तिहारमा फूल नफूल्दा भारतबाट आयात, फूलको माला झनै महंगो



काठमाडौं । तिहार शुरुभएसँगै बजारमा फूल माला व्यापारीको चलहलपहल बढ्दो देखिएको छ । असन र चाबहिलका बजारमा मखमली र सयपत्री फूल तथा कपडा र प्लास्टिकका फूल बेच्ने व्यवसायीहरु बीच ठूलो प्रतिस्पर्धा भएको देखिन्छ ।

हाल असनमा मखमली र सयपत्रीको फूल व्यापार गर्दै आएका जय राम अधिकारी तिहारको बेला २५ हजार थुंगा फूल व्यापार गर्ने गर्छन् ।

भक्तपुरबाट ल्याइएका मखमलीका फूलहरु उनी २५ रुपैयाँमा किनेर ३० रुपैयाँमा बेच्ने गर्छन् । यस्तै गोदावरी मिसाएको मखमलीका फूल भने उनी ३६ रुपैयाँदेखि ६० रुपैयाँसम्ममा बेच्ने गर्छन् ।

२० वर्षदेखि असनमै बसेर फूल व्यापार गर्दै आएका अधिकारीले भारतको कलकत्ताबाट आयात गरिएका सयपत्री फूलका माला भने ५० रुपैयाँमा किनेर ६० रुपैयाँमा बेच्ने गरेको जानकारी दिए ।

‘दैनिक ८० देखि १ सय वटा मालाको व्यापार हुने गरेको छ, ठूलो थुंगा भएको सयपत्री फूलको माला २ सय रुपैयाँसम्ममा विक्री हुने गरेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

यस्तै १५ वर्षको उमेरदेखि असन मै व्यापार गर्दै आएकी ७६ वर्षिया जतमाया मालिनीले यो वर्ष पानी धेरै परेकोले फूल राम्रो नफुलेको बताइन् ।

स्वयम्भू र भक्तपुरबाट फूल ल्याएर व्यापार गर्ने गरेकी मालिनीले तिहार चाँडै आएकोले फूलको अभाव भएको हुँदा लक्ष्मी पुजाको दिनदेखि भाइटिकासम्मको लागि फूलको मूल्य बढ्न सक्ने बताईन् ।

‘मखमली र गोदावरी फुल्नै पाएको छैन । तिहार आइसक्यो कतै फूल पाइँदैन सबै फूल बाहिरबाट मगाउनु पर्छ, यो वर्ष निकै महंगो हुनेछ,’ उनले भनिन् ।

उनी १ सय रुपैयाँमा किनेको सयपत्रीको माला १ सय ५० रुपैयाँसम्ममा बेच्ने गर्छिन् ।

यसैगरी पशुपती क्षेत्र र चावहिलमा फूलमाला व्यापार गर्दै आएका कुष्ण बहादुर तामाङ दिनमा २ हजार रुपौयाँसम्मको फूल व्यापार गर्ने गर्छन् । उनी एकान्तकुनाबाट ल्याएर सयपत्री फूलका थुंगा पसल पसलमा बेच्ने गर्छन् ।

‘सयपत्री फूलको भर्खर कोपिला मात्र फूल्दै छ, तिहार चाँडै आएपनि फूल फुल्न पाएको छैन् । धेरै जसो फूल तिहारमा भारतबाट मगाउनु पर्ने अवस्था छ,’ तामाङ भन्छन् ।

बौद्ध, चाबहिल र पशुपती क्षेत्रमा फूलमाला व्यापार गर्दै आएका दिनेश पुटवाल दिनमा ३ सय रुपैयाँसम्मको फूल व्यापार गर्ने गर्छन् । फूल व्यापार गर्दा दिनमा २ सय रुपैयाँसम्मको फाइदा हुने उनको भनाई छ ।

उनकाअनुसार सयपत्री र गोदावरीका फूलहरु भारतबाट मगाउनु पर्ने भएकाले झन महंगो हुन जान्छ ।

‘हामीले नै किन्दा एउटा मालाको ५० रुपैयाँ तिर्नुपर्छ । अझ ढुवानी खर्च लाग्ने हुँदा एउटा माला १ सय रुपैयाँसम्ममा बेच्नु पर्ने बाध्यता हुन्छ ।’ पुटवाल भन्छन्।

असनमा कपडा र प्लास्टिकका फूलमाला व्यापार गर्दै आएकी अनिशा महर्जनको पसलमा ५० देखि १ सय रुपैयाँसम्मको फूलमाला सामाग्री रहेको छ । उनी दिनमा ५० वटासम्म माला बेच्ने गर्छिन् । तिहारको समयमा ३० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको उनको भनाई छ ।

मखनका फूलमाला पसलमा १ सय २५ देखि १ सय ५० रुपैयाँसम्मको आर्टिफिसियल फूलहरु रहेको छ । मखनका फूलमाला पसलका व्यापारी तिहारको समयमा दिनमा २० हजार रुपैयाँसम्म विक्री हुने बताउँछन् ।


क्लिकमान्डु