नेपाल चेम्बर अफ कमर्स नेतृत्वले केपी ओलीलाई भेट्यो



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको टोलीले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटेर बधाई तथा ज्ञापन पत्र बुझाएको छ ।

ओली निवास बालकोटमा बुधबार भएको भेटघाटमा सहभागी पदाधिकारी एवं कार्यसमिति सदस्यहरुले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा संयुक्त बाम गठबन्धनले पूर्ण बहुमत ल्याएसँंगै संक्रमणकालको अन्य भई स्थिर सरकार बनेर आर्थिक बिकास हुने विश्वास लिएका छन् ।

सो भेटघाटमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले स्थिर सरकार गठनसँंगै मुलुकले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरे । मुलुकको आर्थिक समृृद्धिका लागि स्थायी सरकारको महत्वमाथि चर्चा गर्दै उनंले अब बन्ने स्थायी सरकारले मुलुकको आर्थिक बृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

देश संघीय संरचनामा गएसँंगै राज्य सञ्चालनका लागि धेरै खर्च आवश्यक पर्ने भन्दै त्यसका लागि आवश्यक सबै श्रोत उद्योगी व्यवसायीहरुसँंगको करमा मात्रै भर पर्न नहुने उनले बताए । उनले यसका लागि अन्य आम्दानीको श्रोत पनि खोज्नुपर्नेमा तथा छिमेकी मुलुक भारत र चीन दुवै देशलाई समदुरीमा राखेर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिए ।

भेटघाटमा एमाले अध्यक्ष ओलीले अबको एजेन्डा नै आर्थिक हुने बताए । लगानीमैत्री वातावरण तयार पारी मुलुकको आर्थिक विकासलाई अगाडि वढाउँंदै लैजान उनले  विश्वास दिलाए ।

साथै, उनलेले करको अन्तिम भार जनतामा नै पर्ने भएकाले जनतालाई अधिक कर नबोकाउने विश्वास दिलाए ।


क्लिकमान्डु