सरकारले नै बन्द गरायो एनालग केवल टिभी सिग्नल, अब डिजिटल प्रशारण मात्र



काठमाडौं । सरकारले बुधवारदेखि एनालग टेलिभिजन सिग्नल बन्द गराएको छ । सूचना तथा संचार मन्त्रालयले कात्तिक २९ गतेदेखि एनालग टेलिजिभन सिग्नल प्रशारण गर्ने केबल टिभी सेवा प्रदायक कम्पनीहरुको अनुगमन गर्दै सबै एनालग सिग्न बन्द गरेको हो ।

पहिलो चरणमा काठमाडौंका मुख्य केवल टिभी सेवा प्रदायकहरुको अनुगमन गरेर एनालग टेलिभिजन सिग्नल बन्द गराएको हो ।

मन्त्रालयका उपसचिव तथा इन्जिनियर अनुप नेपालको नेतृत्वमा गएको अनुगमन टोलीले विभिन्न केबल टिभी सेवा प्रदायकको अवलोकन गर्दै एनालग सिग्नल प्रशारण स्वीच अफ गरेको हो ।

सो टोलीले आज बुधवार ८ वटा केबल सेवा प्रदायकको स्थलगत अनुगमन गरेको जानकारी दिएको छ । सो टोलीले जाउलाखेल केबल, काठमाडौं केबल, टिपी लिंक केबल, सुविसु केबल, सिएनसी केबल, स्पेसटाइम केबल र स्काइ केबललगायतको अनुगमन गरेको जानकारी मन्त्रालयका उपसचिव तथा इन्जिनियर नेपालले दिए ।

अनुगमन गरिएका केबलहरु सबैको एनालग सिग्नल काटेको इन्जिनियर नेपालले जानकारी दिए ।

‘हामीले आज केहि केबलको अनुगमन गर्दा थोरै च्यानलहरु मात्र एनालगमा चलाएको र कम गर्दै जाने योजना लागेको पायौं । तर हामीले उनीहरुको सबै एनालग सिग्नल बन्द गरिदिएका छौं,’ उनले भने ।

मन्त्रालयका उपसचिव तथा इन्जिनियर नेपालले अब सामान्य जनताले पनि सेटटप बक्स राखेर मात्र केबल टिभी हेर्न पाउने भन्दै त्यसको लागि केबल सेवा प्रदायकसँग सम्पर्क गर्न सकिने बताए ।

उनकाअनुसार अहिले बजारमा सेटटप बक्स आवश्यकताअनुसार उपलब्ध भएको र हरेक केवल सेवा प्रदायकले ग्राहकलाई आवश्यक हुने सेटटप बक्स उपलब्ध गराउने जानकारी दिए ।

सो टोलीले अबदेखि नियमित अनुगमन गर्ने र एनालग सिग्नल काट्ने उल्लेख गरेको छ ।


क्लिकमान्डु