युवा संघको अभियानः विश्वकै गरिब प्रधानमन्त्री प्रचण्डलाई १ रुपैयाँ चन्दा दिनुस्




काठमाडौं । एमालेको भातृ संगठन युवा संघ नेपालले जनतासँग प्रतिब्यक्ति १ रुपैयाँ चन्दा उठाएर प्रधानमन्त्रीलाई आर्थिक सहयोग गर्ने अभियान चलाएको छ ।

प्रधानमन्त्री सहित मन्त्रीहरुको हालै सार्बजनिक भएको सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री प्रचण्ड संसारकै गरिब प्रधानमन्त्री भएको भन्दै युवा संघले जनतासँग चन्दा उठाएर प्रधानमन्त्रीलाई दिन लागिएको संघका प्रवक्ता प्रभात विक्रम कटुवालले जानकारी दिए ।

‘प्रधानमन्त्री जस्तो ब्यक्तिले नै आफ्नो सम्पत्ति लुकाए पछि त्यसको सांकेतिक विरोध स्वरुप चन्दा उठाउन लागेका हौं, जनतासँग उठाइएको रकम केही दिन भित्रै प्रधानमन्त्रीलाई हस्तान्तरण गर्छौं,’ कटुवालले क्लिकमाण्डूसँग भने ।

प्रधानमन्त्री प्रचण्डले हालै सार्बजनिक गरेको सम्पत्ति विवरणमा ३ तोला सुन र १ कठ्ठा जमिन मात्रै भएको विवरण सार्वजनिक गरेका थिए । संघले यो विवरण झुटो भएको भन्दै यसरी विरोध कार्यक्रम संचालन गरेको हो ।

कटुवालका अनुसार प्रधानमन्त्रीलाई १ रुपैयाँ आर्थिक सहयोग गर्न चाहनेले शुक्रवार दिउसो ३ बजेदेखि साँझ ५ बजेसम्म नयाँबानेश्वरमा भेला भइ रकम दिन सक्नेछन् । एक जना ब्यक्तिवाट १ रुपैयाँभन्दा बढी चन्दा नलिने उनले जानकारी दिए । तर कसैले स्वैच्छिक रुपमा बढी रकम दिन चाहेमा संघले स्वीकार गर्ने उनको भनाइ छ ।

यसरी जम्मा भएको रकम आजै साँझ सामुहिक रुपमा गनेर युवा संघले नै राख्नेछ । प्रधानमन्त्रीले भेट्न समय दिएपछि यो रकम हस्तान्तरण गर्ने र भेट्न नपाए प्रचण्डको बैंक खातामा जम्मा गरिदिने युवा संघले जानकारी दिएको छ ।

सांकेतिक विरोधको यो अभियानलाई अझ प्रभावकारी बनाउन संघले अन्य राजनीतिक दलका भातृ संगठन र अन्य संघ संस्थाहरुसँग पनि छलफल गरी आगाडी बढ्ने योजना बनाएको छ ।

प्रधानमन्त्री प्रचण्डसँग अकुत सम्पत्ति भएको र त्यस्तो सम्पत्ति लुकाइएको संघको आरोप छ । उनको सम्पत्ति छानविन गरी कानुनी कारवाहीको लागि अभियान सुरु गरिएको प्रवक्ता कटुवालले बताए ।

 

 


क्लिकमान्डु