हिउँदमा लोडसेडिङ हुन नदिन टनकपुरबाट थप ३५ मेगावाट बिजुली ल्याउँदै कुलमान



काठमाडौं । ढल्केबर सवस्टेशनको ठेक्का तोडेपछि नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदको विद्युत् माग सम्बोधन गर्नका लागि टनकपुर नाकाबाट थप ७० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।

सो नाकाबाट विद्युत् आयातका लागि प्राधिकरणले प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । गत वर्ष सो नाकाबाट ३५ मेगावाट विद्युत् आयात गरेको थियो ।

हाल ५० एमभीएको ट्रान्सफर्मरबाट विद्युत् आयात भइरहेकोमा सो स्थानमा १०० एमभीएको ट्रान्सफर्मर राखेर थप ३५ मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ ।
ढल्केबरमा सवस्टशेन निर्माण भएको भए सो स्थानबाट २०० मेगावाट विद्युत् आयात गर्न सकिने थियो ।

तर चिनियाँ ठेकेदारले सधै हैरानी मात्रै दिने काम नगर्ने भएपछि प्राधिकरणले गत असोज ६ गते ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रिया सुरु गर्न लागेको छ ।

टनकपुरबाट थप विद्युत् आयातका लागि यसै अक्टोबर महिनामा बस्ने नेपाल भारत सचिव स्तरीय बैठकबाट समेत स्वीकृति प्रदान गर्ने तयारीमा प्राधिकरण रहेको छ ।

अघिल्लो सचिवस्तरीय बैठकले समेत सो नाकाबाट विद्युत् आयातका लागि सहमति प्रदान गरेको थियो । तर ढल्केबरबाटै विद्युत् आयात हुने भएपछि टनकपुरको विषयले प्राथमिकता पाउन सकेको थिएन ।

टनकपुरबाट आयात हुने कुल ७० मेगावाट विद्युत् बुटवलको शिवपुर सवस्टेशनसम्म आइपुग्ने र चमेलियाको विद्युत् समेत राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएकाले पश्चिम क्षेत्रको लोड व्यवस्थापन गर्न सहज हुने प्राधिकरणको दावी छ ।

तर ढल्केबरबाट थप विद्युत् नआउँदा अन्य स्थानमा लोड व्यवस्थापनका लागि भने प्राधिकरणले थप चुनौती मोल्नुपर्ने देखिन्छ ।

गत हिउँदमा गरिएको व्यवस्था जस्तै ठूला आयोजनालाई पिकिङ बनाउनुपर्ने छ भने विद्युत् खपत गर्ने उपकरण कम चलाउन जनचेतना व्यापक रुपमा बढाउनुपर्ने देखिन्छ ।

टनकपुरबाट थप विद्युत् आयातका लागि १०० एमभीएको ट्रान्सफर्मर खरिदका लागि समेत प्रक्रिया अगाडि बढाउनुपर्ने, त्यसको फाउन्डेशन तथा सुरक्षात्मक प्रणाली अपनाउनुपर्ने देखिन्छ ।

त्यसको आवश्यक तयारी भइरहेको र नेपाल भारत ऊर्जा सचिवस्तरीय बैठकपछि ठोस रुपमा प्रक्रिया अगाडि बढ्ने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए ।


पुष्प दुलाल