २२ हजार,महोत्तरी १२ करोड ७९ लाख ३४ हजार कृषि राहत रकम पठाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार मोरङ ५ करोड ४२ लाख ५३ हजार,नवलपरासी १ करोड ६ लाख १८ हजार,पर्सा १ करोड १० लाख ५५ हजार,रामेछाप ५७ लाख ६१ हजार,रसुवा १ करोड ८५ लाख ८ हजार, रौतहट ११ करोड ४० लाख ४२ हजार,रुपन्देही ८५ लाख ३४ हजार,सप्तरी ६ करोड ६ लाख ३० हजार,सर्लाही १० करोड २५ लाख ६३ हजार,सिराहा ६ करोड २६ लाख ११ हजार रकम विनियोजना भएको छ ।


क्लिकमान्डु