अब सरकारी कर्मचारीले हटमेल, याहू र जीमेल चलाउन नपाउने



काठमाडौं, ३० कात्तिक । नेपाल सरकारको निजामति सेवामा कार्यरत करिब ८० हजार कर्मचारीले कार्यालयसँग सम्बन्धित कामको लागि हटमेल, याहू र जीमेल जस्ता निशुल्क इमेल सेवा प्रदायकले दिएको सेवा प्रयोग गर्न नपाउने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले निजामति कर्मचारीलाई कार्यालयसँग सम्बन्धित सुचना, जानकारी तथा निर्देशनहरु आदान प्रदान गर्नको लागि इमेल प्रयोग गर्दा यस्ता सेवा प्रदायकको सेवा प्रयोग गर्न प्रतिबन्द लगाउन लागेको हो ।

email_provider

यसको सट्टा निजामति कर्मचारीले एट नेपालगभ डट एनपी प्रयोग गर्नु पर्ने बाध्यकारी ब्यवस्था गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रवक्ता दामोदर रेग्मीले जानकारी दिए ।

यस्तो कार्य ढिलोमा मंसिर महिना भित्र र चाढोमा मंसिर १५ भित्रमा सम्पन्न गरिने रेग्मीले जानकारी दिए ।

‘निजामति कर्मचारीले कार्यालयसँग सम्बन्धित इमेल आदान प्रदान गर्नु परेमा अबदेखि .Nepalgov.np प्रयोग गर्नुपर्नेछ, यसले नक्कली इमेल हो कि भनेर शंका गर्नुपर्ने समस्या समाधान हुनेछ,’ प्रवक्ता रेग्मीले क्लिकमाण्डूसँग भने ।

कसरी बन्छन् नयाँ इमेल ठेगाना ?
नयाँ इमेल ठेगाना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निजामति किताबखानाले संयुक्त रुपमा बनाउने छन् । निजामति किताब खानामा भएको कर्मचारीको विवरण अनुसार सवै कर्मचारीलाई नयाँ इमेल ठेगाना उपलब्ध गराइने छ ।

के केमा हुन सक्छ यसको प्रयोग ?
सामान्यतः यस्तो इमेल सरकारी कामसँग सम्बन्धित सुचना, जानकारी र निर्देशनहरु आदान प्रदान गर्नको लागि प्रयोग गरिनेछ । यसले आधिकारिकता सम्बन्धि शंका निवारण गर्ने प्रवक्ता रेग्मीको भनाइ छ । यस्तो इमेल ठेगानासहित कर्मचारी संकेत नम्बर र नाम कर्मचारी संचयकोष, नागरिक लगानी कोष र तबल जाने बैंकमा पठाइने छ ।

नागरिक लगानी कोष, कर्मचारी संचयकोष र तलब जाने बैंकले यस्तो सुचना पाएपछि ती कर्मचारीको तलब, संचयकोष जम्मा भएको जस्ता विवरण सम्बन्धित कर्मचारीलाई इमेल गरेर जानकारी दिने ब्यवस्था मिलाउन लागिएको छ ।

पहिलो चरणमा कहाँबाट लागू हुदैछ ?
यो कार्यको सुरुआत प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतका कर्मचारीवाट गरिदैछ । यस्तै पहिलो चरणमा नै नेपाल सरकारका सचिब, सहसचिब, उपसचिब र शाखा अधिकृतस्तरसम्ममा लागू गरिने छ । त्यसपछि क्रमैसँग सवै कर्मचारीको हकमा लागू हुने रेग्मीले जानकारी दिए ।


क्लिकमान्डु