नेपाली अर्बपतिले धनतेरसमा के किने ?



काठमाडौं । पछिल्ला वर्षमा धनतेरस नेपालमा पनि मनाउन थालिएको छ । भारतमा धुमधामसँग धातु किनेर मनाइने यो पर्व नेपालमा पनि धुमधामका साथ मनाउन थालिएको हो । यो दिन जति खर्च गर्यो, उति नै लाभ हुन्छ भन्ने मान्यता छ ।

त्यसैले हुनेखानेहरुले सुन, चाँदी, हिरालगायतका महंगा धातुहरु किन्ने चलन छ । अर्बौं रुपैयाँका मालिक नेपालका उद्योगी/व्यवसायीले धनतेरस कसरी मनाउँदैछन् त भनेर हामीले केही व्यवसायीलाई सोधेका थियौं । उनीहरुको भनाइ जस्ताको त्यस्तैः

किनमेल गर्ने गर्ने जिम्मा बुहारीको

सारिका चौधरी, चौधरी ग्रुप

व्यवसायीक घराना भएकाले परिवारका अधिकांस सदस्यहरु सँधै व्यस्त हुन्छन् । त्यसैले हामी तिहारमा जहाँ भए पनि भेला हुन्छौं । अरु चाडबाडमा बरु परिवारका सबै सदस्य भेला नहुन सक्छन् । तर, तिहारमा सबै भेला हुने चलन छ ।

आज तिहारको पहिलो दिन अर्थात् धनतेरस हो । धनतेरसलाई हामी विषेशरुपमा मनाउँछौं । आज साँझ एउटा दियो बालेर भाँडाको गर्छौं । भोलि ११ वटा र पसी २१ वटा दियो बाल्छौं ।

धनतेरसमा केही नयाँ सामान जोड्ने चलन छ । पहिले-पहिले त म आफैं सामानहरु किनेर ल्याउँथे । यो वर्ष धनतेरसका लागि आवश्यक किनमले गर्ने जिम्मा बुहारीलाई दिएकी छु । उनीहरुले नै सामान किनेर ल्याएका होलान् । बिनोद बाबु चितवन जानुभएको थियो । आज फर्किँदै हुनुहुन्छ । साँझ सबै भेला भएर पुजाआजा गर्छौं । सबै सँगै भएर खाना खान्छौं ।

पशुपति मुरारका
पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

तिहार र छठ हाम्रो विषेश चाड हो । धनतेरस देखि नै तिहारको सुरुवात हुन्छ । लक्ष्मीपुजा गर्ने लक्ष्मीको मूर्ति र काँच तथा तामाका भाँडा किन्नु छ ।

म त अपिसतिर छु । सायद श्रीमतिले किनेकी हुन सक्छिन् । साँझ बसेर पुजा आजा गरेर रमाइलो गरि मनाउँछौं ।

आज जति खर्च गर्यो, उति कमाइ हुन्छ

सीमा गोल्छा
गोल्छा अर्गनाइजेशन

अपिसमै पुजाआजा गर्ने चलन छ । धनतेरसमा खासगरी हामी मेटल किन्छौं । नयाँ सामान किन्छौं । साँझ ५/६ बजेसम्म म अपिसमै हुन्छु । त्यसपछि गएर चाँदीका सिक्का किन्छु ।

आज जति खर्च गर्यो, उतिनै कमाई हुन्छ भन्ने मान्यता छ । त्यसैले केही नयाँ कुरा किनेर खर्च गर्छौं । र, साँझ सबैजना घरमा बसेर पुजा आजा गरी रमाइलो गर्छौं ।

फुर्सद मिलाएर सिक्का किन्न जान्छु
जोत्सना श्रेष्ठ
सुनचाँदी व्यवसायी

म त धनतेरसको दिन सुनचाँदी किन्न आउने ग्राहक खुसी पार्न पसलमै बसेकी छु । ग्राहकहरुको भीड हुने भएकाले धनतेरसमा म निकै व्यस्त हुन्छु ।

साँझ पुजाआजा त गरिन्छ नै । लक्ष्मी पुजामा पुजा गर्ने सिक्का र भाँडा किन्नु छ, फुर्सद मिले आजै साँझ किन्छु, नमिले भोलि बिहान ।


पुष्प दुलाल