यी हुन् २ अर्ब तलब खाने महिला



उनी भारतको मद्रासमा (अहिलेको चेन्नाई) परम्परागत सोच राख्ने मध्यम बर्गीय परिवारमा जन्मेकी थिइन् । तर, स्वभाव भने बिद्रोही थियो ।

त्यो समय भारतीय नारीहरु अन्तर्मुखी गृहणी हुन्छन् वा हुनुपर्छ भन्ने मान्यता हाबी थियो । तर, उनी फरक सोच्थिन् । सामाजिक मूल्य र मान्यतालाई सँधैं चुनौती दिन्थिन् । र, समाजका ठेकेदारहरुसँग आँखा जुधाउँथिन् ।

मास्टर्स सकेपछि उनले धेरै संर्घष गरिन् । उनीसँग अन्तर्वातामा लगाउने नयाँ सुट समेत थिएन । प्रत्येक अन्तर्वातामा एउटै सुट लगाउँथिन्, र प्रत्येक पटक असफल हुन्थिन् ।

उनी सारै महत्वाकांक्षी केटी थिइन् । र, आफ्नो प्रतिभाको पूर्णउपयोग हुनुपर्छ भनेर विश्वास गर्थिन् । त्यसैले ‘मद्रास क्रिस्चियन कलेज’ पढ्दा कहिले महिला क्रिकेट टोलीको सदस्यता लिइन् त कहिले महिला रक ब्याण्डमा गिटारिस्ट भइन् ।

उनी र उनको दिदीलाई आमाले हुर्काइन् । उनीहरुको आमाले ‘तिमीहरु ठूलो भएर के गर्छौ ?’ भनेर सोध्ने, र मनपर्ने उत्तर आए पुरस्कृत गर्ने गर्थिन् । त्यसैले उनी आमालाई सकेसम्म ‘राम्रो’ उत्तर दिई पुरस्कार हात पार्ने ध्याउन्नमा निकै मिहेनत गर्थिन् ।

मिहेनत गर्ने र प्रतिबद्ध हुने सानैदेखिको बानीले उनले भारतको प्रतिष्ठित ‘एन्डिएन इन्टिच्युट अफ म्यानेजमेन्ट’मा नाम निकालेर भर्ना भइन् । त्यहाँ उनले ‘पोष्ट ग्राजुएट डिप्लोमा इन म्यानेजमेन्ट’ सकिन् । र, आफ्नो प्रतिभा पूर्णरुपमा उपयोग गर्ने काम खोज्न थालिन् ।

आज संसार उनलाई बिश्वको दोस्रो ठूलो खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने कम्पनी पेप्सीको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत इन्द्रा नोइको नामले चिन्छ ।

अहिले इन्द्राको कुल सम्पत्ति १४ करोड डलर छ । उनी बार्षिक तलब झण्डै २ करोड डलर बुझ्छिन् । र, निरन्तर बिश्वको शक्तिशाली महिलामा सूचीकृत हुँदै आएकी छिन् ।

फर्चुनले निकालेको बिश्वको शक्तिशाली ब्यापारीक महिलाहरुको सूचीमा उनलाई तेस्रो नम्बरमा राखेको छ । फोब्र्सले निकालेको बिश्वको सबैभन्दा शक्तिशाली महिलाहरुको सूचीमा उनलाई १५ औं स्थानमा राखेको छ ।

भारतीय राष्ट्रपतिले उनलाई तेस्रो ठूलो नागरिक बिभूषण ‘पद्म भुषण’ले बिभूषित गरेका छन् । निवर्तमान अमेरिकी राष्ट्रपति बाराक ओबामाले उनलाई ‘युएस-इन्डिया सिइओ फोरम’मा नियुक्त गरेका छन् ।

इन्द्राले यो यात्राको शुरुवात ‘टोटल’ नामको बेलायती टेक्सटाइल कम्पनीबाट शुरु गरिन् । त्यहाँ थोरै समय बिताए पश्चात ‘जोनसन एण्ड जोनसन’ र ‘मिटुर बिर्यडसेल’ मा प्रोडक्ट म्यानेजरको रुपमा २ बर्ष काम गरिन् ।

जोनसन एण्ड जोनसनमा हुँदा एउटा रोचक प्रसंग छ । उनले त्यस कम्पनीमा काम शुरु गर्ने बित्तिकै कम्पनीले महिला स्वास्थ्य सम्बन्धी उत्पादनहरु उत्पादन गर्यो । ती उत्पादनहरु भारतमा पहिलोपटक शुरु गरिएका थिए ।

तर, भारतमा त्यतिबेला महिलाको ब्यक्तिगत स्वास्थ्य सुरक्षा सम्बन्धी उत्पादनहरुको प्रचार प्रसार बर्जित थियो । यो अनुभवी मार्केटिङ कार्यकारीको लागि समेत निकै ठूलो चुनौती थियो । तर, इन्द्राले यो चुनौती स्वीकार गरिन् । र, अबिश्वसनीय ढंगले सफलता प्राप्त गरिन् ।

यसैबीच कुनै दिन इन्द्रा एक म्यागजिजको पाना खेलाउँदै थिइन् । त्यसमा अमेरिकाको येल बिश्वबिद्यालयको ब्यवस्थापन संकाय सम्बन्धी लेख छापिएको थियो । साथीहरुको जोडबलमा उनले नचाहँदा नचाहँदै त्यहाँ आवेदन भरिन । र, भर्ना मात्र होइन, छात्रबृत्ति समेत प्राप्त गरिन् । येलमा पढ्दा इन्द्राले रात्रीकालीन रिसेप्सनिस्टको काम पनि गरिन् ।

