कृषि सूचनाका लागि किसानलाई मोबाइल र सिम वितरण



चितवन । जलवायुजन्य प्रकोप न्यूनीकरण गर्दै कृषि सूचना प्रदान गरी प्रविधिको हस्तान्तरण गर्न चितवनमा किसानका लागि नयाँ कार्यक्रम सुरु भएको छ । कृषि मन्त्रालयले जिल्ला कृषि विकास कार्यालयमार्फत उक्त कार्यक्रम सञ्चालन गरेको हो ।

जलवायुजन्य प्रकोप समुत्थान निर्माण आयोजनाअन्तर्गत चितवनका विभिन्न ६३ वटा कृषि तथा पशुपालन कृषक समूहमा सो कार्यक्रम लागू भएको जिल्ला कृषि विकास कार्यालयका  बाली संरक्षण अधिकृत तथा स्रोत व्यक्ति श्रीकृष्ण न्यौपानेले जानकारी दिए। उनका अनुसार अधिकांश समूहका किसानलाई मोबाइल र सिम वितरण गर्नाका साथै केही कृषि प्रविधिसमेत उपलब्ध गराइएको छ ।

यो वर्ष जिल्लाका ३८ वटा कृषि समूह र २५ वटा पशुपालन कृषक समूहमा कार्यक्रम सञ्चालन गरिएको छ । ती समूहका मुख्य व्यक्तिले मोबाइल र सिम प्रयोग गर्ने र आएका सूचना सबै किसानलाई जानकारी दिने गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

कृषि मन्त्रालयले नै कृषि सूचना तथा प्रकोपको अवस्था, वर्षा तथा बाढीको अवस्थाका बारेमा मोबाइलमा सूचना पठाउने र त्यही सूचनाका आधारमा जिल्लाका किसानले सावधानी अपनाउने र आवश्यक जानकारी लिन सक्ने छन् ।

उक्त कार्यक्रम नेपाललगायत देशका विभिन्न २५ जिल्लामा लागू भएको जनाइएको छ । कार्यक्रमअन्तर्गत किसानलाई तापक्रम नाप्ने थकर्मामिटर, वर्षा मापन यन्त्र, विभिन्न कृषि बुलेटिन उपलब्ध गराइने छ ।

यसमार्फत किसानलाई घरमै बसीबसी कृषि सूचना र प्रविधिबारे जानकारी हुने जिल्ला कृषि विकास कार्यालयका प्रमुख सुधीर श्रेष्ठले बताए। उनले जिल्लाका पाँच हजार किसानका मोबाइलमा यो सुविधाको नेटवर्क विस्तार गर्ने योजना रहेको जानकारी दिए।

शीतलहर चल्ने, पानी पर्ने, कति पानी पर्दा बाढी आउँछ, कुन मौसममा कस्तो रोगकिरा लाग्न सक्छजस्ता विषयमा मन्त्रालयबाटै मोबाइलमा सूचना आउने भएकाले किसानले सावधानी अपनाउन सक्ने कृषि कार्यालयले जनाएको छ ।

 


क्लिकमान्डु