वाम सरकारको गठनसँगै सेयर बजार थप बलियो हुन्छ



वाम अग्रताको आडमा सेयर बजारको सूचकांक घटाउने चलखेलको पूर्वाभाष भइरहेको छ । तर, स्मरण रहोस्, हाम्रो संबैधानिक राजनीतिक संरचनाले साम्यबादउन्मूख अर्थतन्त्रको वकालतलाई अनुमति दिँदैन ।

तथापि यस्ता मनोगत आशंकामा बजार दिग्भ्रमित नहोला भन्न सकिन्छ ।

निर्वाचनको नतिजा अनुरुप क्षणिक आवेगमा बजारमा उत्तारचढाब आउनसक्नु स्वभाविक हो । पुँजी बजारको स्वभाव अनुरुप यो कुनै नौलो कुरा होइन । यसको साथै विगतका दृष्टान्तको आधारमा पनि यसलाई नकार्न नसकिएला । किनभने घोर लेफ्टिस्टको बिल्ला भिरेका बाबुराम भट्टराईले पनि कुनैबेला सेयर बजारलाई आवेगमा जुवा घरको संज्ञा दिएर यसको चाललाई निकै अस्वस्थ बनाएका थिए ।

तथापि यसलाई पछि उनले खण्डन पनि गरे । त्यसैकारण पनि नेपालको पुँजी बजारले वाममैत्री हुने अवसर पटकपटक गुमाएको छ भन्दा अन्यथा नहोला ।

तर, यति हुँदाहुँदै पनि नेपालको सेयर बजार तथा समग्र पुँजी बजारले सँधै स्मरणमा राख्नुपर्छ भने यही वाम सरकारको पालमा इतिहास रच्ने अबसर प्राप्त गरेको थियो । चाहे त्यो केपी ओली सरकारको पालामा भएको १८८० को उच्च अंक होस्, भरतमोहन अर्थमन्त्री हुँदा पुँजीगत लाभकरलाई १० प्रतिशतबाट ५ प्रतिशतमा झारेको होस्, वा सुरेन्द्र पाण्डेले कमोडिटि बजारको अध्ययनको पहिलो प्रयास थालेको होस् । यी सबै तथ्यहरुले पक्कै पनि बाम सरकार पुँजीबजार मैत्री छ भन्ने कुरालाई पुष्टि गर्छ ।

पुँजी बजार वा देशको पुँजी निर्माणमा बामपन्थी दलहरु बाधक हुन्छन् भन्ने जगमा राजनीति गर्नेहरुको राजनीति समाप्त भएको छ । माक्र्स कहिल्यै पनि पुँजी निर्माणमा बाधक बनेनन् । यो अर्थमा नेपालका वाम पार्टीहरु किन बाधक हुन्छन् ? यो नितान्त झुटको खेती हो । जुन अब विस्तारै पुष्टि हुँदै जानेछ ।

अग्रगामी शक्तिहरु सँधै विकासका प्रेरक हुन्छन् । तसर्थ उनीहरु पुँजी निर्माणको सवालमा सँधै सचेत हुन्छन् भन्ने कुराको हेक्का नेपाली पुँजी बजारले राख्नु आवश्यक छ । यसको साथसाथै सँधै परिवर्तनको वकालत गर्ने शक्तिहरु पुन पुरातन मान्यतालाई वकालत गर्छन् भनेर मनोगत त्रास पाल्नु त्यति तर्कसंगत नहोला । निर्वाचन परिणामले देखाएको मनोवैज्ञानिक त्रास सेयर बजारमा तत्कालका लागि देखिएता पनि यसले दीर्घकालमा सेयर बजारलाई नकरात्मक प्रभाव भने पार्दैन ।

तसर्थ बजारमा देखिने तत्कालको हसोन्मूख आशंकाको बादल फाट्ने कुरालाई नकार्न नसकिएला । वाम सरकारको गठन पश्चात सेयर बजारले पुन आफ्नो पूर्वलय समात्ने छ । यसलाई पुष्टि गर्न हामी चाइनाको बजार होस् वा पुरातनवादी ट्रम्पको जितपछि अमेरिकी पुँजी बजार होस्, दुबै बजारलाई नजीरको रुपमा लिन सक्छौं ।

यसलाई पुनः पुष्टि गर्न निर्वाचन पुर्व एमाले अध्यक्ष केपी ओलीको पुँजी बजारमैत्री भाषणले पनि मलजल दिन्छ । समग्रमा भन्नुपर्दा वाम सरकारको लहडमा बजारलाई तरंगित गर्नुभन्दा यसका आधारभूत पक्षहरु जस्तै, तत् कम्पनीका वासलात तथा भविष्यको योजना तथा नीतिहरुको आधारमा ध्यान दिनु उत्तम हुन्छ ।

चलखेलस्वरुप बजार केही तरलिकृत भयो भने पनि त्यसबाट बिचलित हुनुपर्ने कुनै आधारहरु छैनन् । तसर्थ वाम सरकारको गठनसँगै सेयर बजार थप बलियो हुन्छ भन्ने विश्वासका साथ सम्पूर्ण लगानीकर्ताहरुा आश्वस्त हुँदा उत्तम हुन्छ । लेखक पुडाशैनी सेयर बजार विश्लेषक हुन् ।


पुष्प दुलाल