इन्द्रा नोइ र उनीजस्तै क्षमतावान् महिलाहरु अपवादका रुपमा रहेका महिला नभएर समग्र मानव जातीकै अन्र्तनिहित क्षमताको बिम्ब बन्छन् ।

येलबाट मास्टर्स सकेपछि उनले धेरै संर्घष गरिन् । उनीसँग अन्तर्वातामा लगाउने नयाँ सुट समेत थिएन । प्रत्येक अन्तर्वातामा एउटै सुट लगाउँथिन्, र प्रत्येक पटक असफल हुन्थिन् ।

आफ्नो असफलताबाट आजित भएर येलका आफ्ना प्राध्यापकलाई भेट्न जाँदा प्राध्यापकले अबका अन्तवार्तामा आफुलाई जस्तो लुगा सजिलो लाग्छ त्यस्तै लुगा लगाएर जाने सल्लाह दिए । अचम्म ! यसपटक उनले जागिर पाइन् ।
‘बोस्टन कन्सल्टिङ ग्रुप’ मा काम शुरु गरेकी उनले शुरुवाती दिनहरुमा महिला भएकैमा आफ्ना योग्यतालाई थप प्रमाणित गर्नुपर्यो । गैरअमेरिकी हुनुको झमेला त छदैं थियो । त्यसपछि उनले ‘मोटोरोला’ र एसिया ‘ब्रोन बोभेरी’ मा बिभिन्न तहमा काम गर्दैै र आफुलाई प्रमाणित गर्दै गइन् ।

त्यतिबेला सम्म इन्द्रा ब्यवस्थापनको उदाउँदो तारा भैसकेकी थिइन् । बिश्वभरिका कर्पोरेट हाउसहरु उनलाई फकाउन र मनाउन आउन थाले ।

यसैबीच, जेनरल इलेक्ट्रिक र पेप्सीकोले उनलाई आकर्षक अफरहरु गरे । जित पेप्सीको को भयो ।

पेप्सीमा इन्द्रा प्रमुख ‘नेगोसिएटर’को रुपमा काम गरिन् । र, महत्वपूर्ण र्पोटफोलियोहरु हात पारिन् । र, सन् २००१ मा चिफ फाइनानसिएल अफिसर हुँदै सन् २००६ मा सिइओ भइन् । उनको नेतृत्वमा पेप्सीको ले सन् २००१ मा २.७ अर्ब डलरको ब्यापार बढाएर ६.५ अर्ब डलरसम्म पुर्यायो ।

अहिले इन्द्राको कुल सम्पत्ति १४ करोड डलर छ । उनी बार्षिक तलब झण्डै २ करोड डलर बुझ्छिन् । र, निरन्तर बिश्वको शक्तिशाली महिलामा सूचीकृत हुँदै आएकी छिन् ।

हामीले भर्खरै अन्तराष्ट्रिय महिला दिवस मनायौं । संसारभरीका महिलाहरुले आफु महिला भएर जन्मेकोमा उल्लास मनाए, गर्व गरे । तर, गर्व र हिनताबोध एकै सिक्काका दुई पाटा हुन् ।

वास्तवमा मानिस महिला वा पुरुष भएर जन्मनुमा ब्यक्तिको कुनै भूमिका नै हुदैंन । यो नितान्त प्राकृतिक कुरा हो । ब्यक्तिले आफ्नो भूमिका नै नभएको कुरामा न गर्व गर्न जरुरी छ, न हिनताबोध पाल्न आवश्यक छ ।

यदि महिलालाई सामाजिक कुरिती र कुसंस्कारको शिकार बनाईंदैनथ्यो, दोस्रो दर्जाको मानवको हैसियतमा राखिँदैनथ्यो भने आज महिला दिवस मनाउँनै पर्दैनथ्यो । महिलाहरुले महिला भएकोमा गर्व गर्नै पर्दैनथ्र्यो । यो वस एउटा स्वाभाविक सत्यको रुपमा रहन्थ्यो ।

यो समय महिला अधिकारकर्मीहरुले महिला र पुरुष बराबर हुन भनेर नारा लगाउने समय पनि हो । वास्तवमा महिला र पुरुष बराबर होइनन् । उनीहरुका आ-आफ्नै बिशेषताहरु छन् । पुरुष बाहुबलमा अघि छ भने महिला कोमलतामा । बाहुबलमा पुरुष अगाडि भए पनि करुणा, सृजनशीलता, प्रेम, मिहेनत र प्रतिबद्धतामा महिलाको कुनै जवाफ छैन ।

सामान्यतः पुरुष कठोर चट्टान हो भने महिला कोमल गुलाब वा शीतको थोपा हुन् । कठोर चट्टान र चञ्चल गुलाबमा को शक्तिशाली ? यी कसरी बराबर हुन् ? तर, फरक भने अवश्य नै हुन्, जो सृष्टिको निरन्तरताको लागि आवश्यक छ ।

जब महिला पुरुषभन्दा सानो र तुच्छ होइन भन्ने सोचले कागजमा मात्र नभएर समाजको संकिर्ण परम्पराका जंजीरहरु चुडाँल्छ, तब महिला दिवस असान्दर्भिक बन्छ । र, महिला र पुरुष बराबर हुन् भन्ने ढेड अक्कली नारा त्यसै मुर्झाउँछ ।

अनि इन्द्रा नोइका बारे लेख्दै गर्दा उनी महिला भएको कुरा बिर्सी उनको कार्यकारी क्षमताको मात्र परख गर्न पाइन्छ । र, इन्द्रा नोइ र उनीजस्तै क्षमतावान् महिलाहरु अपवादका रुपमा रहेका महिला नभएर समग्र मानव जातीकै अन्र्तनिहित क्षमताको बिम्ब बन्छन् ।


पुष्प दुलाल