सिमेन्ट र रडको अप्रत्यासित मूल्यबृद्धि, जनताको घर बनाउने लागत साढे ५ अर्बले बढ्यो




काठमाडौं । गत २०७२ वैशाख १२ गते गएको विनास्कारी भुकम्पबाट भत्किएका घरको पुननिर्माणको लागत साढे ५ अर्ब रुपैयाँले बढ्ने देखिएको छ । निर्वाचन लगत्तै पुननिर्माणको लागि आवश्यक सामाग्री सिमेन्ट, रडलगायतको मूल्य बढेका कारण लागत बढ्ने देखिएको हो ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार भुकम्पका कारण ६ लाख घरको पुननिर्माण गर्न आवश्यक छ । पछिल्लो समय रड र सिमेन्टको मुल्य बढेसँगै पुननिर्माणको लागत बढ्ने देखिएको हो ।

बजारमा सिमेन्टको मूल्य प्रतिबोरा १३० रुपैयाँसम्मले बढेको बिक्रेताहरुले बताएका छन् । प्राबिधिकहरुक अनुसार एउटा समान्य घर निर्माणका लागि ५० बोरा सिमेन्ट र ५ सय केजी रड लाग्ने गरेको छ । एउटा घर निर्माण गर्नका लागि सिमेन्ट र रडको लागत मात्र ९ हजार रुपैयाँ बढ्ने देखिन्छ ।

यसकारण बढ्यो सिमेन्टको मूल्य
युनाइटेड सिमेन्टका प्रमुख ब्राण्ड म्यानेजर सुभाष खतिवडा सिमेन्टको माग अधिक हुने समय भएकाले स्वाभिक रुपमा मुल्य बढेको बताउँछन् ।

‘अहिले उत्पादनभन्दा माग बढी छ, पहिलाभन्दा हाम्रो सिमेन्टमा प्रतिबोरा ३० रुपैयाँ बढेको छ,’ उनले भने ।

युनाइटेड सिमेन्टले ओपीसी सिमेन्ट उत्पादन गर्ने गरेको छ । बजार मूल्य प्रतिबोरा ८ सय ६० रुपैयाँबाट अहिले बढेर ८ सय ९० रुपैयाँ पुगेको खतिवडा बताउँछन् ।

जगदम्बा सिमेन्टका सिनियर सेल्स म्यानेजर रोशन पाठक अन्तराष्ट्रिय बजारमा क्लिंकरको मूल्यमा वृद्धि भएकाले सिमेन्टको मूल्य बढेको बताउँछन् ।

‘क्लिंकरको मुल्य प्रतिटन साढे ७ हजार रुपैयाँबाट १२ हजार रुपैयाँ पुगेको छ, कच्चा पदार्थको मूल्य वृद्धिका कारण सिमेन्टको मूल्यमा समान्य हेरफेर भएको हो,’ पाठकले भने ।

जगदम्बा सिमेन्टको बजार मूल्य ओपीसी सिमेन्टको प्रतिबोरा ८ सय ५० रुपैयाँ र पीपीसी ७ सय ३० रुपैयाँ छ । ओपीसीमा ८० रुपैयाँ र पीपीसीमा ६० रुपैयाँको दरले मूल्य बढेको पाठकले बताए ।

अर्घाखाँची सिमेन्टका सिनियर सेल्स एण्ड मार्केटिङ म्यानेजर रमेश थापाका अनुसार क्लिंकर र सिमेन्टमा प्रयोग हुने अन्य कच्चा पर्दाथको मूल्य बढेकोले सिमेन्ट महँगो भएको हो ।

२ साता अघिसम्म ७ सय ७५ रुपैयाँ प्रतिबोरा बिक्री भईरहेको अर्घाखाँची सिमेन्ट अहिले प्रतिबोरा ८ सय ५० रुपैयाँमा बिक्री भईरहेको छ । पछिल्लो समयमा सो सिमेन्टको मूल्य २ पटक बढिसकेको छ ।

शिवम् सिमेन्ट सेल्स एण्ड मार्केटिङ प्रमुख केशब अर्यालका अनुसार एक बोरा सिमेन्टमा ७० रुपैयाँसम्म मूल्य बढेको छ । हाल शिवम्को मूल्य प्रतिबोरा ९ सय १० रुपैयाँ छ ।

एसएण्डएस हार्डवेयरका संचालक संजय श्रेष्ठका अनुसार रडमा प्रतिकेजी ५ रुपैयाँसम्मको मूल्य बढेको बताउँछन् । यस्तो मूल्य बृद्धिले ६ लाख घर पुननिर्माणमा साढे ५ अर्ब रुपैयाँभन्दा बढी लागत थप हुने देखिएको छ ।

‘बालुवा, गिट्टी र इट्टाको मुल्य पुरानै छ, तर केही समयमा यिनको पनि मुल्य बढ्न सक्छ,’ श्रेष्ठले भने । केही हार्डवयर संचालकहरुले सिमेन्टमा प्रतिबोरा १३० रुपैयाँसम्मले मूल्य बढेको छ ।

चुनावपछि आर्थिक समृद्धिको आशमा बसेका जनता मुल्य वृद्धिको मारमा परेका छन् । पछिल्लो समय सिमेन्ट तथा रडको मात्र नभएर इन्धनको मूल्य पनि पटक–पटक बढी सकेको छ । इन्धनको मूल्य वृद्धिसँगै ढुवानी भाडा बढ्ने भएकाले अझ अरु बस्तुमा पनि मुल्य बढ्न सक्ने जानकारहरुको भनाई छ ।


क्लिकमान्डु