मुआब्जाको विवादमा फसेको त्रिशुली-मातातीर्थ प्रसारण लाइन निर्माण अघि बढ्यो



काठमाडौं । वन क्षेत्रको जग्गा प्रयोग र जग्गाको मुआब्जा वितरणमा लामो समयसम्म समस्यामा फसेको त्रिशुली मातातीर्थ २२० केभी क्षमताको प्रसारण लाइनको काम सुरु भएको छ ।

त्रिशुली हवमा उत्पादन भएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको उक्त प्रसारण लाइनको काम सन् २०१८ अन्त्यसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम सुरु भएको हो ।

प्रसारण लाइनको अभावमा माथिल्लो त्रिशुली थ्री ए लगायतका आयोजनाबाट उत्पादित विद्युत् खेर जाने हो कि भन्ने आशंका बढेर गएको थियो ।

उक्त आयोजना आगामी वर्ष सम्पन्न हुने अवस्थामा पुगेको छ । भारतको नाकाबन्दी र भूकम्पको मारमा परेको माथिल्लो त्रिशुली थ्री ए आयोजनाको निर्माणको कामले समेत गति लिएको आयोजनाले जनाएको छ ।

कुल २२० केभी क्षमताको उक्त प्रसारण लाइन नबन्दा चिलिमे हव र त्रिशुली हवमा निर्माण भइरहेका आयोजनाको विद्युत् खेर जाने आशंका दूर भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

काठमाडौँको मातातीर्थमा विद्युत् जोड्ने लक्ष्यका साथ काम भइरहेको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए ।

त्रिशुली थ्री बीदेखि मातातीर्थसम्मको कुल ४५ किलोमिटर लामो उक्त प्रसारण लाइन लामो समयदेखि सामुदायिक वन क्षेत्रको जग्गा प्राप्ति र स्थानीयले मुआब्जामा चित्त नबुझाएका कारण समस्यामा परेको थियो ।

प्रसारण लाइनमा १४२ वटा टावर रहेकोमा हालसम्म २० वटा टावर निर्माण भइरहेको छ । हाल १५ वटा टावरको काम भइरहेको छ । अरु टावर निर्माण गर्ने स्थानमा समेत निर्माण सामग्री पुर्याइसकिएको छ ।

उक्त प्रसारण लाइनको कुल लागत तीन अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

प्रसारण लाइनले करिब एक हजार १०० मेगावाटसम्म विद्युत् बोक्न सक्छ । डबल सर्किट उक्त प्रसारण लाइनमा २६ सामुदायिक वन पर्छ ।

नेपालको प्रसारण लाइन निर्माणमा सबैभन्दा बढी समस्याको रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग नै हो । यस्तै स्थानीय स्तरमा वितरण गरिने मुआब्जा पनि समस्याको रुपमा रहेको छ ।


क्लिकमान्डु