अरुको नाममा आइपिओ हाले पैसा जफत हुने




काठमाडौं । कुनै ब्यक्तिको अनुमति लिइ वा नलिइ सार्बजनिक निस्कासन (आइपिओ) भर्ने गर्नुभएको छ ? छ भने यो बानी त्यागिहाल्नुस् ।

यस्तो गर्न छाड्नु भएन भने तपाइले भरेको आइपिओ पाउने सम्भाना त छदै छैन, उल्टै तपाइले हालेको पैसा पनि जफत हुन्छ ।

धितोपत्र बोर्डले हालै जारी गरेको धितोपत्र दर्ता तथा निस्कासन नियमावली २०७३ मा यस्तो ब्यवस्था गरिएको छ ।

नियमावलीको बुदा ४६ को (८) मा अनधिकृत रुपमा आइपिओ भरेमा वा झुठो विवरण पेश गरेको पाइएमा त्यस्तो आवेदन रद्द गरी पैसा जफत गरिने ब्यवस्था गरिएको छ ।

‘धितोपत्र खरीदको लागि कसैले अनाधिकृत तबरबाट आवेदन गरेको पाइएमा वा झुठा विवरण पेश गरेको पाइएमा निस्कासन तथा बिक्री प्रबन्धकले त्यसतो आवेदन रद्द गरी सो आवेदन पावतको रकम जफत गरी बोर्डले तोकेको खातामा जम्मा पार्नुपर्नेछ । यसरी जम्मा भएको रकम बोर्डले पूँजी बजारको विकास एबम् प्रबद्र्धन गर्ने कार्यमा मा प्रयोग गर्नुपर्नेछ,’ नियमाबलीमा उल्लेख गरिएको छ ।

धितोपत्र बोर्डले यसअघि तत्कालिन एनडिइपी डेभलपमेन्ट बैंकको आइपिओ प्रकरणमा छानविन गरेको थियो । सो समयमा बोर्डको अध्यक्ष अहिलेका गभर्नर डा. चिरन्जीबी नेपाल थिए । त्यससँगै अर्काे एउटा कम्पनीको आइपिओ सम्बन्धमा अनाधिकृत आवेदन परेको गुनासो आएपछि बोर्डले छानविन गरेको थियो । त्यसयता यस्तो छानविनलाई बोर्डले त्यति ध्यान दिने गरेको छैन ।

बोर्डको अहिलेको कार्यशैली र सेयर बाँडफाँड गर्ने तरिका परिवर्तन नभएसम्म यसको कार्यान्वयन कठिन भएको सेयर विश्लेषक रबिन्द्र भट्टराईको भनाइ छ ।

‘सेयर बाँडफाँडको अहिलेको तरिकामै खोट छ, यस्तै बोर्डको कार्यशैली पनि चुस्त छैन, यी दुई कुरामा परिवर्तन नभएसम्म अनाधिकृत आइपिओ भर्नको छनविन हुन गाह्रो देखिन्छ,’ भट्टराईले क्लिकमाण्डूसँग भने ।

अबका दिनमा सम्बन्धित ब्यक्तिले आइपिओ भरे नभरेको बारेमा कडाइका साथ छानविन हुने धितोपत्र वोर्डका प्रवक्ता निरज गिरी बताउछन् ।

‘आइपिओ भर्ने तरिकाको बारेमा नियमावलीमै प्रष्ट ब्यवस्था छ, सो अनुसार भए नभएको र कसैले अनाधिकृत आवेदन पेश गरेको शंका लागेमा अनुसन्धान गरेर आवेदन रद्द गर्ने र पैसा जफत गर्ने गर्छौं,’ प्रवक्ता गिरीले क्लिकमाण्डूसँग भने ।

यसको लागि छानविनको पहिलो तहमा विक्री प्रबन्धक नै रहने र बोर्डले पनि नियमनलाई निरन्तरता दिने उनको भनाइ छ ।


क्लिकमान्डु